१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘पुरातात्त्विक’ वस्तुको संकलन न अध्ययन

अनिश तिवारी

सिन्धुपाल्चोक — गत साता घरको जग खन्दा कमण्डलु भेटियो । कमण्डलुमा संस्कृतजस्तै लाग्ने शब्द कोरिएको थियो । ‘ऋषिमुनिको कमण्डलु मानेर पूजा गरेर राखेको छु,’ इन्द्रावती गाउँपालिका भीमटार गाउँका रामजी दनुवारले भने, ‘यसमा हाम्रो इतिहास लुकेको हुन सक्छ, त्यसैले जोगाएर राखेको हुँ ।’

‘पुरातात्त्विक’ वस्तुको संकलन न अध्ययन

उक्त स्थान नजिकै छ दनुवार समुदायका इष्टदेव भीमसेनको मन्दिर । यो ठाउँमा ऋषिमुनि तपस्याका लागि आउने भएकाले कमण्डलु भेटिएको हुन सक्ने स्थानीयको अनुमान छ । मन्दिर नजिकैको तल्लो टोलका सन्दीप दनुवारले पनि केही दिनअघि घरको जग खन्दा सिंहजस्तो लाग्ने मूर्ति भेटाएका थिए । ‘बाहिरी आवरण कलात्मक छ । देवताको मूति मानेर पूजा गरेर राखेको छु,’ उनले भने ।


भीमसेन मन्दिरमा ४० वर्षदेखि पूजा गर्दै आइरहेका रामविक्रम दनुवार मन्दिर आसपासको क्षेत्रमा उत्खनन गर्दा संस्कृतमा लेखिएको शिलालेख भेटेको सुनाउँछन् । उनका अनुसार २०४० सालमा अगुवा जगतलाल श्रेष्ठले भीमसेनको गधारत्न सारेर केही पर राख्न खोजेका थिए । ‘तर गधारत्नको मूर्तिको छेउ नै भेटिएन, बरु शिलालेख फेला पर्‍यो,’ उनले भने ।

पाँचतले यो मन्दिर २०७२ वैशाखको भूकम्पले भत्काएपछि अहिले खुला टहरामा मूर्ति स्थापना गरी पूजाआजा हुँदै आएको छ । ‘जात्रापर्वमा त्यही शिलालेख रथमा राखेर डुलाउँछौं,’ उनले भने, ‘त्यसमा लेखिएको कुरा खुल्यो भने यहाँको केही कुरा पत्ता लाग्थ्यो कि !’

ऐतिहासिक मान्यता रहेको र पुरातात्त्विक सम्पदा भेटिने गरे पनि यस क्षेत्रको उत्खननमा कसैको ध्यान पुगेको छैन । भेटिएका त्यस्ता सामग्री संकलन गरी अध्ययन गर्नुको सट्टा स्थानीयले आआफ्नै घरमा राखिरहेका छन् । ‘पुरातात्त्विक वस्तु भेटिएको जानकारी आएको छ, त्यसबारे पुरातात्त्विक विभागसँग समन्वय गरेर अगाडि बढ्छौं,’ गाउँपालिका अध्यक्ष वंशलाल तामाङले भने ।

प्रकाशित : आश्विन ६, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?