सिन्धुलीमा भरुवा बन्दुकसहित पाँचजना पक्राउ

राजकुमार कार्की

सिन्धुली — अवैध रुपमा भरुवा बन्दुक लुकाएको राखेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । मंगलबार सिन्धुलीको दुधौली नगरपालिका-२ को जलकिनी र तिनचम्केबाट चारथान भरुवा बन्दुकसहित ५० वर्षीय नुरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुणाबहादुर राउत र ७२ वर्षीय जितबहादुर बरइमगर र ४० वर्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले जानकारी दिए ।

सिन्धुलीमा भरुवा बन्दुकसहित पाँचजना पक्राउ

घर तथा गोठमा लुकाइछिपाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय डकाहा र हत्पते प्रहरी चौकीका प्रहरीहरुको गस्ती टोलीले बन्दुक बराम गरेका हुन् । बरामद भएका चारवटा मध्ये तीनवटा लोड भएको डीएसपी लामाले बताए ।

पक्राउ परेका पाँचैजनालाई आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्रहरीले गाली बेइज्जती मुद्दामा जिल्ला अदालतको फैसला अनुसार २५० रुपैयाँ नबुझाइ चारवर्ष अघिदेखि फरार रहेकी एक महिलालाई मंगलबार पक्राउ गरी जरिवाना सजाय भराएको छ । गोलन्जोर गाउँपालिका ५ हिर्दिङकी ४७ वर्षीय कृष्णकुमारी बस्नेतलाई गाली बेइज्जती मुद्दामा सिन्धुली अदालतबाट २०७४ सालको कात्तिक ३० गते २५० रुपैंयाँ जरिवाना सजाएको फैसला भएको थियो । बस्नेतलाइ घरबाटै पक्राउ गरी अदालत समक्ष पेस गरेर फैसला अनुसारको जरिवाना भराएको डीएसपी लामाले जानकारी दिए ।

गाली बेइज्जतीकै अर्को मुद्दा फैसला अनुसार दुई हजार नबुझाइ १२ वर्षदेखि फरार रहेकी कमलामाई नगरपालिका ४ आहालेकी ६१ वर्षीय चमेली तोलङ्गेलाई मंगलबारै पक्राउ गरी जरिवाना सजाय भएको रकम भराइएको छ । ०६६ पुष ३० गते तोलङ्गेलाई जिल्ला अदालतबाट दुई हजार रुपैयाँ जरिवाना सजाय फैसला भएको थियो ।


प्रकाशित : आश्विन ५, २०७८ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?