नुवाकोटको विदुरमा पहिरो जाँदा सडक अवरुद्ध- वाग्मती - कान्तिपुर समाचार

नुवाकोटको विदुरमा पहिरो जाँदा सडक अवरुद्ध

कृष्ण थापा

नुवाकोट — अविरल वर्षात्‌का कारण सडकमा पहिरो गएपछि दुई जिल्ला जोड्ने पासाङल्हामु मार्गको सडक अवरुद्ध भएको छ । सोमबार राति सदरमुकाम विदुरनगरपालिका २ र ४ वडा बीचमा रहेको मैथली ब्यारेक खोल्सामा वर्षाले सडक भासिएर पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

सडक भासिएपछि काठमाडौंबाट आएका यातायात बट्टार बजार, रसुवा तथा उत्तरी भेगबाट आएका सवारी विदुर बजारमा रोकिएका छन् । अस्थायी रुपमा सडक संचालनमा ल्याउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । ‘राम्ररी सडक संचालनमा ल्याउन कम्तिमा पनि १० दिन लाग्छ,’ प्रजिअले भने, ‘आवश्यक जनशक्ति लगाएर अस्थायी रुपमा भए पनि सडक संचालन लागेका छौं ।

उक्त सडकबाट अनेत्रबाट जाने वैकल्पिक मार्गसमेत छैन । यो मार्ग छिमेकी जिल्ला रसुवा तथा सीमा नाका रसुवागढीसम्मको मुख्य बाटो र नुवाकोटको उत्तरपश्चिम भेग जाने सडक हो । सडक १० मिटर तल भासिएर बगेको छ ।

गत साउन १३ गते राति पनि यसैगरी सडक भासिएको थियो । सोमबार राति सडक भासिँदै बगेको छ । सडक तल पानी बग्ने खोल्सामामाथि कल्भर्टसहितको सानो पुल छ । उक्त पुलमाथि धेरै ग्याबिन हालेर सडक बनाइएको थियो । पुल माथिमा ग्याबिन र ढुंगा राखेर माथिबाट ग्राबेल र सडक बनाएको थियो । सडक बगेपछि स्थानीयलाई आवतजावत गर्न समेत समस्या भएको छ । अवरुद्ध सडक काठमाडौंबाट ६८ किमी दुरीमा छ ।

प्रकाशित : आश्विन ५, २०७८ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्

देउवालाई कोइरालाको प्रश्न : कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन पाइन्छ ?

देवनारायण साह

मोरङ — कांग्रेस नेता शेखर कोइरालाले कार्यकर्तालाई अन्योलमा राखेर पार्टी चलाउन नमिल्ने बताएका छन् ।  १३ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेर कार्यकर्तालाई अन्योलमा राखिएको उनको आरोप छ ।

‘कार्यकर्ताहरु नेताहरुको दास त होइन, कति दिनसम्म कार्यकर्तालाई अन्योलमा राख्ने ?,’ कोइराला निवासमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘कार्यकर्तालाई अन्योलमा राखेर पार्टी सञ्चालन गर्छु भन्ने गलत सोच अझै नेताहरुले किन राखिरहनु भएको छ ?’

१३ जिल्लाका क्रियाशील सदस्यता आउन अझै कति दिन लाग्ने भन्ने जानकारी कार्यकर्तालाई दिनुपर्ने कोइरालाको भनाइ थियो । ‘अझै कति दिन लाग्छ त्यो त कार्यकर्ताहरुलाई भनिदिनु पर्‍यो नि !’ उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाजीले के हेरेर बस्नुभएको छ ? त्यति भन्न सक्नुहुन्न । कार्यकर्ताहरुलाई अन्योलमा राखिदिने ?’

कृष्णप्रसाद सिटौला, रमेश लेखक र मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिले अहिलेसम्म के–के काम गरे भन्ने प्रश्नसमेत कोइरालाको थियो । ‘उच्चस्तरीय छानबिन समितिले लिएको समय पनि बितिसक्दा पनि किन क्रियाशील सदस्यता बाँकी जिल्लाको आएन ?,’ उनले भने, ‘कसको गल्तप् हो ? सक्नु भएन भने किन तीन दिनमा गर्छु भन्नुभयो उहाँहरुले ।’

त्यस्तै राप्रपाका कार्यकर्तालाई मोरङमा क्रियाशील सदस्यताबाट बञ्चित गराएकोप्रति कोइरालाले आपत्ति जनाए । ‘सुनील थापाजी कांग्रेसका सहमहामन्त्री हुनुहुन्छ, त्यसैले उहाँले मोरङको क्रियाशील सदस्यता किन आएन भनेर जिम्मेवारी लिनुपर्छ,’ उनले भने, ‘सभापति देउवाजीले शेखर कोइरालालाई सघाउँछन् भनेर मोरङका राप्रपाबाट समायोजन भएर आएकाहरुको क्रियाशील सदस्यता रोक्नु पार्टीका लागि दुर्भाग्य हो ।’

प्रकाशित : आश्विन ५, २०७८ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×