कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

राजनीतिक गतिविधिमा जुट्दै दल

दैनिक संक्रमित थपिने क्रम घटेको र तीनै तहको निर्वाचन नजिकिएका कारण दलहरु संगठन विस्तार, भेला र सभा गर्न अग्रसर
राजकुमार कार्की

सिन्धुली — जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई गत मंगलबार सिन्धुलीमाडी आए । पार्टीको संगठन सुदृढीकरण तथा जनजागरण कार्यक्रममा आएका भट्टराईले बुधबारसम्म सिन्धुलीमाडीमै रहेर स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गरे । उनी गोरखामा कार्यक्रम भ्याएर तराई हुँदै सिन्धुलीमाडी आइपुगेका हुन् । जसपाकै केन्द्रीय अध्यक्ष उपेन्द्र यादव पनि जिल्ला दौडाहाका क्रममा सिन्धुली आएका थिए ।

राजनीतिक गतिविधिमा जुट्दै दल

शनिबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हरिहरपुरगढी गाउँपालिका–४ को महेन्द्रझ्याडी माविको नवनिर्मित भवनको उद्घाटन गरिन् । कार्यक्रमस्थल जाने क्रममा सिन्धुलीमाडीमा रहेको एमाले पार्टी कार्यालयमा कार्यक्रम राखेर स्थानीय नेता–कार्यकर्तामाझ आफ्नो धारणा राख्न भ्याइन् । माढी बजारमै रहेको जनसेवी पुस्तकालयको पनि अवलोकन गरिन् ।

एमालेमा रहँदै गठित माधव नेपाल समूहको समानान्तर जिल्ला कमिटीलाई नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटीमा रूपान्तरण गर्न सिन्धुलीमाडी आएका नेताद्वय रामकुमारी झाँक्री र केदार न्यौपानेले कम्युनिस्ट पार्टीको मूल प्रवाह आफ्नो पार्टी रहेको दाबी गर्न भ्याए ।

पार्टीको वडा अधिवेशन सकेर माथिल्लो पदमा उम्मेदवारी घोषणा गरेका कांग्रेस उम्मेदवारहरूक्षेत्रीय प्रतिनिधिहरूसँग मत माग्न व्यस्त छन् । उनीहरू ९ वटै स्थानीय तहमा समूह बनाएर लागिपरेका छन् । कांग्रेसको असोज ९ मा पालिकाको अधिवेशन मिति तोकिएको छ ।

माओवादी केन्द्रले पनि यो समयलाई संगठन विस्तार गर्ने अवसरका रूपमा लिएको छ । शनिबार माओवादीनिकट शिक्षकहरूले ८ स्थानीय तहमा भेला गरे । मरिण क्षेत्रमा पार्टी प्रवेशको कार्यक्रम नै राखिएको थियो । माओवादीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य लेखनाथ दाहाल संगठन विस्तारमा जुटेका छन् ।

कोरोना संक्रमण जोखिमका कारण लामो समय गतिविधिहरू रोकेका दलहरूले यतिखेर दैनिक संक्रमित थपिने क्रम मत्थर भएसँगै संगठन विस्तार, भेला, सभा गरिरहेका छन् । महामारीको चपेटामा परेका स्थानीयसमेत यस्ता कार्यक्रममा उपस्थिति जनाइरहेका छन् ।

स्थानीय तहको निर्वाचन हुन ६ महिना मात्र बाँकी छ, संघ र प्रदेशको पनि धेरै टाढा छैन । यसअघिको स्थानीय निर्वाचनमा एमाले, कांग्रेस र माओवादीले ३/३ वटामा जित हात पारेका थिए । एमाले र माओवादीबीचको गठबन्धन भएपछि संघका दुई र प्रदेशका चारै क्षेत्रमा कब्जा जमाएको थियो । तीनै तहको निर्वाचन नजिएकाले पनि दलहरूले संक्रमण घटेको समयलाई उपयोग गर्ने नीति बनाएर गतिविधिलाई तीव्र बनाएका हुन् । जिल्लामा २ नगरपालिका, ७ गाउँपालिका र ७९ वडा छन् ।

प्रकाशित : आश्विन ४, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?