मेलम्चीको मुख्य बाँधस्थलसम्मको सडक बनाउन सेनालाई दिइने- वाग्मती - कान्तिपुर समाचार

मेलम्चीको मुख्य बाँधस्थलसम्मको सडक बनाउन सेनालाई दिइने

असार पहिलो साता आएको बाढीले ठूलो क्षति पुर्‍याएकाले काठमाडौंमा मेलम्चीको पानी आउने मिति अनिश्चित
दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले बाढीग्रस्त मेलम्ची आयोजनाको हेडवर्क्स (मुख्य बाँधस्थल) सम्म पुग्ने बाटो खोल्ने जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ । आयोजना प्रमुख वासुदेव पौडेलले मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको २२ मध्ये ८ किमि सडक पूर्ण रूपमा क्षतिग्रस्त भएकाले ट्र्याक खोल्ने जिम्मा सेनालाई दिन छलफल भइरहेको बताए ।

‘सेनालाई जिम्मा नदिए ट्र्याक खोल्न तत्काल सम्भव छैन,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई जानकारी गराएर निर्णय लिन्छौं ।’ तत्काल निर्णय नलिए उपत्यकामा पानी ल्याउन ढिलाइ हुने उनले बताए ।

हेलम्बुको किउल क्षेत्रमा निर्माण भइरहेको करिब ८ किमि सडक पछिल्लो पटक आएको बाढीले क्षतिग्रस्त बनाएपछि आयोजना सम्पन्न हुनेमै अन्योल सिर्जना भएको प्रमुख पौडेलले बताए । ‘आयोजनालाई त खास क्षति पुर्‍याएको छैन’ उनले भने, ‘विभिन्न निकायसँग समन्वय गरेर बाटो सडक बनाउने काम तत्काल सुचारु गर्छौं, अब वर्षात्पछि मात्र काम सञ्चालन गर्ने कि भन्ने सोचाइमा पुगेका छौं, नत्र बाढीले बगाउने, बनाउने मात्र काम हुने भयो ।’

हेडवर्क्स निर्माण गर्दै आएको निर्माण व्यवसायीले मेलम्चीको बहाव घट्नेबित्तिकै नदीको किनारै किनार निर्माण सामग्रीलगायत ठूला मेसिन अम्बाथान पुर्‍याउन तयार रहेको उनले बताए । ‘माघसम्म पानी ल्याउन हामीले कार्ययोजना बनाएका थियौं, तर अब त्यो पनि पूरा नहुने भयो’ उनले भने, ‘किनभने निरन्तर भइरहेको वर्षातले बाढी आउँदा संरचना भत्काउँछ, पैसा मात्र खर्च हुने भयो, अब असोजबाट मात्र काम अघि बढाउनपर्छ भन्ने सोचाइमा छौं ।’

असार १ देखि भदौ अन्तिमसम्म आयोजनाका भौतिक संरचना मर्मत गर्ने भन्दै यसअघि आयोजनाले सुरुङमा पानी पथान्तरण नगर्ने निर्णय गरेको थियो । आयोजनाले असोज ७ गतेभित्र पहुँचमार्गको कार्य प्रारम्भ गर्ने, असोज १५ गतेभित्र हेडवर्क्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउने, कार्तिक १५ भित्र अम्बाथान पोर्टल खुल्ला टनेलको निरीक्षण गर्ने र पुसभित्र कफर ड्याम बनाएर माघ ७ भित्र पानी पथान्तरण गर्ने कार्ययोजना सरकारलाई बुझाएको थियो । तर, गत असारमा मेलम्ची क्षेत्रमा आएको ठूलो बाढीका कारण कार्ययोजना प्रभावित भएको छ । दुईपटकको बाढीले २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति पुगेको आयोजनाले जनाएको छ ।

‘हेडवर्क्सलार्ई बाढीको बालुवा, गिट्टीले छोपेको छ । मुहान क्षेत्रको सडक र अम्बाथानका दुइटा बेलिब्रिज, तिम्बु र हल्देका मोटरेबल पुल बगाएको छ,’ पौडेलले भने, ‘अडिट सुरुङसम्म पुग्न पनि गाह्रो भइराखेको छ ।’ केही ठाउँमा जाने बाटोसमेत नभएको भन्दै उनले मुहान पुग्नसम्म पुग्ने ८ किमिमा गोरेटो बाटोसमेत नभएको बताए । ‘केही स्थानमा त सडक नाम निसानासमेत छैन, पूरै बगाएको छ’ उनले भने, ‘सरकारले तत्काल सडक बनाउन करिब ३० करोड रुपैयाँ दिए सुरुङमा पानी हाल्न सकिन्थ्यो, सधैं बाढी आयो भने कसरी गर्ने भन्नेबारे छलफल गरिराखेको छौं ।’

बाढीले मुहान नजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको थियो । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक जना चिनियाँ र दुई जना भारतीयको मृत्यु भएको थियो । दुई नेपालीसहित ५ जना विदेशी अझै बेपत्ता छन् । सडकमार्गबाटै हेडवर्क्ससम्म सामग्री पुर्‍याउन मेलम्चीको पानीको सतह नघटेसम्म समस्या हुने भन्दै उनले कामदार पठाउनसमेत समस्या रहेको बताए । ‘त्यो क्षेत्रमा कामदारलाई कहाँ राख्ने भन्नेसमेत टुंगो लगाउन गाह्रो छ,’ उनले भने, ‘पहिलेका संरचना कुनै बाँकी छैनन्, अझै बाढी आउने हो कि भन्ने आशंका उत्तिकै छ ।’ कामदारलाई बास बस्ने स्थान नभएकाले त्यसको खोजी भइरहेको उनले बताए ।

बगाएको हेडवर्क्स संरचना निर्माण गरेर पानी सुरुङमा पथान्तरण गर्न लागि सडक संरचना निर्माण गर्नुपर्ने उनले बताए । सम्पन्नको चरणमा रहेको हेडवर्क्स बाढीले बगाएपछि झनै अन्योल छाएको उनले बताए । वैकल्पिक रूपमा पानी पथान्तरण गर्न निर्माण गरिएको कफर ड्याम पूर्ण रूपमा क्षति भएको उनले बताए । नदीको किनारैकिनार अस्थायी सडक निर्माण गरेर हेडवर्क्ससम्म सामग्री पुर्‍याउने सोचाइ रहेको भन्दै उनले पानीको बहाव नघटेसम्म त्यो पनि सम्भव नहुने बताए । तर, मुख्य सुरुङभित्र बाढीले कुनै क्षति नपुर्‍याएकाले पानी पथान्तरण गर्न खास समस्या नहुने उनले बताए । ‘झन्डै सुरुङ र अन्य संरचना मर्मतका लागि हेडवर्क्सको वैकल्पिक सुरुङ बन्द गरिसकेको अवस्थामा बाढी आयो र सुरुङमा क्षति भएन,’ उनले भने, ‘बाढी सुरुङभित्र पसेको भए ठूलो क्षति हुन्थ्यो ।’

क्षति बढी भएकाले आयोजनाको पहलले मात्र नभएर राष्ट्रिय गौरव आयोजनासमेत भएकाले राष्ट्रियस्तरबाट सोच्नुपर्ने प्रमुख पौडेलको भनाइ छ । ‘आयोजना क्षेत्रमा जाने/आउनेबाहेक अन्य काम सरकारले निर्णय नगरेसम्म गाह्रो भएको छ,’ उनले भने । यसअघि आयोजनाले मुख्य बाँधको मुखमा अस्थायी सुरुङ बनाई पानी पठाउने तयारी गरेको थियो । उक्त क्षतिकै कारण मेलम्चीको पानी कहिलेसम्म काठमाडौं आउला भन्नेमा आयोजनाका अधिकारीहरू नै अन्योलमा छन् । ‘हेडवर्क्स (मुख्य बाँधस्थल), सडक, पुललगायत मुहानको संरचना क्षतविक्षत अवस्थामा छन् ’ एक अधिकारीले भने, ‘सडक निर्माण भए एउटा खाका तयार हुन्थ्यो ।’

प्रकाशित : आश्विन ४, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा ७ वटा फोहोर पानी प्रशोधन केन्द्र बन्दै

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाको बढ्दो फोहोर पानी व्यवस्थापनका लागि ७ वटा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको छ । सहरी विकास मन्त्रालयले टुकुचा र खानेपानी मन्त्रालयले गुह्येश्वरी र धोबीघाटमा २/२ वटा तथा सल्लाघारी, कोड्कु र धोबीघाट प्रशोधन केन्द्र निर्माण अघि बढाएको हो ।

उपत्यकाका करिब ५३ लाख जनसंख्यालाई लक्षित गरी विभिन्न स्थानमा ती केन्द्रको निर्माण भइरहेको मेलम्ची खानेपानी आयोजनाका कार्यान्वयन निर्देशनालयका प्रमुख कमल श्रेष्ठले जानकारी दिए । आयोजनाका अनुसार हाल निर्माणाधीन प्रशोधन केन्द्रले करिब २० प्रतिशत फोहोर पानी मात्र प्रशोधन गर्नेछ । ८० प्रतिशत फोहोर पानी प्रशोधित गर्न थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत भइरहेको छ ।

पहिलो चरणमा सल्लाघारी र कोड्कुमा एक/एकवटा तथा धोबीघाट र गुह्येश्वरीमा २/२ वटा प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । निर्माण सम्पन्न भएपछि गुह्येश्वरीमा ३ करोड २४ लाख, सल्लाघारीमा १ करोड ४२ लाख, धोबीघाटमा ७ करोड ४० लाख, कोड्कुमा १ करोड ७५ लाख र टुकुचामा १ करोड ७३ लाख लिटर फोहोर पानी प्रतिदिन प्रशोधन गर्नेछ ।

टुकुचामा भने सहरी विकास मन्त्रालयले प्रशोधन निर्माण गर्नेछ । अधिकार सम्पन्न वाग्मती एकीकृत आयोजनाका प्रमुख रवीन्द्र बोहराले थापाथलीस्थित टुकुचाको संगममा प्रशोधन केन्द्र निर्माण गरिने जानकारी दिए । ‘सहरको मध्यभागबाट आउने फोहोर पानी सफा गरेर वाग्मतीमा मिसाउँछौं,’ उनले भने, ‘एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण हुँदै छ ।’ गुह्येश्वरीको पुरानो फोहोर पानी प्रशोधन केन्द्रको क्षमता अभिवृद्धिको काम अघि बढिरहेको जानकारी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख श्रेष्ठले बताए । ११ वर्षअघि जापान सरकारको सहयोगमा निर्माण गरिएको केन्द्र पूर्णरूपमा सञ्चालनमा छैन । ‘राजधानी उपत्यकाको सम्पूर्ण फोहोर पानी प्रशोधन गर्न निर्माणाधीन ७ वटा केन्द्रले पुग्दैन,’ उनले भने, ‘अन्य ठाउँमा पनि प्रशोधन केन्द्र निर्माण गर्नेबारे छलफल भइरहेको छ ।’

दोस्रो चरणमा धोबीघाटमा २२ करोड, कोड्कुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ । बाँकी ठाउँको फोहोर पानी प्रशोधनका लागि चाल्नाखेलमा प्रशोधन केन्द्र निर्माण गर्न अध्ययन भइरहेको उनले जानकारी दिए । ‘सन् २०१८ मा पहिलो चरणका ६ वटै केन्द्रको निर्माण सम्पन्न गरिने भनिए पनि निर्माण व्यवसायीले लापरबाही र कोभिड–१९ का कारण ढिलाइ भएको उनले बताए । ‘दोस्रो चरणमा सन् २०३० सम्म अरू पनि निर्माण हुनेछन्,’ उनले भने, ‘चाल्नाखेलमा बढी क्षमताकै प्रशोधन केन्द्र निर्माण गरिनेछ, यसले बाँकी रहेको सबै फोहोर पानी प्रशोधन गर्नेछ ।’

पहिलो र दोस्रो चरणका प्रशोधन केन्द्र निर्माण भइसकेपछि मात्र फोहोर पानीको व्यवस्थापन पर्याप्त हुने उनले बताए । दोस्रो चरणमा गोकर्ण, टुकुचा र भक्तपुरको हनुमानघाटमा समेत विकेन्द्रित फोहोर पानी प्रशोधन केन्द्र निर्माण हुने उनले जानकारी दिए । गोकर्णमा ३० लाख लिटर, हनुमानघाटमा १० लाख लिटर र टुकुचामा १० लाख लिटर क्षमताका प्रशोधन केन्द्र निर्माण गरिनेछ । केन्द्रमा अत्याधुनिक मेसिनबाट फोहोर पानी प्रशोधन गरेर खोलामा मिसाइने उनले बताए । हनुमानघाट, गोकर्णमा आयोजना कार्यान्वयन निर्देशनालय र टुकुचामा अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिले प्रशोधन केन्द्र निर्माण गर्ने जानकारी श्रेष्ठले दिए ।

प्रशोधन केन्द्रसम्म पुग्न ढलहरूको निर्माण वाग्मती र धोबी खोला वारिपारि भइसकेको जानकारी दिँदै उनले मनोहरा, हनुमन्ते र खस्याङखुसङ खोलामा निर्माण भइरहेको बताए । मनोहरामा ११ किमि, हनुमन्तेमा २५ किमि र खस्याङखुसङमा ७ किमि ढल बिछ्याउने काम भइरहेको छ । खस्याङखुसङ खोलामा ४५ किमि लामो इन्टरसेप्टर (ठूला पाइप) पाइपलाइन बिछ्याइएको छ । हनुमन्ते र मनोहरामा जग्गा विवादले काममा ढिलाइ भएको आयोजना निर्देशनालयका सूचना अधिकारी प्रज्वल प्रजापतिले जानकारी दिए ।

सन् २०३० सम्म ५४ लाख जनसंख्यालाई लक्षित गरेर फोहोर पानी प्रशोधनको व्यवस्था गर्न लागिएको आयोजनाको दाबी छ । २०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब ३० लाख छ । हाल गुह्येश्वरीमा रहेको फोहोर पानी प्रशोधन केन्द्रले सुरुङमार्फत तिलगंगास्थित वाग्मतीमा पानी मिसाएको उल्लेख गर्दै उनले अब गुह्येश्वरीबाट सीधै वाग्मतीमा प्रशोधित पानी मिसाइने जानकारी दिए । ‘आर्यघाटमा नुहाउन योग्य पानी हुन्छ,’ उनले भने, ‘तर पिउन योग्यचाहिँ हुँदैन ।’ ललितपुर महानगरको २० प्रतिशत र आयोजनाको ८० प्रतिशत लगानीमा पाटन दरबार क्षेत्रमा ढल बिछ्याउने काम भइरहेको उनले बताए । ‘अब करिब ६ सय मिटर बाँकी छ,’ उनले भने, ‘केही दिनमा सम्पन्न हुन्छ ।’

काठमाडौं महानगरपालिकाको ठमेल, वसन्तपुरलगायत मुख्य भागमा ढल बिछ्याउनका लागि पनि पहल भइरहेको उनले बताए । ‘डिजाइन भइसकेको छ,’ उनले भने, ‘अब सम्पूर्ण प्रक्रिया पूरा गरेर काम अघि बढाउँछौं ।’ साथै, वर्षाको समयमा बाढीको पानी प्रशोधन केन्द्रको क्षमताले धान्न नसक्ने हुँदा विभिन्न नदी किनारमा बनाइएका ‘ओभरफ्लो म्यानहोल’ बाट सीधै नदीमा जाने उनले बताए । प्रशोधन केन्द्र वातावरणमैत्री बनाउनका लागि वरपर बोटबिरुवा तथा फूल रोपिनेछ । त्यसका साथै पानी जम्मा हुने स्थानलाई सिमेन्टको ढलानले छोपिन्छ । वर्षात्को समयमा हुने ओभरफ्लोसँग जुझ्नका लागि अतिरिक्त पानी सञ्चय गर्ने पर्याप्त ठाउँ हुनेछ ।

प्रकाशित : भाद्र २४, २०७८ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×