गेग्रान हटाउँदै, बास बनाउँदै

बाढीले पुरेका मेलम्ची बजारका ७० भन्दा बढी घरमध्ये २ दर्जन बल्ल बस्नयोग्य
अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खोलाको बाढीले विध्वंश मच्चाएको ३ महिना पुगिसक्दा पनि बासको विकल्प नबन्दा मेलम्ची नगरपालिका–११ का चन्द्रमान लामा हैरान थिए । वर्षा केही थामिएर खोला साबिककै स्थानमा बग्न थालेपछि झन्डै २ महिनाअघिदेखि उनीसहितका स्थानीय घरमा थुप्रिएको लेदो र बालुवा हटाउन लागे ।

गेग्रान हटाउँदै, बास बनाउँदै

बिहीबार भग्नावशेषमा परिणत घरको मर्मतसम्भार सकेर सर्दा लामा खुबै ढुक्क देखिन्थे । ‘घर मर्मतमै लाखौं ऋण थोपरियो, तैपनि आफ्नै आवासमा सरियो । दुई महिनाको संघर्षपछि घर फर्किएका हौं, खुसी छौं,’ उनले भने ।

गत असार १ मा हेलम्बुको सेमिसिदाङ हिमालको काख भेमेथाङ्ग चौर सोहोरिएर आएको मेलम्ची बाढीले तटीय क्षेत्रका सयौं स्थानीयको घरबास बगर तुल्याएको थियो । ५ जनाले ज्यान गुमाए, २० जना अझै भेटिएका छैनन् । हेलम्बुका अधिकांश तटीय गाउँ र मेलम्ची बजारका घरको अस्तित्व नै मेटियो । पुनर्बासकै आसमा रहेका हेलम्बुका २ सय २७ बाढीपीडित परिवार बगर बनेको गाउँघर छोडेर दाताले बनाइदिएका अस्थायी आवास र सुरक्षित स्थानमा घर बनाएर सर्दै छन् ।

अरूको घरमा महँगो भाडा तिरेर बस्न बाध्य मेलम्ची क्षेत्रका १ सय ८० बाढीपीडित परिवारमध्ये आधाजसो माटो र बालुवाले पुरेका घर मर्मतसम्भारपछि आफ्नै घरमा सर्दै छन् । खोला पहिलेकै स्थानमा बगेको हुनाले मेलम्ची बजार सुरक्षित हुने अनुमानमा स्थानीय पुरानै घरमा फर्किन कस्सिएका हुन् । धेरैजसो अझै घरमा थुप्रिएको लेदो, गेगर, बालुवा हटाएर मर्मतसम्भार गरिरहेका छन् । ‘धेरैजसो त्यही काममा जुट्दै छन्, बजार क्रमशः तंग्रिँदै छ, पहिलेझै व्यापार व्यवसाय सुरु हुँदै छ,’ उनले भने । मेलम्ची बजारमा जमेको गेग्रान हटाउन ९ वटा एक्स्काभेटर, २ बुल्डोजरसहित दर्जन टिपर प्रयोग भइरहेका छन् ।

बाढीले बजारका ७० भन्दा बढी घर गेग्रान र बालुवाले भरिएका थिए । तीमध्ये २ दर्जनभन्दा बढी घर बस्न योग्य बनाइएको छ, केहीमा स्थानीय सरिसकेका छन् । अहिले धमाधम बजारको सरसफाइ गर्ने र बस्न योग्य बनाउने काम भइरहेको मेलम्चीका अगुवा सागर श्रेष्ठले बताए । अझै जोखिम कायम रहेको विज्ञले चेतावनी दिएकोले मेलम्चीको तटीय भेगमा नबस्न आग्रह गरिएको नगर प्रमुख डम्बर अर्यालले बताए । ‘जोखिम मोलेर आफूखुसी बस्दै छन्, अब के भन्नु ?,’ उनले भने । तत्कालीन अस्थायी आवासका लागि कार्ययोजना बनाइरहेको र पीडितले जग्गा खोजेकै स्थानमा आवास बनाउने उनको भनाइ छ । ‘यहा जग्गा छैन, पीडितले चाहेकै खोजेकै स्थानमा बनाउनुबाहेक विकल्प देखिएन,’ उनले भने ।

हेलम्बु अझै सडक सम्पर्कबाहिर

राजधानीबाट नजिकै रहेको मेलम्ची बजारसम्म सडक सहज भए पनि त्यहाँबाट हेलम्बु पुग्न उत्तिकै जोखिम मोल्नुपर्छ । बाढीले हेलम्बुको ग्याल्थुमसम्म सवारी सहज छ । त्यहाँबाट माथिल्लो क्षेत्र पुग्न पैदलबाहेक विकल्प छैन । हेलम्बुको चनौटेसम्म मोटरसाइकल पुग्ने सानो बाटो बनाइए पनि त्यो पनि सुरक्षित छैन । बीचमा खोलाले डुबाएको पुल तरेर थापाटारसम्म पुगेपछि २ घण्टा हिँडेर मात्रै केन्द्र किउल पुगिन्छ । ‘त्यहाँभन्दा माथिका स्थानीयलाई गाउँ पुग्न झण्डै एघार घण्टासम्म हिँड्नुपर्छ, यहाँको व्यथा सुनाएर साध्य छैन,’ हेलम्बु हल्देका सुनाम लामाले भने ।

‘दसैंअघिसम्म सडक सहज बनाउने र हेलम्बुसम्म बेलिब्रिज निर्माणलाई तीव्र बनाउन कस्सिरहेका छौं, दुई वर्षभित्र आवास निर्माण गर्न पहलकदमी गर्ने निर्णय गरेका छौं,’ हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने । उनले बाढीले बगाएको सडक सम्पर्क जोड्न

चनौटेमा राख्ने भनिएको यान्त्रिक बेलिब्रिज र मेलम्ची–हेलम्बुको करिब १८ किलोमिटर सडक निर्माण अघि बढाइएको बताए । सरकारले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुमा एकै हिसाबमा आवास अनुदान दिँदा पुनर्निर्माणमा अन्याय हुने हेलम्बुका जनप्रतिनिधिले तर्क गर्दै आएका छन् ।

प्रकाशित : आश्विन २, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?