गेग्रान हटाउँदै, बास बनाउँदै- वाग्मती - कान्तिपुर समाचार

गेग्रान हटाउँदै, बास बनाउँदै

बाढीले पुरेका मेलम्ची बजारका ७० भन्दा बढी घरमध्ये २ दर्जन बल्ल बस्नयोग्य
अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची खोलाको बाढीले विध्वंश मच्चाएको ३ महिना पुगिसक्दा पनि बासको विकल्प नबन्दा मेलम्ची नगरपालिका–११ का चन्द्रमान लामा हैरान थिए । वर्षा केही थामिएर खोला साबिककै स्थानमा बग्न थालेपछि झन्डै २ महिनाअघिदेखि उनीसहितका स्थानीय घरमा थुप्रिएको लेदो र बालुवा हटाउन लागे ।

बिहीबार भग्नावशेषमा परिणत घरको मर्मतसम्भार सकेर सर्दा लामा खुबै ढुक्क देखिन्थे । ‘घर मर्मतमै लाखौं ऋण थोपरियो, तैपनि आफ्नै आवासमा सरियो । दुई महिनाको संघर्षपछि घर फर्किएका हौं, खुसी छौं,’ उनले भने ।

गत असार १ मा हेलम्बुको सेमिसिदाङ हिमालको काख भेमेथाङ्ग चौर सोहोरिएर आएको मेलम्ची बाढीले तटीय क्षेत्रका सयौं स्थानीयको घरबास बगर तुल्याएको थियो । ५ जनाले ज्यान गुमाए, २० जना अझै भेटिएका छैनन् । हेलम्बुका अधिकांश तटीय गाउँ र मेलम्ची बजारका घरको अस्तित्व नै मेटियो । पुनर्बासकै आसमा रहेका हेलम्बुका २ सय २७ बाढीपीडित परिवार बगर बनेको गाउँघर छोडेर दाताले बनाइदिएका अस्थायी आवास र सुरक्षित स्थानमा घर बनाएर सर्दै छन् ।

अरूको घरमा महँगो भाडा तिरेर बस्न बाध्य मेलम्ची क्षेत्रका १ सय ८० बाढीपीडित परिवारमध्ये आधाजसो माटो र बालुवाले पुरेका घर मर्मतसम्भारपछि आफ्नै घरमा सर्दै छन् । खोला पहिलेकै स्थानमा बगेको हुनाले मेलम्ची बजार सुरक्षित हुने अनुमानमा स्थानीय पुरानै घरमा फर्किन कस्सिएका हुन् । धेरैजसो अझै घरमा थुप्रिएको लेदो, गेगर, बालुवा हटाएर मर्मतसम्भार गरिरहेका छन् । ‘धेरैजसो त्यही काममा जुट्दै छन्, बजार क्रमशः तंग्रिँदै छ, पहिलेझै व्यापार व्यवसाय सुरु हुँदै छ,’ उनले भने । मेलम्ची बजारमा जमेको गेग्रान हटाउन ९ वटा एक्स्काभेटर, २ बुल्डोजरसहित दर्जन टिपर प्रयोग भइरहेका छन् ।

बाढीले बजारका ७० भन्दा बढी घर गेग्रान र बालुवाले भरिएका थिए । तीमध्ये २ दर्जनभन्दा बढी घर बस्न योग्य बनाइएको छ, केहीमा स्थानीय सरिसकेका छन् । अहिले धमाधम बजारको सरसफाइ गर्ने र बस्न योग्य बनाउने काम भइरहेको मेलम्चीका अगुवा सागर श्रेष्ठले बताए । अझै जोखिम कायम रहेको विज्ञले चेतावनी दिएकोले मेलम्चीको तटीय भेगमा नबस्न आग्रह गरिएको नगर प्रमुख डम्बर अर्यालले बताए । ‘जोखिम मोलेर आफूखुसी बस्दै छन्, अब के भन्नु ?,’ उनले भने । तत्कालीन अस्थायी आवासका लागि कार्ययोजना बनाइरहेको र पीडितले जग्गा खोजेकै स्थानमा आवास बनाउने उनको भनाइ छ । ‘यहा जग्गा छैन, पीडितले चाहेकै खोजेकै स्थानमा बनाउनुबाहेक विकल्प देखिएन,’ उनले भने ।

हेलम्बु अझै सडक सम्पर्कबाहिर

राजधानीबाट नजिकै रहेको मेलम्ची बजारसम्म सडक सहज भए पनि त्यहाँबाट हेलम्बु पुग्न उत्तिकै जोखिम मोल्नुपर्छ । बाढीले हेलम्बुको ग्याल्थुमसम्म सवारी सहज छ । त्यहाँबाट माथिल्लो क्षेत्र पुग्न पैदलबाहेक विकल्प छैन । हेलम्बुको चनौटेसम्म मोटरसाइकल पुग्ने सानो बाटो बनाइए पनि त्यो पनि सुरक्षित छैन । बीचमा खोलाले डुबाएको पुल तरेर थापाटारसम्म पुगेपछि २ घण्टा हिँडेर मात्रै केन्द्र किउल पुगिन्छ । ‘त्यहाँभन्दा माथिका स्थानीयलाई गाउँ पुग्न झण्डै एघार घण्टासम्म हिँड्नुपर्छ, यहाँको व्यथा सुनाएर साध्य छैन,’ हेलम्बु हल्देका सुनाम लामाले भने ।

‘दसैंअघिसम्म सडक सहज बनाउने र हेलम्बुसम्म बेलिब्रिज निर्माणलाई तीव्र बनाउन कस्सिरहेका छौं, दुई वर्षभित्र आवास निर्माण गर्न पहलकदमी गर्ने निर्णय गरेका छौं,’ हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने । उनले बाढीले बगाएको सडक सम्पर्क जोड्न

चनौटेमा राख्ने भनिएको यान्त्रिक बेलिब्रिज र मेलम्ची–हेलम्बुको करिब १८ किलोमिटर सडक निर्माण अघि बढाइएको बताए । सरकारले बाढी प्रभावित क्षेत्र मेलम्ची र हेलम्बुमा एकै हिसाबमा आवास अनुदान दिँदा पुनर्निर्माणमा अन्याय हुने हेलम्बुका जनप्रतिनिधिले तर्क गर्दै आएका छन् ।

प्रकाशित : आश्विन २, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग : फुटसलबारे केही तथ्य

फिफा र एएफसीले कार्यक्रममा समावेश गर्न थालेपछि नेपाललाई पनि टिम निर्माण गरी अन्तर्राष्ट्रिय सहभागिताको आवश्यकता हुन थाल्यो ।
कुशल तिमल्सिना

काठमाडौँ — मिनी फुटबलका रूपमा दक्षिण अमेरिकामा ९ दशकअघि सुरु फुटसलले यसबीचमा धेरै आरोहअवरोह पार गरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले नै स्वामित्व दिएर आफूमातहतका देशमा विस्तार गरिरहेको फुटसलको ‘ए’ डिभिजन लिग नेपालमा पहिलोपल्ट आयोजना हुन लागेको छ ।

विगतमा राष्ट्रिय लिग भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दीर्घकालीन परियोजनाका रूपमा ‘ए’ डिभिजन क्लब तोकेर पहिलोपल्ट लिग गर्न लागेको हो ।

नेपालमा फुटसल सुरु भएको धेरै भएको छैन । एक दशक इतिहास बोकेको यो खेल सुरुमा फिटनेस वा भुँडी घटाउने व्यायाम केन्द्रका रूपमा चर्चित थियो । मुख्यगरी सहरी क्षेत्रमा यसको चर्चा चुलिँदै गएपछि खेलका रूपमा विकास गर्ने योजनाहरू बन्न थाले । यसबीच स्थानीय प्रतियोगिताहरू पनि भइरहेकै थिए ।

राष्टिय खेलकुद परिषद् (राखेप) का तत्कालीन बोर्ड सदस्य देवकुमार अधिकारीले नेपाल फुटसल संघ दर्ता गराए । नेपालले एएफसीबाट फुटसल सञ्चालनको मान्यता पाउनुअघि यो संघ दर्ता भएको थियो । तर फिफाले नै फुटसलको सबै गतिविधि सञ्चालन गर्ने भएपछि यो संघको औचित्य लगभग सकिएको छ । विश्व फुटसल महासंघ भनेर अहिले पनि अस्तित्वमा छ । त्यसले नेपाललाई पनि सदस्यता दिएको छ ।

फिफा र एएफसीले कार्यक्रममा समावेश गर्न थालेपछि नेपाललाई पनि टिम निर्माण गरी अन्तर्राष्ट्रिय सहभागिताको आवश्यकता हुन थाल्यो । एन्फाको फुटसल कमिटीका तत्कालीन संयोजक रमेश रायमाझीको सक्रियतामा छनोट प्रतियोगिता गरी नेपालको पहिलो फुटसल टिम तयार गरिएको थियो । टोलीको प्रशिक्षक पूर्व फुटबलर राकेश श्रेष्ठ थिए ।

सन् २०१७ मा नेपालले इरानमा भएको एएफसी एसियन फुटसल च्याम्पियनसिप छनोटमा सहभागिता जनाएको थियो । नेपाली फुटसलले पहिलो अन्तर्राष्टिय खेल अक्टोबर १५, २०१७ मा उज्वेकिस्तानसँग खेलेको हो । पहिलो खेल नेपालले १४–१ गोलले हारेको थियो । त्यसपछि अक्टोबर १६ मा किर्गिज रिपब्लिक र अक्टोबर १७ मा तुर्कमेनिस्तानसँग खेल्दा नेपाल सबै खेलमा पराजित थियो ।

‘त्यो हाम्रा लागि विल्कुलै नयाँ अनुभव थियो । सबै कुरामा हामी नयाँ थियौं । हामी टर्फमा प्रशिक्षण गरेर गएका थियौं । तर, उता त अर्कै संरचना थियो,’ राष्ट्रिय फुटसल टोलीका तत्कालीन प्रशिक्षक राकेश श्रेष्ठले कान्तिपुरसँग भने, ‘त्यो एकदमै सुखद सुरुआत र राम्रो अनुभव थियो । हामीले फुटसल कसरी र कस्तो ठाउँमा खेलिन्छ भनेर जान्न पाएका थियौं ।’

उनले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीको पाँच वर्ष बित्दा पनि घरेलु फुटसलको अवस्था उस्तै हुनु र एन्फाले एउटा पनि फुटसल मैदान नहुनु दुःखद भएको बताए । ‘हामीले एएफसी हुँदै फिफाको प्रतियोगिताहरूमा पनि राम्रो प्रदर्शनको अपेक्षा गर्ने हो भने पूर्वाधार अनिवार्य भइसकेको छ,’ उनले थपे, ‘नेपालमा अहिलेसम्म एउटा पनि वास्तविक फुटसल मैदान छैन । स्तरीय जनशक्ति छैनन् ।’

कृत्रिम घाँसे मैदान विस्थापन गरी वास्तविक फुटसल मैदानको निर्माणको अभियान सुरु गर्नुपर्ने समय आइसकेको एन्फाले महसुस गरेको छ । आफ्नै मैदान निर्माणका लागि बजेट छुट्याए पनि ठाउँ अभाव भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा बताउँछन् ।

मिनी फुटबलको रूपमा विकास भए पनि फुटसलका केही नियम तथा इतिहास छन् । फुटबलभन्दा फुटसलमा फरक के छ भनेर बुझ्न यी कुरा जान्नुपर्ने हुन्छ –

फुटसलको सुरुआत र विकास

फुटसलको सुरुआत दक्षिण अमेरिकी मुलुक उरुग्वेबाट भएको हो । सन् १९३० मा उरुग्वेले फिफा विश्वकप जितेर सनसनी मच्चाएको थियो । त्यतिबेलै सानो आकारको सिमेन्टेट पिचमा सानै आकारको बल खेलेर फुटसलको सुरुआत गर्ने व्यक्ति थिए, जुहान कार्लोस सेरियानी । उनले फाइभ ए साइड फुटबल युथ कम्पिटिसन आयोजना गरेका थिए । त्यतिबेला यो प्रतियोगिता बास्केटबल आकारको कोर्टमा खेलाइएको थियो । स्पेनिस भाषामा फुटबललाई फुटबोल र इन्डोरलाई सालन भनिन्छ । इन्डोर फुटबलको अवधारणामा विकास भएकाले यसलाई एकीकृत गरेर फुटबोल र सालन मिलेर फुटसल भएको हो ।

सन् १९८९ मा फिफाले फुटसललाई आफ्नै अंगका रूपमा समावेश गर्नुअघि नै सन् १९८१ मा स्थापित अमेरिकी फुटसल फेडेरेसनले सन् १९८२ मा विश्व च्याम्पियनसिप आयोजना गरिसकेको थियो । सन् १९८९ यता फिफा फुटसल विश्वकपकै नामबाट प्रतियोगिता सञ्चालन भइरहेको छ । फिफा फुटसल विश्वकप हरेक चार वर्षमा आयोजना हुन्छ । अहिले फुटसल विश्वकप लिथुवानियामा भइरहेको छ । विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । यसले पाँचपल्ट उपाधि जितेको छ । सन् २०१६ मा भएको पछिल्लो संस्करण भने अर्जेन्टिनाले जितेको थियो ।

फुटसल मैदान

आमरूपमा नेपालमा फुटसल मैदान ‘हरियो कृत्रिम घाँसे मैदान’ भन्ने बुझिन्छ । यो भ्रम हो । विश्व फुटबल महासंघ (फिफा) ले लागू गरेको मापदण्डअनुसार पार्केटिङ मैदान वा दुई मिटरबाट खस्दा बढीमा ६५ सेन्टिमिटरसम्म बल उफ्रिने गरी ५ एमएमको म्याट बिछ्याएको मैदान उपयुक्त फुटसल खेलस्थल हो । फिफाले विशेष परिस्थितिमा घरेलु फुटसलको खेल आयोजना गर्न कृत्रिम मैदानमा खेल्न पनि छुट दिएको छ । तर, अन्तर्राष्ट्रिय खेलका लागि भने अनिवार्य रूपमा मापदण्ड पालना भएको हुनुपर्छ । नेपालमा पूर्ण मापदण्डको एउटै पनि फुटसल मैदान/कोर्ट छैन ।

मैदानको आकार

नेपालमा फुटसलको वास्तविक आकारमा पनि एकरुपता छैन । उपलब्ध जमिनको आकार हेरेर फुटसल मैदान निर्माण भएको पाइएको छ । फिफाले अन्तर्राष्ट्रिय र राष्ट्रिय (क्लबस्तरीय) खेलका लागि छुट्टाछुट्टै मापदण्ड निर्धारण गरेको छ ।

घरेलु प्रतियोगिताका लागि २५ देखि ४२ मिटरसम्म लम्बाइ र १६ देखि २५ मिटरसम्म चौडाइ भएको पिच आवश्यक पर्छ । अन्तर्राष्ट्रिय खेलका लागि भने ३८ देखि ४२ मिटर लम्बाइ र २० देखि २५ मिटर चौडाइको पिच आवश्यक पर्छ । एन्फाले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्राष्ट्रिय मापदण्डको मैदानमा खेलाउन लागेको छ । फुटसलसँग मिल्दोजुल्दो हुने गरी हकीको म्याट बिछ्याएर पोखरा रंगशालास्थित कभर्डहलमा पिच तयार गरिएको छ ।

खेला ४० मिनेट, स्टपेज टाइम प्रणाली

फुटसलमा स्टपेज टाइमको नियम हुन्छ । हरेक ‘डेड बल’मा टाइम गणना हुँदैन । यो बास्केटबलमा जस्तै नियम हो । २०–२० मिनेटको दुई हाफको बीचमा दुवै टोलीलाई एक मिनेटको टाइमआउट लिने सुविधा हुन्छ । थर्ड रेफ्री वा टाइमकिपरसँगको समन्वयमा टाइमआउट माग्न माइन्छ । ४० मिनेट खेलको दुई हाफबीचमा १५ मिनेटको विश्राम हुन्छ । तर, खेल अतिरिक्त समयमा पुगेको स्थितिमा भने त्यसबीच विश्राम हुँदैन । स्टपेज टाइम भएकाले एउटा खेल एक घण्टाभन्दा बढी समय पनि जान सक्छ ।

नो अफसाइड, असीमित सब्स्टिच्युट

फुटबलभन्दा एक साइज सानो बल प्रयोग हुने र खुट्टाले खेलिने भए पनि फुटसलमा फुटबलभन्दा फरक नियम धेरै छन् । त्यसमध्ये एक हो, अफसाइड हुँदैन । यसले खेललाई रोमाञ्चक र तीव्र गतिको बनाउने अपेक्षा गरिन्छ । रेफ्रीले फाउलको अवस्था हेरेर फ्रिकिक, डाइरेक्ट तथा इनडाइरेक्स फ्रिकिकको अवसर दिन सक्नेछन् ।

फुटसलको एउटा प्लेइङ सेटमा ५ जना हुन्छन् । घरेलु प्रतियोगितामा टिममा यति नै संख्यामा खेलाडी राख्ने नियम सम्बन्धित आयोजकले नै निर्धारण गर्न सक्नेछ । तर अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ जनासम्म (प्लेइङका ५ बाहेक) सब्स्टिच्युट गर्न पाइने नियम हुन्छ । फिफा वा एएफसीले मान्यता दिएका देशले आयोजना गर्ने ‘ए’ डिभिजन प्रतियोगितामा १० जना (प्लेइङका ५ बाहेक) सब्स्टिच्युट गर्न पाइन्छ ।

अन्य स्थानीय प्रतियोगिताहरूमा सब्स्टिच्युडको मापदण्ड छैन । स्थानीय आयोजकले नै निर्धारण गर्न सक्छन् । यो खेलमा सब्स्टिच्युट गर्न रेफ्रीको अनुमति लिइरहनु पर्दैन र खेल पनि रोकिनु पर्दैन । आफ्नो सब्स्टिच्युट जोनमार्फत मैदानभित्रका खेलाडी बाहिरिएपछि सब्स्टिच्युट खेलाडी मैदानभित्र जान पाउँछन् । तर, टिमले पहिले नै रेफ्रीलाई सब्स्टिच्युट खेलाडीको जर्सी नम्बर प्रदान गर्नुपर्छ ।

कार्डको नियम

फुटबलमा जस्तै फुटसलमा पनि कारबाहीका लागि कार्डकै प्रयोग हुन्छ । पहेँलो कार्डले चेतावनी दिनेछ भने रातो कार्डले खेलाडीलाई मैदानबाहिर निकाल्ने छ । रातो कार्ड पाउने अर्को खेलमा प्रतिबन्धित हुनेछ । यो प्रतियोगितामा एन्फाले प्रतियोगिताको फाइनल अगाडिसम्म २ पहेँलो कार्ड पाएको अवस्थामा अर्को खेलमा प्रतिबन्ध लाग्ने नियम बनाएको छ । जस्तै एउटा खेलाडीले आफ्नो पहिलो खेल र सातौं खेलमा पहेँलो कार्ड पायो भने आठौं खेलमा उसले प्रतिबन्ध बेहोर्नुपर्नेछ । यो नियमप्रति क्लबहरूले विरोध जनाएका छन् । लगातार खेलमा पहेँलो कार्ड पाएमा अर्को खेल प्रतिबन्ध हुनुपर्नेमा एन्फाले आफूखुसी नियम राखेको उनीहरूको आरोप छ ।

एन्फाले प्रतियोगिताका लागि लागू गरेको कोरोना मापदण्डमा एक टिमका बढीमा ६ खेलाडीलाई संक्रमण देखिएमा सो टिमलाई अयोग्य घोषणा गर्ने नियम समावेश गरेको छ । यो नियममा पनि क्लबहरूको आपत्ति छ । तर एन्फाले भने यो अवस्था नआउनेमा आशावादी रहेको जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७८ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×