कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्क्रब टाइफसबाट काभ्रेमा डेढ महिनामा ९ को मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — स्क्रब टाइफसका कारण काभ्रेमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बालबालिका बढी प्रभावित छन् । पछिल्लो दुई सातामा ५ बालबालिकाको मृत्यु भएको छ ।पछिल्लो डेढ महिनामा धुलिखेल अस्पतालमा पहिचान भएका २२ मध्ये ८ बालबालिका र एक ज्येष्ठ नागरिकको मृत्यु भएको बालरोग विशेष डा. सिर्जना डंगोलले जानकारी दिइन् ।

स्क्रब टाइफसबाट काभ्रेमा डेढ महिनामा ९ को मृत्यु

यो संक्रमित संख्याको ३६.३६ प्रतिशत हो । ‘समयमा नै पहिचान भए सामान्य औषधि र उपचारले निको हुने स्क्रब टाइफसकै कारण दुई सातामा ५ जनाको मृत्यु हुनु दुःखद कुरा हो,’ डा. डंगोलले भनिन्, ‘ढिला गरी अस्पताल आएका कारण यही साता २ बालबालिकाको मृत्यु भयो ।’

धुलिखेल अस्पतालका मेडिकल माइक्रोबायोलोजिस्ट सुरेन्द्रकुमार मधुपका अनुसार साउन १५ यता परीक्षण गरिएका १ सय ५० जनामध्ये ३४ जनामा संक्रमण पुष्टि भएको छ । १६ वर्षमुनिका ६ बालक र ६ बालिका र सोभन्दा माथिल्लो उमेर समूहका ३ पुरुष र १९ महिलामा संक्रमण पाइएको छ । अघिल्लो वर्षको बर्खायामका ५ महिनामा ४१ जनामा संक्रमण पाइएकामा यो वर्ष डेढ महिनामै ३४ जनामा संक्रमण देखिएको उनले बताए ।

धुलिखेल अस्पतालका डा. प्रकाश सापकोटाका अनुसार खेत, झाडीलगायतमा पाइने किर्ना मुसालगायतका माध्यमबाट मानिसलाई टोक्छ । यसले टोकेको ठाउँमा कालो दाग र वरिपरि रातो हुन्छ । उनका अनुसार टोकेको १–३ सातासम्ममा लक्षण देखिन थाल्छ । उच्च ज्वरो आउने, जीउ दुख्ने, टोकेको स्थानमा कालो दाग र रातो रङको बिमिरा आउने हुन्छ । वर्षा, बाढी, पहिरो, भूकम्प गएको समयमा अव्यवस्थित बसोबास हुँदा यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् ।

झाडी आसपास ओसिलो स्थानमा खेल्ने बालबालिकामा पनि यसको जोखिम बढी हुने बालरोग विशेषज्ञ डा. अनिश जोशीले बताए । धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले कोभिडजस्तै लाग्ने ज्वरोका बिरामीमा स्क्रब टाइफस देखिन थालेको बताए ।

प्रकाशित : आश्विन १, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?