एकतर्फी सडकले समय र जोखिम दोब्बर

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक मन्थली–खुर्कोट खण्डमा झरेको पहिरो महिनौंसम्म पन्छाइएको छैन । पहिरो नपन्छाउँदा सडकमा एकतर्फीमात्र यातायात सञ्चालनमा छ । 

एकतर्फी सडकले समय र जोखिम दोब्बर

‘एकतर्फी सडकका कारण यात्रामा दोब्बर समय र दुर्घटनाको जोखिम बढेको छ,’ सवारी चालक मीनबहादुर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मन्थलीदेखि खुर्कोटसम्मको १५ किलोमिटर सडक खण्डमा अधिकांश स्थानमा पहिरो छ । ‘सानो–ठूलो गरी १ सय २० स्थानमा पहिरो झरेको छ’ श्रेष्ठ भन्छन्, ‘कतिपय स्थानमा पहिरोले गर्दा सडकमा सवारी आएको देख्न सकिने अवस्था छैन ।दैन । आधा घण्टामा पूरा हुने यात्रा एक घण्टा लाग्ने गरेको छ ।’

मन्थलीदेखि खुर्कोटसम्मको खण्डमा सडक डिभिजन कार्यालय खुर्कोट र मन्थली नगरपालिकाले पहिरो पन्छाएर एकतर्फी यातायात खुलाएका हुन् । पानी परिरहेकाले बाँकी पहिरो पन्छाएर दुईतर्फी बनाउनका लागि अझै केही दिन पर्खनुपर्ने अवस्था रहेको डिभिजन सडक कार्यालय खुर्कोटका प्रमुख किरण कार्कीले बताए । पानी परिरहेकाले थप पहिरो झर्ने क्रमसमेत छ, कार्कीले भने ‘पहिरो झरिहालेमा तत्कालै एकतर्फी बाटो खोल्ने तयारी अवस्थामा छौं , सवै पन्छाउनचाँहि केही समय लाग्छ ।’

उनका अनुसार डिभिजन कार्यालयमा अख्तियारी नआएकोले थप मेसिन जुटाएर पहिरो पन्छाउन कठिनाइ भएको हो । ‘उधारो तेल हालेर एउटा मेसिन चलाउँदै आएका छौं,’ उनले भने, ‘पानी रोकिएपछि त्यसैलाई परिचालन गरेर आवागमन सहज बनाउँछौं ।’ यस वर्ष रामेछापमा विगतका वर्षहरूमा भन्दा बढी पानी परेकाले अधिकांश सडकमा पहिरो झर्ने र भासिएको भाग धेरै छ ।

मन्थलीदेखि खिम्ती र मन्थलीदेखि रामेछापतर्फको सडकमा समेत दर्जनौं स्थानमा पहिरो झरेकाले यातायात एकतर्फी मात्र सञ्चालन भएको स्थानीय नारायणप्रसाद घिमिरेले बताए । घिमिरेका अनुसार मन्थली रामेछाप १३ किलोमिटर खण्डमा समेत ३० भन्दा बढी स्थानमा सडक धसिएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?