राजस्व १६ प्रतिशतले बढ्यो- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजस्व १६ प्रतिशतले बढ्यो

कान्तिपुर संवाददाता

हेटौंडा — आन्तरिक राजस्व कार्यालय हेटौंडाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व संकलनमा प्रगति गरेको छ । कोरोना महामारीका बीच पनि मकवानपुरका विभिन्न स्थानीय तहमा सञ्चालित उद्योग, कलकारखानामा अनुगमन गरी राजस्व संकलनलाई तीव्रता दिइएकाले १६ प्रतिशत बढी राजस्व संकलन भएको कार्यालय प्रमुख शालिकराम आचार्यले बताए ।

उनका अनुसार गत आवमा विभिन्न स्रोतको राजस्वबापत ५ अर्ब ५५ करोड ८४ लाख ६ हजार रुपैयाँ राजस्व उठेको छ । यो आँकडा अघिल्लो आवमा उठेको ४ अर्ब ७८ करोड ७३ लाख ४० हजार रुपैयाँभन्दा ७७ करोड १० लाख ६६ हजार रुपैयाँले बढी हो ।

कार्यालयले गत आवमा अन्तःशुल्क २ अर्ब ८६ करोड ९ लाख २१ हजार, मूल्य अभिवृद्धि कर १ अर्ब ३४ करोड ८ लाख ५४ हजार, आयकर १ अर्ब १० करोड ६९ लाख १३ हजार, ब्याजकर ४ करोड ६० लाख ८१ हजार र घरबहाल कर २ करोड ६२ लाख ९३ हजार रुपैयाँ संकलन राजस्व संकलन गरेको जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०७८ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वसभापति र सचिव वडामै पराजित

कान्तिपुर संवाददाता

रोल्पा — कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत रोल्पामा पूर्वसभापति र बहालवाला सचिव वडामै पराजित भएका छन् । क्षेत्रीय प्रतिनिधिका आकांक्षी उनीहरू भदौ २३ गते सम्पन्न वडा निर्वाचनमै पराजित भएका हुन् । 

रोल्पा कांग्रेसका पूर्वसभापति कृष्णबहादुर घर्तीमगरलाई उनको जन्मगाउँ माडी गाउँपालिका–२ घर्तीगाउँमा पौडेल पक्षीय कार्यकर्ताले पराजित गरे । शक्ति प्रदर्शन गरिएपछि भएको निर्वाचनमा पौडेल पक्षीय कार्यकर्ताले एकतर्फी जित हासिल गरेका थिए । तत्कालीन कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति भई करिब एक दशक नेतृत्व गरेका घर्तीमगरविरुद्ध वर्तमान सभापति अमरसिंह पुन मगर कस्सिएर लागेपछि घर्तीमगर वडाबाटै पराजित भएका हुन् ।

अघिल्लो जिल्ला अधिवेशनमा निर्वाचित हुन अनिच्छा देखाएका घर्तीमगर यसपटक निर्वाचित भएको भए केन्द्रीय सदस्य हुने बलियो सम्भावना थियो । उनी सभापति देउवाका विश्वासपात्र मानिन्छन् । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनी २०५९ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको कांग्रेस (प्रजातान्त्रिक) रोल्पाको जिल्ला सभापति हुँदै पार्टी एकीकरणपछि पनि जिल्ला सभापतिमा कायम थिए । साविकको घर्तीगाउँ गाविसका पूर्वअध्यक्ष घर्तीमगर कांग्रेसको १२ औं महाधिवेशनमा वर्तमान सभापति अमरसिंह पुनलाई पराजित गरी सभापति भएका हुन् ।

वर्तमान जिल्ला कार्यसमितिका सचिव मोहन परियार पनि त्रिवेणी गाउँपालिका–३ लिङदुङमा वडा निर्वाचनमै पराजित भएका छन् । सुरुमा देउवा पक्षीय उनी पछि पौडेल पक्षमा लागेकाले वडाबाटै पराजित भएको कांग्रेसजनको भनाइ छ । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा उनी साबिकको जिविस रोल्पाको उपसभापति पदमा मनोनीत भएका थिए ।

कांग्रेसका संस्थापक जिल्ला सभापति एवं पूर्वसांसद सुरेन्द्र हमाललाई पनि वडामा निर्वाचन जित्न सकस देखियो । सुनिलस्मृति–२ खुंग्रीबाट एक जना युवा उम्मेदवारले आफ्नो नाम फिर्ता लिएपछि मात्रै हमाल वडामा निर्वाचित भएका थिए । ‘कार्यकर्ताले निकै छानबिन गरेर प्रतिनिधि चयन गरेका छन्,’ कांग्रेसका जिल्ला उपसभापति एवं सभापतिका दाबेदार किशोर आचार्यले भने, ‘सबैतिर कडा प्रतिस्पर्धा भएको देखियो ।’

युवाहरूसँग कडा प्रतिस्पर्धा गरेर वडाबाट जित हासिल गर्ने अगुवा नेताहरूमा पूर्वसहायक मन्त्री भीमकुमारी बुढामगर, पूर्वसांसद लेखनाथ आचार्य, जिल्ला सभापतिका दावेदार मानबहादुर खत्री र जिल्ला पार्टीका संस्थापक कुलचन्द आचार्य रहेका छन् ।

पार्टीको रोल्पा नगर समितिका सभापति चन्द्रप्रकाश आचार्यले सबैलाई मिलाएर ल्याउन निकै पहल गर्नुपरेको बताए । ‘अहिले युवाहरूले नेतृत्व लिने कोसिस गरेको पाइयो । निकैपछि कम्युनिस्टको किल्ला रोल्पामा कांग्रेस पुनः जागेको स्पष्ट भएको छ,’ उनले भने । कांग्रेस जिल्ला सभापति अमरसिंह पुनले थबाङ गाउँपालिकाको एउटा वडाबाहेक जिल्लाका ७१ वडामै पार्टीको वडा समिति गठन भएको बताए ।

प्रकाशित : भाद्र २९, २०७८ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×