मुख्यमन्त्री दौडमा पाण्डे र बानियाँ

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको मुख्यमन्त्री बन्न विपक्षी गठबन्धनका नेताहरूको दौडधुप सुरु भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै विपक्षी गठबन्धनको सरकार बन्ने निश्चित भएको थियो ।

मुख्यमन्त्री दौडमा पाण्डे र बानियाँ

एकल बहुमत रहेको एमालेबाट मुख्यमन्त्री बनेकी शाक्य पार्टी विभाजन भएर १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) मा गएसँगै अल्पमतमा परेकी थिइन् । साना दलसँगको सहकार्यमा पनि शाक्य नेतृत्वको सरकार नजोगिने निश्चित भएपछि विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन तयारी थालेका हुन् ।

भावी मुख्यमन्त्री बन्ने दौडमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे छन् । मुख्यमन्त्री बन्न दुई नेताबीच रस्साकसी चलिरहेको अवस्थामा माओवादी केन्द्र भने मौन छ । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र हुन् भने पाण्डे पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनिकट मानिन्छन् ।

बानियाँ र पाण्डे मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्दै केन्द्रीय नेतृत्व रिझाउन अहिले काठमाडौंमै छन् । बानियाँलाई मुख्यमन्त्री बनाएर अगाडि बढ्दा सहज हुने भन्दै माओवादीले पनि उनकै पक्षमा लबिइङ गरिरहेको बुझिएको छ । वाग्मतीमा पार्टी विभाजनपछि पनि एमाले ठूलो दल रहेको अवस्थामा त्यसबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउनुपर्ने तर्क पनि प्रस्तुत भइरहेका छन् ।

कांग्रेस सचेतक छिरिङ दोर्जे लामाका अनुसार प्रदेश १ र वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादीले नेतृत्व गर्ने भएका कारण कुन प्रदेश कसले प्राप्त गर्छ भन्ने विषय एकै पटक टुंगिने सम्भावना रहेको बताए । पाण्डेले मुख्यमन्त्रीको दाबी गरिसकेका छन् भने बानियाँले कुनै प्रतिक्रिया दिएका छैनन् । प्रदेशसभामा २ सिट रहेको राप्रपाले पनि प्रतिक्रिया दिएको छैन ।

स्वतन्त्र सांसद प्रेम तामाङ जसपानिकट हुन् । जसपा गठबन्धनमै रहेका कारण उनी सत्तामा जाने बुझिएको छ । ‘हामीले ३ वटा प्रदेशमा मुख्यमन्त्री प्राप्त गरेका छौं । यस्तो अवस्थामा वाग्मतीमा हाम्रो दाबी हुँदैन । गठबन्धनका नेताहरू जसलाई रोज्नुहुन्छ, उहाँको नेतृत्वमा सरकारमा जान हामी तयार छौं,’ माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले भने । उनले शाक्य नेतृत्वको सरकारको आयु बढीमा एक साता भएको दाबी गरे ।

उनका अनुसार नयाँ सरकार गठनका लागि माओवादी, कांग्रेस, एकीकृत समाजवादी र विवेकशील साझाले संयुक्त गठबन्धन बनाएर अगाडि बढ्ने तय भएको छ । ‘विवेकशील साझाले सरकारमा सहभागी हुने विषय टुंग्याएको छैन । तर यो सरकारलाई विस्थापित गर्न सहमति भने जनाएको छ,’ जम्मकट्टेलले भने । सरकारले विश्वासको मत नलिने सार्वजनिक रूपमा घोषणा गरेसँगै विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गराउने र प्रदेश प्रमुखमार्फत विशेष अधिवेशन बोलाएर नयाँ सरकार निर्माण गर्ने तयारी गरेको छ ।

‘शाक्यले विश्वासको मत लिने प्रक्रियामा जानु अगाडि नै हामी गठबन्धनमा रहेका दलहरू प्रदेश प्रमुखलाई समावेदन गर्ने पक्षमा छौं,’ उनले थपे । २५ प्रतिशत सदस्यले हस्ताक्षरसहित समावेदन गरेर प्रदेश प्रमुखले १५ दिनभित्र विशेष अधिवेशन आह्वान गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यो व्यवस्थामा टेकेर विपक्षी गठबन्धन अगाडि बढ्ने तयारी गरिरहेको हो । तयारीअन्तर्गत संघीय सरकारले यसअघिका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाएर एकीकृत समाजावादीनिकट यादव शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

१ सय ९ सदस्यीय प्रदेशसभामा अब शाक्यको पक्षमा ४३ जना सांसद छन् । सरकार गठन गर्न ५५ सिट चाहिन्छ ।

प्रकाशित : भाद्र २६, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?