सिन्धुलीमा धमाधम खुल्दै विद्यालय

राजकुमार कार्की

सिन्धुली — कोरोनाको दोस्रो लहर फैलिएपछि बन्द भएका सिन्धुलीका विद्यालयहरू धमाधम खुल्न थालेका छन् । जिल्लाका ९ स्थानीय तहमध्ये कमलामाई र दुधौली नगरपालिका तथा मरिण, हरिहरपुरगढी, गोलन्जोर र फिक्कल गाउँपालिकाका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालनमा आएको छ । घ्याङलेख, तीनपाटन र सुनकोसी गाउँपालिकाले विद्यालय खोल्न अनुमति माग गरेका छन् ।

सिन्धुलीमा धमाधम खुल्दै विद्यालय

कमलामाईको नगर शिक्षा शाखा प्रमुख शंकर लुइँटेलका अनुसार नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका सबै कक्षा सञ्चालनमा आएका छन् । यसअघि कक्षा ८–१२ सम्मको पठनपाठन भने भइरहेको थियो । नगरक्षेत्रभित्र सामुदायिक ८४ वटा र संस्थागत २३ वटा विद्यालय छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कुल विद्यार्थीको ३३ प्रतिशत मात्रैको भौतिक उपस्थितिमा पढाउन अनुमति दिए पनि विद्यालयहरूले आफूअनुकूल कक्षा सञ्चालन गरिरहेका छन् ।

स्वास्थ्य मापदण्डलाई अनिवार्य गरी अनुगमनको व्यवस्था गरिएको लुइँटेल बताउँछन् । मरिण गाउँपालिकाका शिक्षा शाखा संयोजक नवराज बरालले ४८ वटा सामुदायिक र ४ संस्थागत विद्यालय खुलेको बताए । ‘एउटा कक्षालाई २ सत्रमा बाँडेर विद्यार्थीको भौतिक उपस्थिति ३३ प्रतिशत नबढ्ने गरी पठनपाठन सुरु भएको छ,’ उनले भने, ‘विस्तारै विद्यालयलाई सहज हुने गरी पूर्ण क्षमतामा खोल्न अनुमति दिइनेछ ।’ हरिहरपुरगढी गाउँपालिकाले भने जोरबिजोर प्रणालीबाट कक्षा सञ्चालन गरेको छ ।

लामो समयदेखि छात्रछात्राको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नभएको, सबै विद्यार्थीको पहुँचमा इन्टरनेट नभएको, कोरोना महामारीको जिल्लाको अवस्था विश्लेषण गर्दा घट्ने क्रममा रहेको र स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ बमोजिम विद्यालय सञ्चालन गर्न दिइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७८ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?