२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

पहिरोको जोखिममा विद्यालय

अनिश तिवारी

दोबङ, सिन्धुपाल्चोक — मुसलधारे वर्षा, दुवै छेउबाट पहिरो गइरहेछ, बीचमा छन् दुई विद्यालय भवन । आइतबार जुगल गाउँपालिका–५ बराम्ची दोबङस्थित दोबङ आधारभूत विद्यालय पुग्दा विद्यार्थी र शिक्षक कक्षाकोठाको झ्यालबाट बाहिर नियाल्दै गरेका भेटिए ।

कारण हो बाहिर झमझम पानी परिरहेको थियो । १७९ विद्यार्थी पढ्ने विद्यालयकी निमित्त प्रधानध्यापक रञ्जिता रायमाझी पहिरो खस्दै गरेको देखेपछि पढाउनु कि नपढाउनु भन्ने अलमलमा थिइन् । ‘यो पहिरो हाम्रा लागि विष बन्यो,’ उनले भनिन्, ‘भवन यहीं बन्यो । अब कहाँ लगेर पढाउनु ? साह्रै डर लाग्ने अवस्था बन्यो ।’

कोरोना संक्रमणको जोखिमबारे सचेत देखिए पनि पहिरोको त्रासकै कारण अभिभावकले बालबालिका विद्यालय पठाउनै छाडेको उनले बताइन् । उनका अनुसार २०७२ को भूकम्पले कमजोर बनाएको भूबनोटलाई बेवास्ता गरिएकाले जमिन भासिने र पहिरो जान थालेको हो । ‘जमिन भासिने र पहिरो जाने क्रम बढ्दै गएर विद्यालय उच्च जोखिममा परेको छ,’ उनले भनिन्, ‘वडादेखि गाउँपालिकासम्म गुहार्न बाँकी राखेका छैनौं तर सुनुवाइ भएको छैन ।’ कक्षा ७ मा पढिरहेकी घिचेकी १२ वर्षीया सुस्मिता तामाङले पहिरो हेर्दै पढ्दै गर्ने बानी नै लागेको बताइन् । ‘बर्खा लागेपछि पानी परेको परै छ । जमिन भासिएर खसिरहन्छ । पहिरो हेरेर डराइडराइ पढ्ने बानी बनिसकेको छ तर पहिरोले मान्छे मरेको र बेपत्ता भएको सुन्दा खुब डर लाग्छ,’ तामाङले भनिन् ।

विद्यालयसम्म पुग्न झन्डै डेढ घण्टा लाग्ने र दुई वटा ठाडो खोला तरेर जानुपर्ने भएकाले यहाँका अभिभावकले छोराछोरीलाई पढ्न पठाउन नसकेका झिर्गाउँका ज्यान दोर्जे लामाले बताए । ‘केही स्थानमा सडक भासिएको र पहिरो पनि गएको छ । विद्यालयमा पहिरोको त्रास छ । यस्तो अवस्थामा कसले जोखिम लेला र ?,’ उनले भने । विद्यालय नगएका अधिकांश बालबालिका घरायसी काममा व्यस्त हुने गरेका उनले सुनाए ।

जुगल–५ का अध्यक्ष सनत अधिकारीले विद्यालयको अप्ठेरोबारे थाहा पाएलगत्तै पहिरो रोकथामको प्रयास गरिरहेको दाबी गरे । गत असार १ मा आएको मेलम्ची र इन्द्रावतीको बाढीले ८ वटा विद्यालयलाई उच्च जोखिममा पारेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांक छ । ‘जिल्लाभर बाढीपहिरोको जोखिममा परेका विद्यालयका बालबालिकाले सहजै अध्ययन गर्न पाएका छैनन् । यसको विकल्पबारे छलफल हुँदै छ,’ इकाइ प्रमुख कृष्ण सुवेदीले भने । बाढीपहिरोको जोखिममा रहेका विद्यालय, सम्पूर्ण क्षतिबारेको विवरण माथिल्लो निकायमा पठाइसकेको उनले जनाए ।

प्रकाशित : भाद्र २३, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?