कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना नेतालाई जित्नै धौधौ

कांग्रेस प्रतिनिधि छनोटको चुनावमा नयाँ पुस्ता हाबी

सिन्धुली — फेरिएका मुद्दा र समयअनुसार सशक्त भएर अगाडि आउन नसकेका पुराना नेतालाई कांग्रेस प्रतिनिधिमा निर्वाचित हुन गाह्रो परेको छ । पूर्वस्वास्थ्यमन्त्री विपिन कोइराला सुनकोसी गाउँपालिका–१ को दुम्जाबाट क्षेत्रिय प्रतिनिधिका लागि भएको मतदानबाट तेस्रो मतसहित विजयी भएका छन् ।

पुराना नेतालाई जित्नै धौधौ

नेपाल विद्यार्थी संघका संस्थापक सभापति कोइराला सिन्धुलीको कांग्रेसमा दुई कार्यकाल सभापति र ०५१ सालमा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य भएका थिए । पुर्ख्यौली थलो सुनकोसीको दुम्जाबाट कांग्रेस क्रियाशील सदस्य भएका उनको वडामा क्षेत्रीय प्रतिनिधि खुल्ला र दलित प्रतिनिधिका लागि आकांक्षी बढी हुँदा मतदान भएको थियो ।

खुल्लातर्फको ६ जनाका लागि १० जनाको उम्मेदवारी परेको थियो । स्थानीय नेता कपिल कोइरालाले १ सय २४, देवराज नेपालले १ सय १७ मत पाउँदा पूर्वमन्त्री कोइराला १ सय १३ मत पाएर तेस्रो भएका थिए । दुई दशक अघिसम्म कांग्रेसको उपल्लो निकाय महासमिति सदस्यहरू छनोट गर्दा पूर्वमन्त्री कोइराला एकल रूपमा तोक्ने गर्थे । ‘महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको सूचीले कोइरालाको गोजी भरिएको हुन्थ्यो,’ कांग्रेस नेता मीनबहादुर श्रेष्ठले स्मरण गरे, ‘अहिले क्षेत्रीय प्रतिनिधि (बुथ) पहिलो खुड्किलोका लागि नै कठिन संघर्ष गर्नुपरेको छ ।’

बीपी र गिरिजाप्रसाद कोइरालाको खटनपटनबाट चल्ने पूर्वमन्त्री कोइराला पछिल्लो समय राजतन्त्रको वकालत गर्न थालेका थिए । ‘पुस्ता फेरिएको छ, राजतन्त्रभन्दा युवाहरूको चाहना गणतन्त्र नै भएकाले कोइराला ओरालो लाग्दै गएका हुन्,’ सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष शर्मा भन्छन्, ‘चार बीस हुन लागेका कोइरालाका धेरै दौतरी अहिले छैनन् । पछिल्लो पुस्तालाई आकर्षण गर्ने मुद्दाबाट टाढा भएपछि स्वाभाविक रूपमा पछि पर्नुको विकल्प हुन्न ।’

पूर्वसांसद मोहनप्रसाद बराल क्षेत्र नं. १ को कमलामाई नगरपालिका–१३ रानीबासबाट क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । केन्द्रिय सदस्य, संघ तथा प्रदेशका सांसद तथा उमेदवार, बहालवाला पाटी सभापति स्वतः क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेस विधानमा व्यवस्था छ । १३ औं महाधिवेशनका महासमिति सदस्य दिनेश अधिकारी भने दुधौली नगरपालिका–१ की २ मा नामावली भन्दाभन्दै क्षेत्रीय प्रतिनिधिबाट वञ्चित भएका छन् । दुधौली–९ मा क्षेत्रीय प्रतिनिधि खुलाका लागि मतदान हुँदा ८ जना आकांक्षी बाहिरिएका छन् । सिन्धुलीका नौ स्थानीय तहका ७९ वडामा शुक्रबार र शनिबार वडा अधिवेशन सम्पन्न भएको छ । कतै मतदान र कतै निर्विरोध गरेर ७९ वडा सभापतिसहित करिब एक हजार पाँच सय क्षेत्रीय प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत लिखतबहादुर खड्काले बताए ।

प्रकाशित : भाद्र २०, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?