२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

थातथलो छोड्दै मेलम्ची बाढीपीडित

‘बाढीले गाउँघरको अस्तित्व नै मेटायो । केहीको परिवार नै उजाडियो । आफ्नो भन्ने केही नरहेपछि कसको मन यहाँ अडियोस् ?’
बाढीलगत्तै करिब ७ सय परिवार बनेपा र काठमाडौं उपत्यकामा डेरा लिएर बस्दै
अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बुको सेमिसिदाङ हिमालको काख भेमेथाङ चौर सोहोरिएर आएको मेलम्ची बाढीले तटीय क्षेत्रमा रहेका सयौं स्थानीयको घरबास बगर तुल्यायो । बाटो, पुललगायत स्थानीय विकासका आधार क्षतिग्रस्त बने । व्यावसायिक रूपमा गरिएका माछापालन तथा कृषिकर्मको पनि नामोनिसान रहेन ।

थातथलो छोड्दै मेलम्ची बाढीपीडित

बाढीपहिरो थामिने र जनजीवन पुरानै अवस्थामा फर्किने आशमा बाढीपीडित दुई महिना त्रिपाल, टहरा, टेन्ट र छिमेकीकोमा आश्रय लिएर बसे । तर न कटान रोकियो न सरकारले नै पुनर्बासको व्यवस्था गर्‍यो । अहिले पीडितहरू बचेखुचेका सामग्री बोकेर काभ्रेका बजार क्षेत्र र काठमाडौं उपत्यका झर्न थालेका छन् । बुधबार काठमाडौं जान भन्दै परिवारसहित मेलम्ची बजार झर्दै गरेका भेटिए हेलम्बु गाउँपालिका–४ ग्याल्थुमका ५० वर्षीय शिव लामिछाने ।

‘घर पहिरोले पुरियो, खेतबारी मेलम्ची बाढीले बगर बनाइदियो । न बस्ने घर बच्यो न खाने गास नै । अब यहाँ बस्न मनै लागेन । बरु काठमाडौं गएर दुःखजेलो गरे बाँचिन्छ भन्ने लागेर हिँडियो,’ लामिछानेले भने । बाढीको उद्गमस्थलको अध्ययनपछि विज्ञले अझै जोखिम नहटेको प्रतिवेदन सार्वजनिक गरेयता लामिछानेसहित ग्याल्थुमवासी रातभर जागा बसेर बाढीको रेकी गरिरहका छन् । ‘तर यसरी कतिञ्जेल साध्ये चल्ने ?,’ उनले भने, ‘त्यही कारण नै राजधानीमा बस्ने जोरजाम मिलाएको हुँ ।’

बाढीअघि हेलम्बुका किउल, ग्याल्थुम, पाल्चोक तथा मेलम्ची क्षेत्र पर्यटकीय तथा कृषि उत्पादनका लागि आकर्षक मानिन्थ्यो । मेलम्ची तटीय क्षेत्रमा मत्स्य फार्म, व्यावसायिक कृषि खेती तथा अन्य खाद्य बालीको उत्पदानले स्थानीयलाई आर्थिक रूपमै आत्मनिर्भर बनाएको थियो । तर अहिले हेलम्बु र मेलम्ची नगरभित्र तटीय क्षेत्रमा एउटा मात्रै मत्स्य फार्म बचेको छ । बिघौं जग्गा कटान तथा बगर बनेको छ ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार बाढीका कारण हेलम्बु र मेलम्ची क्षेत्रमा ५ जनाले ज्यान गुमाए भने २० जना अझै बेपत्ता छन् । ‘बाढीले धेरैजसो गाउँघरको अस्तित्व नै मेटायो, केहीको परिवार नै उजाडियो । आफ्नो भन्ने केही नरहेपछि कसको मन यहाँ अडिन्छ र ?,’ छुट्टिने बेला लामिछानेले भने, ‘अब सबै भुलेर काठमाडौंमा कसरी बाँच्ने सोच्नुपर्छ ।’

बचेको झिटीझाम्टो बोकेर परिवारसँगै काठमाडौं जाँदै गरेकी हेलम्बु–७ चनौटेकी ३२ वर्षीया सुभद्रा रूपाखेतीलाई पनि अब गाउँ फर्कन मन छैन । ‘गाउँघर त अब बिरानो बन्यो । यहाँ त बगर मात्रै छ । कत्ति यही बगर हेरेर रोइरहनु ?,’ रूपाखेतीको अनुहारमा निराशा छचल्कियो, ‘काठमाडौं गए केही आफन्त छन्, दुःख गरिन्छ बिर्सिइन्छ पनि ।’ लामिछाने र रूपाखेतीको परिवारजस्तै गाउँघर छोड्ने बाढीपीडितको संख्या क्रमशः बढ्दै गएको छ । ‘धेरैजसो काठमाडौं त केही काभ्रेतिर पनि गएका छन् । बाढीको त्रास नरोकिएको देख्दा आस मारेर हामी पनि जान लागेका त हौं । नत्र कसलाई आफ्नो जन्मथलो छोड्न मन हुन्छ र ?,’ रुपाखेतीले थपिन् ।

हेलम्बुमा पहिचान गरिएका दुई सय २७ बाढीपीडित स्थानीय सरकार र दाताहरूले उपलब्ध गराएको त्रिपाल, टेन्टलगायत अस्थायी आवासमा थिए, धेरै जना अझै छन् । मेलम्ची नगरभरका १ सय ८० बाढीपीडितमध्ये अधिकांशको आश्रयस्थल विद्यालयबाट डेरामा सरेको छ । यीमध्ये कतिपय परिवार काठमाडौंतर्फ लागिसकेको मेलम्ची–११ मेलम्ची बजारका श्यामकृष्ण श्रेष्ठले बताए । उनी आफैं पनि परिवारसहित काठमाडौं जाने तयारीमा छन् । ‘अहिलेसम्म दर्जनभन्दा बढी परिवार सरिसके । यो संख्या केही दिनमै धेरै बढ्ने देखिन्छ,’ उनले भने ।

बाढीले हेलम्बुको चालिसे गाउँ, किउल, गणेशे, चनौटे र मेलम्ची नगरको फट्टे, सिमखेत, नहरे खोलाका बस्ती खण्डहरमा परिणत भएका छन् । हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकाका समेत गर्दा झन्डै १५ सय परिवार प्रत्यक्ष पीडित बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको तंथ्याकअनुसार बाढीलगत्तै करिब ७ सय परिवार विस्थापित भई काभ्रेको बनेपा, काठमाडौं, ललितपुर, भक्तपुरमा डेरा लिएर बसिरहेका छन् । हेलम्बु अध्यक्ष निमा ग्याल्जेन शेर्पा र मेलम्ची नगर प्रमुख डम्बरबहादुर अर्यालले विस्थापित भएका पीडित परिवारलाई पुनःस्थापना गराउन जुटिरहेको दाबी गरे ।

हेलम्बुभर कतै पनि आश्रयस्थल नभएका भनेर पहिचान गरिएका दुई सय २७ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा धमाधम अस्थायी आवास बनाइरहेको शेर्पाले बताए । गाउँपालिकाको मापदण्ड र डिजाइनमा सुरुआती चरणमा ७९ वटा घर बनाइने उनको भनाइ छ ।

त्यसैगरी, मेलम्चीले आवास पूर्ण क्षति भएका परिवारलाई ३० हजार र खोलाछेउ जोखिममा रहेकालाई २० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । ‘पूर्ण क्षति पुगेका व्यवसायीलाई १५ हजार र जोखिममा रहेकालाई १० हजार उपलब्ध गराइनेछ,’ अर्यालले भने । बाढीपीडितमध्ये दीर्घरोगी, गर्भवती र सुत्केरीलाई प्राथमिकता दिँदै साढे ७ हजार रुपैयाँ बराबरको राहत प्याकेज दिइरहेको उनले बताए ।

प्रकाशित : भाद्र १९, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?