कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हतियार चोरी मुद्दामा दुई सैनिकलाई सफाइ

साढे २ वर्षपछि कारागारबाट छुटे पनि तीन वर्ष बढुवा रोक्का हुने
ब्यारेकबाट हराएको हतियार किनेको आरोपमा समातिएर मुद्दा दायर भएका दुई सर्वसाधारणले दुई तहको अदालतबाट सफाइ पाए पनि हतियार चोरेको आरोप लागेका दुई सैनिकले भने सैनिक अदालतबाट दोषी ठहर भएर जेल सजाय भोगिरहेका थिए ।
रमेशकुमार पौडेल

चितवन — हतियार चोरी मुद्दामा झण्डै अढाई वर्षदेखि भरतपुर कारगारमा रहेका नेपाली सेनाका अमलदार लवकुमार गुरुङ र सिपाही सरोज तामाङले पुनरावेदनबाट भने सफाइ पाएका छन् । सफाइ पाएलगत्तै उनीहरु शुक्रबार नै रिहा भएको भरतपुर कारगारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । दुवै जनालाई कार्यरत कालिबहादुर गणकै जिम्मामा छाडेको उनले बताए । 

हतियार चोरी मुद्दामा दुई सैनिकलाई सफाइ

ब्यारेकबाट हतियार चोरी अभियोगमा दोषी ठहर्‍याइएका नेपाली सेनाका अमलदार लबकुमार गुरुङ र सिपाही सरोज तामाङले सफाइ पाएका छन् । झन्डै साढे २ वर्षदेखि भरतपुर कारगारमा रहेका उनीहरू पुनरावेदनबाट सफाइ पाएर शुक्रबार नै रिहा भएका छन् । भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्लेले दुवैलाई उनीहरू कार्यरत कालीबहादुर गणकै जिम्मामा छाडेको जानकारी दिए ।

‘पुरानो मुद्दाको फैसला मिलेको नदेखिएको हुँदा उनीहरूलाई तीन वर्ष बढुवा रोक्का हुने, अन्य सजाय नहुने भन्ने जंगी अड्डाको पत्र प्राप्त भयो । त्यसैका आधारमा कारागार मुक्त गरिसक्यौं,’ प्रमुख काफ्लेले भने । उनका अनुसार ड्युटी सही तरिकाले नगरेको भन्ने आधारमा मात्रै उनीहरूलाई तीन वर्षसम्म बढुवा रोक्काको निर्णय भएको हो । पाटन उच्च अदालतका न्यायाधीश लोहितचन्द्र शाहको अध्यक्षतामा गठित रक्षासचिव बोगेन्द्रराज शर्मा पौडेल र सेनाको प्राड विवाक प्रमुख उपरथी रत्नप्रकाश थापासहितको सैनिक विशेष अदालतको इजलासले जेलमुक्त गर्ने फैसला गरेको हो ।

समरी जनरल सैनिक अदालत, मुकाम कालीबहादुर गण भरतपुरले २०७५ चैत १८ गतेबाट गणना हुने गरेर गुरुङलाई १० वर्ष र तामाङलाई सात वर्ष कैद सजाय तोकेको थियो । भरतपुरमा तैनाथ कालीबहादुर गणबाट २०७५ पुस ५ देखि हराएको बडी नम्बर केआर १००७९२ र बट नम्बर (ख) २५ को एसएमजी हतियारका सम्बन्धमा उनीहरूलाई सजाय तोकिएको थियो । त्यसविरुद्ध उनीहरूले सैनिक मुख्यालयमा पुनरावेदन गरेका थिए । हराएको सोही हतियार प्रयोग गरी गत साउन ७ मा चितवनमा नेपाली सेनाको ‘दि फेमस महेन्द्र दल गण’ मा कार्यरत हुद्दा भरत गुरुङको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा सोही गणका सिपाही गंगाधर ढकाललाई चितवन प्रहरीले पक्राउ गरेको थियो । ढकालकै बयानका आधारमा खोजी गर्दै जाँदा भरतपुरको बीसहजारी ताल नजिकको जंगलमा हतियार फेला परेको थियो । ढकाललाई बुधबारमात्रै सैनिक अदालतले गुरुङ हत्या अभियोगमा २५ वर्षको जन्मकैद र सरकारी सेवामा अयोग्य हुने फैसला सुनाएको छ । ढकालले आफू एक्लैले भरतपुर ब्यारेकबाट हतियार चोरेको स्वीकार गरेका थिए ।

हराएको हतियारका सम्बन्धमा नयाँ तथ्य आएसँगै गुरुङ र तामाङले सफाइ पाएका हुन् । उक्त घटनाका सम्बन्धमा टाइचिन भन्ने उदयपुर चौदण्डीगढी–१ का पवन गुरुङ र त्रियुगा–४ की तारा तामाङविरुद्ध प्रहरी अनुसन्धानपछि चितवन जिल्ला अदालतमा २०७५ चैत १८ मा मुद्दा परेको थियो । मुद्दाको सिलसिलामा भएको अनुसन्धानमा लबकुमार हतियार चोरी घटनाको मुख्य योजनाकार र सरोजलाई सहयोगीका रूपमा प्रस्तुत गरिएको थियो । तारा तामाङ लबकुमारकी जेठी सासू हुन् । भरतपुर एयरपोर्ट रोडमा आएर लबकुमारबाट ताराले नै हतियार लगेको भनेर मुद्दा दायर गरिएको थियो । ताराले हतियार ल्याएर पवनलाई दिएको भन्ने अभियोग थियो । तर, अदालतमा यो प्रमाणित हुन सकेन । ‘अरू दुई जना सैनिक भएका कारण उनीहरूविरुद्ध सैनिक अदालतमै मुद्दा दायर भयो । यहाँ दायर भएको मुद्दामा ०७६ मंसिर २० मा फैसला आएको छ । तारा र पवनले सफाइ पाएका छन्,’ चितवन जिल्ला अदालतका स्रेस्तेदार ईश्वर आचार्यले भने । यो आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन पनि गरेको थियो । उच्च अदालत पाटनको हेटौंडा इजलासले २०७७ चैत्र १२ मा चितवन जिल्ला अदालतको फैसला नै सदर गरेको छ । ब्यारेकबाट हराएको भनिएको हतियार किनेको आरोपमा समातिएर मुद्दा दायर भएका दुई सर्वसाधारणले दुई तहको अदालतबाट सफाइ पाए पनि हतियार चोरेको आरोप लागेका दुई सैनिक भने जेल सजाय भोगिरहेका थिए ।

प्रकाशित : भाद्र १८, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?