सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध - वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यातायात अवरुद्ध 

राजकुमार कार्की

सिन्धुली — मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्डअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैबार नजिकको अक्करे भीरमा फेरि पहिरो खस्दा बिहीबार बिहानबाट यातायात अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसार बुधबार रातिको वर्षाले अक्करे भीरमा पहिलेकै स्थानमा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । यसअघि सोही स्थानमा पहिरो खस्दा चार दिन यातायात अवरुद्ध भई दुई दिनअघि मात्र खुलेको थियो ।

अक्करे भीरमा करिब तीन सय मिटर क्षेत्रमा पहिरो खसेको छ । लामो क्षेत्रफलमा पहिरो खसेकाले तत्काल यातायात सुरु हुने सम्भावना नरहेको सिन्धुली प्रहरीका प्रवक्ता डीएसपी मनोजकुमार लामाले जानकारी दिए । पहिरो पन्छाउनका लागि गोलन्जोर गाउँपालिकालाई एक्स्काभेटर पठाइदिन अनुरोध गरिएको उनले जनाए ।


प्रकाशित : भाद्र १७, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

समातिए मोटरसाइकल चोर

माेटरसाइकल चोरीमा पक्राउ परेकाहरूको मोबाइल जाँच गर्दा उनीहरू नै अवैध काठ कटानीमा समेत संलग्न रहेको पाइयो
राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमाडीको कालीमाई मन्दिर, धुराफाँट र बसपार्क गरी तीन स्थानमा सवारी जाँच हुँदै थियो । पूर्वतर्फको रानीखोलातिरबाट दुइटा मोटरसाइकल बत्तिएर आए । हेलमेट नलगाई मोटरसाइकल चलाएकाहरूलाई प्रहरीले सोधपुछ गर्‍यो । 


दुईवटा मोटरसाइकल साँचो बिनै स्टार्ट गरेर ल्याइएका थिए । प्रहरीले ती मोटरसाइकल चोरीका रहेको पत्तो पाइहाल्यो । प्रहरीले खानतलासी अझ बढायो । अघिल्लो मोटरसाइकलका चालकको मोबाइलमा जंगलमा काठ काटिरहेको भिडियो फेला पर्‍यो । बुझ्दै जाँदा उनीहरू काठको अवैध कटानीमा समेत संलग्न रहेको पाइयो । एउटा घटनाको छानबिन गर्दा अर्को घटनाबारे समेत पत्ता लागेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले सुनाए । ‘लहरो तान्दा पहरो हल्लियो भनेझैं चोरीको आरोपमा नियन्त्रणमा लिइएका उनीहरू अवैध काठ कटानमा समेत संलग्न भएको पाइयो,’ उनले भने ।

कमलामाई नगरपालिका–५ सिलामेका १८ वर्षका सुमन श्रेष्ठ, मनोज विक र अनिश बम्जनलाई प्रहरीले मोटरसाइकल चोरी र अवैध काठ कटानको आरोपमा पक्राउ गरेको छ । लामाका अनुसार सिलामेकै टोपबहादुर घिसिङको घरअगाडि पार्किङ गरिएको बा९२प ६७३३ र बा६५प २८२३ नं को मोटरसाइकल उनीहरूले चोरी गरेका थिए ।

‘समूहका नाइके सुमनले बोकेको रेडमी ९ मोबाइलमा जंगलमा सालको रुख काटेको भिडियो फेला पर्‍यो,’ लामाले सुनाए, ‘उनीहरूकै साथी अर्का स्थानीय १८ वर्षकै हिरा श्रेष्ठसमेत मिली कनपा–५ कै सरस्वती सामुदायिक वनको जंगलबाट गएको ९ गते पाँचवटा हरियो साल काटेका रहेछन् ।’

प्रहरीका अनुसार कटान भएको काठ २३२.१६ क्युफिट काठ छ । जसको बजार मूल्य ९ लाखभन्दा बढि हुन्छ । काठ कटानमा संलग्न भई फरार रहेका हिरा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका तीनै जनालाई चोरी मुद्दामा कारबाहीका लागि जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको लामाले जानकारी दिए । काठ कटानमा संलग्न श्रेष्ठलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।

प्रकाशित : भाद्र १६, २०७८ १३:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×