समातिए मोटरसाइकल चोर
सिन्धुली — सिन्धुलीमाडीको कालीमाई मन्दिर, धुराफाँट र बसपार्क गरी तीन स्थानमा सवारी जाँच हुँदै थियो । पूर्वतर्फको रानीखोलातिरबाट दुइटा मोटरसाइकल बत्तिएर आए । हेलमेट नलगाई मोटरसाइकल चलाएकाहरूलाई प्रहरीले सोधपुछ गर्यो ।
दुईवटा मोटरसाइकल साँचो बिनै स्टार्ट गरेर ल्याइएका थिए । प्रहरीले ती मोटरसाइकल चोरीका रहेको पत्तो पाइहाल्यो । प्रहरीले खानतलासी अझ बढायो । अघिल्लो मोटरसाइकलका चालकको मोबाइलमा जंगलमा काठ काटिरहेको भिडियो फेला पर्यो । बुझ्दै जाँदा उनीहरू काठको अवैध कटानीमा समेत संलग्न रहेको पाइयो । एउटा घटनाको छानबिन गर्दा अर्को घटनाबारे समेत पत्ता लागेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले सुनाए । ‘लहरो तान्दा पहरो हल्लियो भनेझैं चोरीको आरोपमा नियन्त्रणमा लिइएका उनीहरू अवैध काठ कटानमा समेत संलग्न भएको पाइयो,’ उनले भने ।
कमलामाई नगरपालिका–५ सिलामेका १८ वर्षका सुमन श्रेष्ठ, मनोज विक र अनिश बम्जनलाई प्रहरीले मोटरसाइकल चोरी र अवैध काठ कटानको आरोपमा पक्राउ गरेको छ । लामाका अनुसार सिलामेकै टोपबहादुर घिसिङको घरअगाडि पार्किङ गरिएको बा९२प ६७३३ र बा६५प २८२३ नं को मोटरसाइकल उनीहरूले चोरी गरेका थिए ।
‘समूहका नाइके सुमनले बोकेको रेडमी ९ मोबाइलमा जंगलमा सालको रुख काटेको भिडियो फेला पर्यो,’ लामाले सुनाए, ‘उनीहरूकै साथी अर्का स्थानीय १८ वर्षकै हिरा श्रेष्ठसमेत मिली कनपा–५ कै सरस्वती सामुदायिक वनको जंगलबाट गएको ९ गते पाँचवटा हरियो साल काटेका रहेछन् ।’
प्रहरीका अनुसार कटान भएको काठ २३२.१६ क्युफिट काठ छ । जसको बजार मूल्य ९ लाखभन्दा बढि हुन्छ । काठ कटानमा संलग्न भई फरार रहेका हिरा श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलसहित नियन्त्रणमा लिइएका तीनै जनालाई चोरी मुद्दामा कारबाहीका लागि जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थपी अनुसन्धान भइरहेको लामाले जानकारी दिए । काठ कटानमा संलग्न श्रेष्ठलाई कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।
प्रकाशित : भाद्र १६, २०७८ १३:३४