२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मुख्यमन्त्री शाक्यविरुद्ध विपक्षीको मोर्चाबन्दी

तत्कालै प्रदेशसभा बैठक नडाके विशेष अधिवेशन माग गर्ने तयारी
सुवास विडारी

मकवानपुर — नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै वाग्मती प्रदेशमा मुलुककै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी अष्टलक्ष्मी शाक्यको पद संकटमा परेको छ ।

मुख्यमन्त्री शाक्यविरुद्ध विपक्षीको मोर्चाबन्दी

एमाले उपाध्यक्ष रहेकी शाक्य संविधानको धारा १६८ (१) अनुसार बहुमतका आधारमा मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । त्यसका आधारमा उनले विश्वासको मत लिनु पर्दैनथ्यो । तर एमाले विभाजन भएर नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै शाक्यको सरकार अल्पमतमा पर्ने देखिएको छ ।

१ सय ९ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । हालको अवस्थामा दुई जनाले मात्रै अर्को दल रोजे मुख्यमन्त्रीको पद धरापमा पर्नेछ । तर एमालेका आधा दर्जनभन्दा बढी सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) मा खुलिसकेका छन् । केही अझै खुल्ने क्रममा छन् । यस्तोमा शाक्यले अब सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको छ । त्यसका लागि नयाँ दल दर्ता भएको औपचारिक पत्र निर्वाचन आयोगबाट प्रदेशसभामा प्राप्त हुनुपर्छ ।

पत्र प्राप्त भएको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । शाक्यले विश्वासको मत नलिए विपक्षी दलबाट अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने हुन सक्छ । एमाले एकढिक्का हुँदा अध्यक्ष केपी शर्मा ओली पक्षमा ३४ र माधवकुमार नेपाल पक्षमा २२ सांसद थिए । प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र एक सांसद छन् ।

केन्द्रमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धन रहेकाले प्रदेशमा पनि यही गठबन्धन सरकारमा आउने निश्चित छ । कांग्रेस र माओवादी केन्द्रसँग नमिल्दा साना दललाई मात्र समेटेर एमालेले सरकार बनाउन सक्ने अवस्था छैन । मुख्यमन्त्री शाक्य एकीकृत समाजवादीतर्फ नखुलेको खण्डमा कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनले उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने संकेत विपक्षी सांसदले गरिसकेका छन् । ‘मैले एमालेको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु । दल परिवर्तन गर्ने मनस्थितिमा छैन । सरकार ढल्छ भन्ने पनि चिन्ता छैन । मुख्यमन्त्री जोगाउन पार्टी परिवर्तन गर्दिनँ । यो मबाट हुँदैन । पद पाए पनि नपाए पनि यही पार्टीमै रमाउँछु,’ शाक्यले भनिन् ।

उनले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहने बताइन् । ‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीति गर्दै आएको छु । पद र सत्ताका लागि राजनीति गरेको होइन । फुटको पक्षमा छैन । नयाँ पार्टीमा हस्ताक्षर गर्न सक्दिनँ । यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन् ।

प्रदेश सरकारविरुद्ध लामो समयदेखि मोर्चाबन्दी गरिरहेका विपक्षी दलहरूले भने शाक्यविरुद्ध पनि एउटै कित्तामा उभिने बताएका छन् । माओवादी केन्द्र, कांग्रेस र विवकेशील साझा शाक्यको नेतृत्वको सरकारविरुद्ध एउटै कित्तामा उभिने भएका हुन् । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले वर्तमान सरकार गणितीय हिसाबमा अल्पमतमा परिसकेको र अब सदनबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको बताए । ‘विश्वासको मत लिनुपर्ने अवस्था देखिएपछि हतारमा सदनको अधिवेशन अन्त्य गरिएको छ । तत्कालै सदन नबोलाए हामी विशेष अधिवेशनको माग गर्नेछौं,’ उनले भने । उनले शाक्य पनि ‘ओलीपथ’ मा हिँड्न सुरु गरेको भन्दै यो अत्यन्त खेदजनक भएको टिप्पणी गरे ।

कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा विपक्षीहरूले आन्तरिक कसरत सुरु गरिसकेको पुष्टि गरे । ‘हामी पार्टी केन्द्रीय नेतृत्वसँग छलफलमा छौं,’ उनले भने । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शाक्यलाई मुख्यमन्त्रीबाट प्रक्रियागत रूपमा हटाइने बताए । ‘हामीसँग प्रदेशसभामा २१ सदस्य छन् । अझै थप्ने कोसिसमा छौं । यो सरकार ढल्छ,’ उनले भने, ‘गठबन्धनमा रहेका ३ पार्टी मिलेर नयाँ सरकार बनाउँछौं ।’

प्रकाशित : भाद्र १५, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?