२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

भरतपुरमा विपद् व्यवस्थापन गर्न ५ कार्यविधि

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी ५ वटा कार्यविधि पारित गरेको छ । महानगरले आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, राहत मापदण्ड र आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास निर्देशिका कार्यपालिकाबाट पारित गरेको हो । त्यसैगरी, आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यविधि पनि पारित गरिएको छ ।

गएको फागुनमा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र युरोपेली युनियनका राजदूत नोना डिप्रेले आपतकालीन कार्य सञ्चालन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेका थिए । केन्द्रका सम्पर्क व्यक्ति बालकृष्ण थपलियाले महानगरबाट पारित भएका कार्यविधिहरुले आपत्–विपत्‌को छरितो व्यवस्थापनमा सहयोग पुग्नुका साथै विपद्का घटना र जोखिम कम गर्न सहयोग पुग्ने बताए ।

तीव्र सहरीकरण हुँदै गरेको भरतपुरमा बाढी र डुबानका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । निकुञ्जको आडमा भएका कारण वन्यजन्तुबाट डर पनि छ । नारायणी र राप्तीजस्ता ठूला नदीका कारण हुने जोखिमले बर्खायाममा त्रास बढ्ने गर्छ । यसका साथै महानगर क्षेत्रमा वर्षमा ८० वटासम्म आगलागीका घटनाहरु हुने गरेका छन् ।

सहरी विपद् पूर्वतयारी परियोजनाले भरतपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरेको हो । ‘परियोजनाले महानगरको विपद् व्यवस्थापन क्षमतालाई बढाउने उद्देश्य राखेको छ । समुदायलाई सीप र ज्ञान दिएर विपद्बारेको बुझाइमा परिवर्तन, विपद् व्यवस्थापनमा जागरुक र उद्धार, राहतमा अग्रसर गराउने योजना छ,’ परियोजनाका सूचना व्यवस्थापन अधिकृत विराज पोखरेलले भने ।

प्रकाशित : भाद्र ११, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?