१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

जग्गा भाडा र प्लटिङबारे अख्तियारले माडी नगरपालिकालाई माग्यो जवाफ

कान्तिपुर संवाददाता

चितवन — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको माडी नगरपालिकालाई नगरभित्रका जग्गा विभिन्न व्यक्ति र कम्पनीलाई भाडामा लगाएको विषय र जग्गा प्लटिङको स्वीकृति दिएको सम्बन्धमा जवाफ मागेको छ । आयोगको काठमाडौंस्थित टंगाल कार्यालयले साउन ८ मा नगरपालिकालाई पत्राचार गरेको थियो । नगरपालिकामा उक्त पत्र साउन २४ मा दर्ता भएको छ । 

जग्गा भाडा र प्लटिङबारे अख्तियारले माडी नगरपालिकालाई माग्यो जवाफ

पत्रमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका जग्गाहरू अनधिकृत रुपमा भाडामा लगाएको, नगरका अन्य ६ स्थानका सार्वजनिक जग्गा नियम विपरित भाडामा लगाएको र वडा–५ को ५० बिघा जग्गा एनआरएनको पार्टनरलाई ४९ वर्षका लागि भाडामा लगाएको भन्नेजस्ता उजुरी परेको उल्लेख छ । जग्गा प्लटिङका विषयमा पनि बुझ्न आवश्यक भएको पत्रमा जनाइएको छ । माडी–३ को कित्ता नम्बर ३९ को १६ बिघा १ कट्ठा २ धुर जग्गा ट्वान्टी वान ग्रुपलाई आवासीय प्रयोजनका लागि कित्ताकाट तथा प्लटिङका लागि स्वीकृति दिएको भन्दै उजुरी परेको अख्तियारको पत्रमा उल्लेख छ । वडा–३ कै कित्ता नम्बर १३१ को ४० बिघा जग्गा नगरपालिकाको स्वीकृतिमा प्लटिङ भएको समेत दाबी गरिएको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्लटिङ रोकेको समयमा पनि माडीका विभिन्न स्थानहरूका जग्गा प्लटिङका लागि सिफारिस र स्वीकृति दिएको, जग्गा कित्ताकाटका लागि माडीको नापी तथा मालपोत कार्यालयको पनि चलखेल भएको भनेर उजुरी परेको अख्तियारले जनाएको छ । यी विषयमा १५ दिनभित्र जवाफ दिन आयोगले नगरपालिकालाई आदेश गरेको छ । ‘उजुरीमा औंल्याइएका नगरपालिकाभित्र प्लटिङ अनुमति दिएको, विभिन्न ठाउँका जग्गाहरू मनोमानी रुपमा भाडामा लगाएको, मन्त्रालयले कित्ताकाट रोकेको समयमा पनि मालपोत तथा नापी कार्यालयबाट कित्ताकाट तथा प्लटिङ जारी रहेको विषयमा के कसो भएको हो रु कार्यालयको एकीन राय प्रतिक्रियासहितको जवाफ पत्र प्राप्त भएको मितिले १५ दिनभित्र आयोगको अनुसन्धान महाशाखा–२ मा उपलब्ध गराउनू,’ पत्रमा भनिएको छ ।

माडी नगर प्रमुख ठाकुर ढकालले अख्तियारको पत्रका बारेमा आफू जानकार नभएको हुँदा प्रशासकीय अधिकृतसँग बुझ्न भने । प्रशासकीय अधिकृत अर्जुन गौतमले अख्तियारको पत्र आएको पुष्टि गरे । ‘उजुरी परेको भन्ने रहेछ । अख्तियारले पत्र काटेर सोधेको छ । प्रक्रियाका हिसाबले यो सामान्य विषय हो । मितिभित्रै हामी अख्तियारलाई आफ्नो कुरा राख्छौं,’ गौतमले भने । नगर प्रवक्ता शिवहरि सुवेदीले नगरपालिकाबाट कोही कसैलाई व्यक्तिगत हितलाई फाइदा पुग्ने गरेर गलत काम नभएको दाबी गरे ।

प्रकाशित : श्रावण २९, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?