बसाइँ सरी आउनेलाई अनुदान

कान्तिपुर संवाददाता

मकवानपुर — गत वर्ष रामकुमार श्रेष्ठ हेटौंडा उपमहानगरपालिकाबाट मकवानपुरगढीमा बसाइँ सरे । बसाइँ सरेको भन्दै उनलाई गाउँपालिकाले अनुदानस्वरूप ५० हजार रुपैयाँ दियो । उक्त रकमले अहिले उनी हाँसपालन गरिरहेका छन् ।

‘अनुदानकै रकमले ५ सयवटा हाँस पालेको छु,’ उनले भने । अन्यत्रबाट बसाइँसराइ गरेर आउनेलाई अनुदान दिने गत आवको योजनाले सफलता पाएको गाउँपालिकाको दाबी छ । गत वर्ष १४ परिवार भित्रिएका थिए ।

यसरी बसाइँ आउनेलाई कृषि र पशुपन्छी पालन गर्न प्रोत्साहनस्वरूप प्रतिपरिवार ५० हजार रुपैयाँ अनुदान दिने गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले बताए । अन्य पालिकावासीलाई आफ्नो पालिकामा आकर्षण गर्न यस्तो नीति अघि सारिएको उनको भनाइ छ । चालु आवमा पनि उक्त व्यवस्थालाई निरन्तरता दिइएको छ । गत आवमा यो शीर्षकमा ७ लाख रुपैयाँ बजेट छुट्याइएकामा यो वर्ष बढाएर १४ लाख रुपैयाँ पुर्‍याइएको छ । यो योजनासँगै गाउँपालिकाबाट अन्यत्र बसाइँ जाने क्रम पनि रोकिएको उनले दाबी गरे ।

प्रकाशित : श्रावण १९, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?