बीपी राजमार्गमा खहरेले सधैंको सकस

खहरेको निकासका लागि पुल नबनाउँदा सडकबाटै भेल बगेर यातायात अवरूद्ध हुने समस्या
राजकुमार कार्की

सिन्धुली — विराटनगरबाट काठमाडौं जाँदै गरेका माइक्रो बसका चालक सुवास थिङ कमलामाई नगरपालिका–९ को भिमान आएपछि करिब तीन घण्टा अड्किए । यो ३ दिनअघिको घटना हो ।

बीपी राजमार्गमा खहरेले सधैंको सकस

भिमानमा बीपी राजमार्ग हुँदै बग्ने खहरे उर्लिएका कारण चालक थिङ र यात्रुहरूले लामै प्रतीक्षा गर्नुपरेको हो । खहरेमा पानीको बहाव घटेपछि गन्तव्यतर्फ लागेका उनले खहरेमा ठूला–ठूला ढुंगा र गेग्रानसहितको बाढी आउने भएकाले जोखिम मोलेर वारपार गर्नु उचित नहुने तर्क गरे ।

बर्खा लागेसँगै पटक–पटक खहरेको बाढीले यात्रा अवरुद्ध हुने गरेको उनले सुनाए । ‘ठाडो खोला हुन्छ, कहिले बाढी घट्ला भनेर पर्खिएर बस्नुपर्छ,’ उनले भने, ‘अरू विकल्प पनि छैन ।’ भिमान चुरेदेखि माईस्थानसम्मको १५ किलोमिटर क्षेत्रमा दर्जनौं खहरे छन् । सबै खहरेमा पुलको सट्टा लच्का निर्माण गरिएको छ । यस्तो स्थानमा बाढी सडकबाटै बग्ने भएकाले यातायातका साधन सञ्चालन हुन सक्दैनन् ।

‘खहरेको शिर छोटो हुने भएकाले दर्केर केहीबेर पानी पर्नासाथ बाढी आइहाल्छ,’ भिमानका सीताराम ढुंगेलले सुनाए, ‘पानी पर्न रोकिएको केहीबेरमै बाढी घट्छ अनि गाडी वारपार हुन्छन् । त्यतिबेलासम्म राजमार्गमा गाडीको लामो लर्को लागिसक्छ ।’ ठूला खहरेको निकासका लागि समेत लच्का नै बनाइएकाले कहिलेकाहीँ भने लामै समय कुर्नुपर्ने उनको भनाइ छ । खहरेमा बाढी आएपछि सडकमा गेग्रान र ढुंगा आएर थुप्रिनु अर्को समस्या हो ।

जापान सरकारको अनुदान सहयोगमा निर्मित बीपी राजमार्गको सिन्धुलीमाडी–बर्दिवबास सडक खण्डको ३७ किलोमिटर क्षेत्रमा सबैभन्दा बढी खहरे खोला छन् । माईस्थानदेखि भिमानसम्मको १० किमिभित्रै २० वटाभन्दा बढी खहरेको निकासका लागि लच्का बनाइएको छ । ‘चुरेक्षेत्र भएकाले यहाँ धेरै खहरे बग्छन्,’ स्थानीय बुद्धि श्रेष्ठले भने, ‘मनसुन सुरु भएपछि खहरेमा बाढी आएर सवारी अवरुद्ध हुनु सधैंको समस्या हो ।’ चुरेबाट आउने खहरेमा मात्र होइन, ठूला खोलाहरूको निकासका लागि पनि सडकमा पुल नहाली लच्काले काम चलाइएको छ । सुनकोसी गाउँपालिकाको नेपालथोक नजिकको घ्याम्पेखोलामा रहेको लच्कालाई बर्सेनि बाढीले बगाउँछ ।

‘कहिलेकाहीँ ठूलै पानी परेको बेला त खोलाको जलस्तर घट्नलाई २ दिनसम्म पनि लाग्छ,’ बीपी राजमार्ग यातायात सेवा समितिका अध्यक्ष कान्छामान बलले भने, ‘जोखिम मोलेर पार गर्न खोज्दा सवारीसाधन बगाउने गरेको छ ।’

बर्दिबास–सिन्धुली–बनेपा सडक आयोजनाका इन्जिनियर रमेश आचार्य बाढी घटेपछि थुप्रिएको गेग्रान र ढुंगालाई सकेसम्म छिटो पन्छाएर यातायात सेवा खुलाउने गरेको बताउँछन् । ‘हामीलाई जानकारी प्राप्त हुनासाथ डोजर, एक्स्काभेटरलगायत उपकरण प्रयोग गर्छौं,’ उनले भने, ‘खहरेमा पुल नहुँदा समस्या भएको छ, चुरे क्षेत्रलाई पायक पर्ने गरी राजमार्गको लच्का सफा गर्न भिमानमा मेसिन राखेका छौं ।’

ग्रामीण सडकको पनि बेहाल

स्थानीय तहका मुकामसम्म पुग्ने ग्रामीण सडकहरू बर्खाले भत्किँदा यातायात सेवा सञ्चालनमा समस्या भएको छ । सदरमुकाम सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकाको केन्द्र चकमके, गोलन्जोर गाउँपालिकाको खनियाखर्क–कमारेभन्ज्याङ, बीपी राजमार्गअन्तर्गत सोलाभन्ज्याङ–नागीमझुवा, घ्याङलेख गाउँपालिकाको पीपलभन्ज्याङ–हायुटारलगायत ग्रामीण सडकमा पहिरो खस्दा र हिलाम्य हुँदा सवारीसाधन सञ्चालन हुन नसकेका हुन् ।

तीनपाटनको माझीटारदेखि जिर्घा खोलासम्म १२ किमि सडक रोपाइँ गर्न तयार पारिएको जस्तै गरी हिलाम्य भएको शिक्षक जनार्दन कोइरालाले गुनासो गरे । वाग्मती प्रदेश सरकारको ३५ लाख रुपैयाँमा ठेक्का लागेर गत वर्षदेखि काम सुरु भए पनि लगातारको वर्षाका कारण पैदल हिँड्नसमेत नसक्ने गरी सडक क्षतविक्षत भएको उनले बताए ।

बीपी राजमार्गको खनियाखर्कदेखि कमारेभन्ज्याङ जोड्ने ग्रामीण सडकको अवस्था पनि उस्तै रहेको स्थानीय नेत्रविक्रम थापाले सुनाए । उनका अनुसार ४ किमि सडक कालोपत्र भएकामा डेढ किमि सडकको नामोनिसान नै छैन । ‘एउटा बर्खा पनि नटिक्ने गरी कस्तो सडक निर्माण भएको हो ?,’ उनले प्रश्न गरे । पीपलभन्ज्याङ–हायुटार २० किमि सडकमा मात्रै झन्डै ४० ठाउँमा पहिरो खसेको छ । भद्रकालीका उत्तम कार्कीले खोल्सा खहरेमा पुल नहुनु र सडक निर्माण गर्दा प्राविधिक अध्ययनबिनै जथाभावी डाँडा काटिएकाले जताततै पहिरो खसेको दाबी गरे । ‘करोडौं लगानीका सडक वर्षाले छियाछिया बनाई यातायात चल्न नसक्ने बनाएको छ,’ उनले भने ।

हरिहरपुरगढीले वडा मुकामसम्म यातायातको पहुँच पुर्‍याउन खोलेको ट्र्याक वर्षाले कामै नलाग्ने पारेको छ । ‘करोडौं लगानी बालुवामा पानी हालेसरह भएको छ,’ स्थानीय रामकाजी घलानले भने, ‘हिउँदमा ट्र्याक्टरसम्म पुगेका थिए, अब पुनर्निर्माणमा त्योभन्दा बढी खर्च लाग्ने गरी क्षतविक्षत भएको छ ।’ गाउँपालिका अध्यक्ष कार्साङ लामाले व्यावहारिक हिसाबले खनिएका सडकहरू बर्खामा कामै नलाग्ने हुने र हिउँदमा मात्रै गाडी चल्न सक्ने बताए । ‘सबैलाई सडक चाहिएको छ, कालोपत्रसहित नाला राखेर निर्माण गर्न बजेटले भ्याउँदैन, अनि ट्र्याक खोल्ने त हो ।’

बर्खा लागेपछि सुनकोसीको दुम्जास्थित बीपी स्मृति पार्क जाने कालोपत्रसहितको सडक चिरा परेको छ । असारे चटारोमा पानीको निकासको ख्याल नगरी सडक बनाउँदा यस्तो भएको स्थानीयको आरोप छ । ‘भत्किएको सडक पुनर्निर्माण त होला तर गुणस्तरहीन निर्माणले व्यवसायी, राज्य र स्थानीय सबैलाई घाटा भएको छ,’ स्थानीय ध्रुव श्रेष्ठले भने ।

प्रकाशित : श्रावण १७, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?