३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्थानीय तहका योजनामा अनुदान बढ्यो

कान्तिपुर संवाददाता

मकवानपुर — वाग्मती प्रदेश सरकारले स्थानीय तहलाई दिने समपूरक अनुदानमा बर्सेनि वृद्धि गर्दै लगेको छ । आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ समपूरक अनुदान दिएको प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ६३ करोड १६ लाख रुपैया दिएको थियो ।

स्थानीय तहका योजनामा अनुदान बढ्यो

चालु आर्थिक वर्षमा यो रकम बढाएर २ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ पुर्‍याइएको छ । ‘स्थानीय तहले छनोट गरेका आयोजनाहरूमा प्रदेश सरकारको पनि लगानी रहने व्यवस्थाका लागि यो अनुदान दिइएको हो,’ आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले भने, ‘यसो हुँदा काम प्रभावकारी हुने देखियो । हामीले चार वर्षको बजेट अध्ययन गर्दा समपूरकमा भएका कामहरू सबैभन्दा बढी प्रभावकारी भएको पायौं ।’

मन्त्रालयका सचिव डण्डुराज घिमिरेले चालु आर्थिक वर्षमा ७० अर्ब रुपैयाँ हाराहारी राजस्व उठ्ने दाबी गरे । ‘राजस्व धेरै उठ्ने भएकाले हामीले बजेटको आकार ठूलो बनायौं । तर चौतर्फी आलोचना पनि भयो,’ उनले भने, ‘तर गत आर्थिक वर्षको राजस्व संकलनको अवस्था हेर्दा चालु आर्थिक वर्षमा हामीले धेरै सफलता पाउने प्रक्षेपण गर्न सकिन्छ । अहिले ५८ अर्बको बजेट बनेको छ । हामीले करिब ७० अर्ब हाराहारी राजस्व संकलन गर्न सक्ने अनुमान गरेका छौं ।’

अघिल्लो आर्थिक वर्षको बजेट खर्च ऐतिहासिक भएको दाबी गर्दै उनले यसले प्रदेश सरकारलाई उत्साहित बनाएको बताए । ‘राजस्व परिचालनमा केही जटिलता देखिए पनि हामीले गर्ने खर्च उत्साहजनक छ । केही अवरोधका बाबजुद पनि अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत खर्च भयो । अब चालु आर्थिक वर्षमा ९० प्रतिशत बजेट खर्च हुनेछ ।’

मन्त्री ढुंगेलले प्रदेश सरकार पनि असारे विकासमा लागेको भन्ने भनाइ अस्वीकार गरे । उनले बजेट चक्र पूरा गर्ने क्रममा असारमा धेरै खर्च देखिएको दाबी गर्दै असारे विकासको पछि नलागेको बताए । ‘हामी असारे विकासमा छैनौं,’ उनले भने, ‘बजेट चक्र पूरा गर्ने क्रममा असारमा धेरै खर्च हुने देखिन्छ । यो स्वाभाविक हो । असारमा भुक्तानी धेरै हुँदा यो महिनामा धेरै खर्च भएको देखिन्छ । तर, हामीले असार लक्षित विकास गर्न खोजेका होइनौं ।’

प्रकाशित : श्रावण १५, २०७८ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?