जहाँ गोर्खालीले अंग्रेजलाई हराएका थिए- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ गोर्खालीले अंग्रेजलाई हराएका थिए

सिन्धुलीगढीमा पहिलो युद्ध संग्रहालय, गोर्खाली सेना र अंग्रेज फौजबीच युद्धको झल्को दिने सामग्री
राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा मुलुककै पहिलो युद्ध संग्रहालय निर्माण भएको छ । संग्रहालयको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । 

सिन्धुलीगढीमा नवनिर्मित युद्ध संग्रहालय । संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उद्घाटन गरेकी छन् । तस्बिर : राजकुमार कार्की/कान्तिपुर

६ हजार २८१ स्क्वायर फुटको ६ कोठे संग्रहालयमा तत्कालीन समयमा गोर्खाली सेना र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने सामग्रीहरू राखिएको छ । गढीको सामरिक महत्त्व प्रदर्शन गर्न सकिने थिएटर, त्यसबेलाको सेनाले प्रयोग गरेका घरेलु हातहतियार पनि संग्रहालयमा छन् । युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाले लगाएको पोसाकलगायत सामग्रीको संग्रह गरिएको छ ।

सात करोड रुपैयाँ लागतमा निर्माण भएको संग्रहालयको आन्तरिक सजावट, योद्धाहरूको सालिक तथा अन्य बाहिरी निर्माणमा भने कमलामाई नगरपालिकाले लगानी गरेको छ । राणाकालीन रानी दरबारको पुनर्निर्माण र टुँडिखेल, प्रशासनिक भवन, जेलघर, अदालतको भग्नावशेषलाई पनि संरक्षण गरिएको छ । युद्धकालीन अवस्थाका पत्र, सिन्धुलीगढी युद्धको टाइमलाइन, डकुमेन्ट्री, चरणबद्ध युद्धका चित्र, नेपाली तथा ब्रिटिस योद्धा तस्बिर, युद्धकालीन शिलालेख संग्रहालयमा राखिएको छ । न्यु ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले संग्रहालय निर्माण गरेको हो । संग्रहालयको संरक्षण जिम्मा कमलामाई नगरपालिकालाई दिइएको छ ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुना सिन्धुलीगढी युद्ध संग्रहालय भएको बताइन् । यसले देशका अन्य स्थानका ऐतिहासिक धरोहरको संरक्षण र पुनर्निर्माणका लागि समेत प्रेरणा प्रदान गरेको उनको भनाइ थियो । ‘वीरपुर्खाहरूले आफ्नो देशको रक्षाका लागि के कस्ता बहादुरीपूर्ण भूमिका निर्वाह गरेका थिए भन्ने तथ्य र शिक्षा भावी पुस्तालाई हस्तान्तरण भएको छ,’ उनले भनिन् । ऐतिहासिक परिवेशबाट समग्र राष्ट्रलाई अभिप्रेरित गर्न सिन्धुलीगढी युद्ध संग्रहालयको महत्त्वपूर्ण योगदान हुने उनले बताइन् ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संग्रहालय इतिहास संरक्षणमा कोसेढुंगा सावित हुने धारणा राखे । संग्रहालयको परिसरमा योद्धाहरू श्रीहर्ष पन्त, वंशु गुरुङ, वंशराज पाण्डे र वीरभद्र उपाध्यायको प्रतिमा अनावरण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले संग्रहालयको प्रतिमा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।

तत्कालीन कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित २४ सय अंग्रेज फौज आएको थियो । नेपाल एकीकरणका क्रममा रहेका राजा पृथ्वीनारायण शाहका गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र अरिंगालको गोलाको मद्दत लिएर अंग्रेजलाई पराजित गरेको इतिहास छ ।

प्रकाशित : श्रावण १४, २०७८ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

यसपालि सिरी ‘ए’ मा को बलियो ?

द गार्डियन

मिलान — युभेन्ट्स लामै समय इटालीमा कसैले छुन नसकिएको टिम रह्यो । अब भने त्यो रहेन । ९ वर्षको अन्तरालपछि सिरी ‘ए’ को नयाँ सिजन सुरु हुनेछ नयाँ च्याम्पियनसँगै । त्यसको अर्थ इन्टर मिलानले यसपल्ट उपाधि रक्षाका लागि प्रयास गर्नेछ ।

तस्बिर : एजेन्सी

गत सिजन इन्टरले पहिलोपल्ट उपाधि जितेको थियो, सन् २०१० यता । त्यो सिजन इन्टरले जोसे मोउरिन्होको नेतृत्वमा तीन उपाधि जितेको थियो । त्यसयता इन्टरका लागि सजिला दिनहरू फर्केनन् ।

यसपल्ट सिरी ‘ए’ मा को बलियो होला त उपाधिका लागि ? यसको पहिलो उत्तर त इन्टर आफैं भयो । डिफेन्डिङ च्याम्पियनका रूपमा इन्टरले पक्कै पनि बलियो चुनौती पेस गर्नेछ । अझ डिफेन्डर मिलान स्क्रिनियरले त के सम्म दाबी गरेका छन् भने इन्टर २०२१–०२२ को सिजन अपराजित रहने योजनामा छ । एउटा तथ्य के भुलौं भने अहिले इन्टरमा गत सिजनका प्रशिक्षक एन्टोनियो कोन्टे छैनन् अनि अचरफ हाकिमीले पनि छाडिसकेका छन् ।

त्यसैले गत सिजन सुरु गर्दा इन्टरलाई जति सजिलो थियो, यसपल्ट त्यस्तो हुने छैन । अझ गाह्रै हुनेछ । सिमोन इन्जाघी र हाकन काल्हनोग्लु इन्टर आएका छन्, तर उनीहरूले कडा मिहिनेत गर्नुपर्ने निश्चित छ । गत सिजन ‘ओल्ड लेडी’ का लागि गाह्रै स्थिति रह्यो । तर यसपल्ट टोलीले सुखद सुरुआतको किन अपेक्षा राख्न सक्छ भने टिममा प्रशिक्षकका रूपमा मासिमिलिनो एलेग्री फर्केका छन् । उनको नेतृत्वमा युभेन्ट्सले शीर्षस्थान फेरि हात पार्ने कल्पना गर्न सक्छ । युभेन्ट्सको टिममा खासै परिवर्तन आएको छैन । तर नयाँ प्रशिक्षकले यही टिमबाट राम्रो नतिजा त पक्कै निकाल्न सक्छ । एलेग्रीको सबैभन्दा ठूलो लक्ष्य हुनेछ पाउलो डिबालालाई लयमा फर्काउने अनि क्रिस्टियानो रोनाल्डोलाई फेरि केही जित्नका लागि गम्भीर बनाउने ।

गत सिजन एटलान्टा तेस्रो स्थानमा आएको थियो । एटलान्टा तेस्रो स्थानमा आएको यो पहिलोपल्ट होइन, बरू लगातार तेस्रो सिजन हो । त्यसैले भन्न करै लाग्छ, अब एटलान्टा ठूला टिममा पर्न थालिसकेको छ । भलै, एटलान्टाले सन् १९६३ को कोपा इटालिया जितेयता केही जित्न सकेको छैन । तर जियान पिएरो गास्पेरिनाको नेतृत्वमा यो क्लबले पेस गर्ने चुनौती बलियो नै रहनेछ । टिममा केही नयाँ खेलाडी आएका छन्, तर प्रशिक्षकले मुख्य ध्यान दिनुपर्ने विषय रक्षापंक्ति नै रहनेछ । यहाँनिर एसी मिलानलाई पनि छुट्याउन मिल्ने छैन । गत सिजन क्लब सम्हालेयता स्टेफानो पिओलीले मिलानलाई फेरि युरोपेली च्याम्पियन्स लिगमा फर्काएका छन् ।

तर यसको अर्थ मिलानलाई एकै साता घरेलु लिग र च्याम्पियन्स लिग फर्कनुपर्ने तनाव हुनेछ । एएस रोमाले भने केही दुरीले च्याम्पियन्स लिग खेल्न मौका गुमाएको थियो, तर टिमले यसपल्ट तिनै मोउरिन्होको नेतृत्वमा खेल्नेछ । तर रोमालाई लिग उपाधिका लागि बलियो प्रत्याशी मान्न सकिन्न । यस्तै स्थिति नेपोलीको पनि रहनेछ । नेपोलीसँग पछिल्ला केही सिजन राम्रो सुरुआत लिए पनि त्यसलाई अन्त्यसम्म कायम राख्न नसक्ने समस्या देखिएको छ ।

प्रकाशित : श्रावण १४, २०७८ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×