२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

आफ्नै भवनमा पालिका र वडा

प्रताप विष्ट

हेटौंडा — मकवानपुरका अधिकांश पालिकाले कार्यालय भवन निर्माण गरेका छन् । वडा कार्यालय भवनसमेत बनिसकेका छन् । अब भाडाका घरमा कार्यालय सञ्चालन गर्ने थोरै मात्र पालिका रहेको तथ्यांकले देखाउँछ । जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल भन्छन्, ‘एक वर्षभित्रमा सबै पालिकाहरू आफ्नो कार्यालय भवन र वडा कार्यालयसमेत निर्माण गरिसक्ने अवस्थामा छन् ।’

आफ्नै भवनमा पालिका र वडा

जिल्लामा १० वटा पालिका छन् । त्यसमध्ये एउटाको मात्र प्रशासनिक कार्यालय घर भाडामा लिएर सञ्चालनमा छ । दुई पालिका विद्यालय भवनबाट सञ्चालित छन् । जिल्लामा १ सय २ वटा वडा कार्यालय रहेकामा ११ वडा मात्रै भाडाको घरमा छन् । चालु आवमा तीन वटै पालिकाको प्रशासनिक भवन र ११ वटै वडा कार्यालय भवन बन्ने खुलालले दाबी गरे । प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडाका ८ वटा वडा कार्यालय घर भाडामा लिएर सञ्चालन गरिएको छ । बाँकी ११ वडा र पालिका भवन भने बनिसकेको छ । २ वडाका भवन निर्माणाधीन छन् ।

वाग्मती गाउँपालिकाले झुरझुरेमा भवन निर्माण गरेर सेवा दिन थालिसकेको छ । ९ वटा वडामा विभाजित उक्त गाउँपालिकामा ७ वटा वडा कार्यालय भवन पनि बनिसकेका छन् । बाँकी २ वडा कार्यालय तत्कालीन गाविस भवनमै छन् । बकैया गाउँपालिकाले पनि प्रिफ्याबको कार्यालय बनाएको छ । १२ वडा रहेको यो गाउँपालिकाका ८ वडा आफ्नै भवनबाट सञ्चालनमा छन् । मकवानपुरगढीमा गाउँपालिका भवन बनिसकेको छ ।

राक्सिराङ गाउँपालिकाको कार्यालय चैनपुरस्थित विद्यालय भवनमा छ । तर ९ वटा वडामध्ये ८ वटाका भवन निर्माण भइसकेका छन् । वडा–५ को भवन भने पहिरोले बगाएकाले अहिले भाडाकै भवनमा छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न टेन्डर आह्वान गरिसकेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । कैलाश गाउँपालिकाको कार्यालय भवन निर्माणको अन्तिम चरणमा छ । अहिले स्थानीय विद्यालय भवनबाटै सेवा प्रवाह गरिरहेको छ । १० वडामध्ये ७ वडाले भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेका छन् भने ३ वडाले पुरानै भवन मर्मतसम्भार गरी सेवा दिइरहेका गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले बताए ।

भीमफेदी गाउँपालिकाले करिब ४ करोड रुपैयाँको लागतमा ४२ कोठे भवन निर्माण गरेको छ । उक्त भवन एक साताभित्रै सञ्चालनमा आउने अध्यक्ष हिदम लामाले बताए । उनका अनुसार ७ वटा वडा आफ्नै भवनमा छन् । वडा–३ र ५ का कार्यालय भाडाका घरमा छन् ।

प्रकाशित : श्रावण १३, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?