सामुदायिक वनमा सफारी सुरु- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक वनमा सफारी सुरु

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लागेपछि चितवन राष्ट्रिय निकुञ्ज वरपरका मध्यवर्ती सामुदायिक वनमा मध्य वैशाखदेखि बन्द भएको जंगल सफारीलगायतका पर्यटकीय गतिविधि मंगलबारबाट पुनः सुरु भएको छ । पर्यटकहरू वन्यजन्तु हेर्न हात्ती सफारी र जिप सफारी गर्छन् । खोलाहरूमा डुंगा चढ्ने गर्छन् । निकुञ्जभित्र भने तत्काल पर्यटकीय कार्यक्रमहरू सुरु हुने छैनन् ।

चितवनको बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी हुँदै। तस्बिर सौजन्य : जितु तामाङ

‘आज (मंगलबार) पहिलो दिन हो । बिहान एउटा र दिउँसो एउटा हात्ती सफारी भयो । डुंगा चढ्न पनि २०/२५ जना आए,’ बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले भने । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्ने–गराउने गरी पर्यटकीय गतिविधि सुरु गरेको उनले बताए । सौराहा आडको यो वन हात्ती सफारी र डुंगा सफारीका लागि प्रख्यात छ । सौराहादेखि केही परको कुमरोज मध्यवर्ती सामुदायिक वनमा पनि हात्ती र जिप सफारी सुरु भएको छ ।

‘हाम्रो वनमा पनि सफारी सुरु भयो । बिहान ४ वटा हात्ती जंगल गए । चारवटा जिपले पनि पर्यटक डुलाए,’ कुमरोज वनका अध्यक्ष गणेश श्रेष्ठले भने । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सामुदायिक वन घुम्नका लागि प्रवेश टिकट खुला भएको जानकारी दिए । चितवन निकुञ्ज वरपर ७२ वटा मध्यवर्ती सामुदायिक वन छन् ।

तीमध्ये पश्चिम क्षेत्रमा रहेका गुन्द्रेही, ढकाहालगायत ६ वटा मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि हुने गर्छ । पूर्वी क्षेत्रमा कुमरोज, बाघमारा, चित्रसेन वनमा बाक्लै पर्यटक जाने गर्छन् । कुमरोजले पर्यटनबाट वर्षमै चार करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको छ । बाघमाराले पनि ३ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्छ । बरन्डाभार, जगतपुर र मेघौली क्षेत्रका सामुदायिक वनमा पनि पर्यटक घुम्न पुग्छन् । चितवन निकुञ्जभित्र हात्ती सफारी हुँदैन । हात्ती चढेर जंगल डुल्न चाहने पर्यटकहरू मध्यवर्ती सामुदायिक वनहरूमा जाने गर्छन् ।

‘बर्खायाममा निकुञ्जभित्र पर्यटक डुलाउन सकिँदैन । निकुञ्जभित्र हात्ती सफारी हुँदैन । जिप सफारीका लागि बाटो बिग्रेको हुन्छ । पैदल जंगल डुल्दा यो बेला झाडी बढेको छ । यस्तोमा डुल्नु खतरा हुन्छ,’ अधिकारीले भने ।

प्रकाशित : श्रावण १३, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

ओलम्पिक खेल्ने पहिलो नेपाली टोलीका बक्सर

खेत जोत्न ट्याक्टर चलाउँदै गरेका रामप्रसादलाई अचानक काठमाडौं आउनु भन्ने खबर आयो । उनी काठमाडौं पुगे । काठमाडौंबाट हङकङ उडे । हङकङबाट जापान । अनि ओलम्पिकमा भिडे ।
रमेशकुमार पौडेल

चितवन — भरतपुरको पश्चिम क्षेत्रमा बरौजी भन्ने एउटा गाउँ छ । गीतानगरबाट केहीपरको यो गाउँबारे चितवनकै बासिन्दा खासै जानकार छैनन् । भरतपुर–माडी–ठोरी हुलाकी सडक यही गाउँ हुँदै गएको छ । सडकको देब्रेतिर झन्डै सय मिटरभित्र एउटा पुरानो घर छ । हुर्केका रूखले यो घर बाटो हिँड्नेको नजरमा परिहाल्दैन । यो घर रामप्रसाद गुरुङको हो । उनै गुरुङ हुन् जसले नेपाल सहभागी पहिलो ओलम्पिक खेले ।

अहिले जापानमा टोकियो ओलम्पिक चलिरहेको छ । सन् १९६४ को ओलम्पिक पनि जापानमै भएको थियो । नेपालले ओलम्पिक यात्रा यहींबाट थालेको थियो । त्यतिबेला बरौंजीमा खेत जोत्न ट्र्याक्टर चलाउँदै गरेका रामप्रसादलाई अचानक काठमाडौं आउनू भन्ने खबर आयो । उनी काठमाडौं पुगे । काठमाडौंबाट हङकङ उडे । हङकङबाट जापान गए । ओलम्पिकमा बक्सिङ खेलमा प्रतिस्पर्धा गरे । ‘हामी त्यो बेला ६ जना खेलाडी थियौं । चारजना त बक्सिङकै थियौं । दुई म्याराथन धावक थिए,’ बरौजीको त्यही पुरानो घरमा रामप्रसादले पुराना कुरा सम्झे ।

रामप्रसाद पूर्ण खेलाडी थिएनन् । उनी ब्रिटिस आर्मीको गोर्खा पल्टनमा थिए । ओलम्पिकमा जाने, खेल्नेबारेमा केही सोचेकै थिएनन् । तर अचानक मौका मिल्यो र

देशका लागि पहिलोपल्ट खेले । त्यो क्षण सम्झँदा निकै गर्व लाग्ने उनले सुनाए । ‘हेर्नुस्, पल्टनबाट चार वर्षपछि छुट्टीमा घर आएको थिएँ । भर्ती भएपछि पहिलोपल्ट छुट्टीमा आएको । एक महिनामै म्यासेज आयो । एकदम छिटो आउनू भनिएको थियो । किन फिर्ता हुनुपरेको हो कारण मलाई केही पनि भनेनन् उनीहरूले,’ रामप्रसादले भने ।

बल्लबल्ल छुट्टीमा आएको मान्छेलाई तत्कालै बोलाउँदा मन खिन्न भयो । पल्टन फर्कि हाल्न भन्दा खेतमै व्यस्त भए । गाडी चलाउन पल्टनमै सिकेका थिए । त्यसैले आफ्नो जग्गा ट्र्याक्टर जोत्न थाले । तर, काठमाडौंमा हाजिर हुन ताकेता भइरहयो । उनी घरबाट हिँडे । काठमाडौं बिहानै पुगेका थिए । जतिसक्दो चाँडो पल्टनमा जानु भनियो । पल्टन हङकङमा थियो । हङकङ पुगेकै दिन उनी तालिममा लागिहाले । त्यहाँ पुगेपछि मात्र उनले ओलम्पिक खेल्न जाने कुराको मेसो पाए । रमाउँदै साथीहरूले ताली पिटेर स्वागत गरेका उनलाई । ब्रिटिस आर्मीमा भए पनि नेपालको तर्फबाट खेल्न पल्टनले उनीसहित चार जनालाई जापान पठाउने भएछ । खेलाडीका लागि हङकङमै नेपाली पोसाक सिलाउँदा ओलम्पिक जाने पक्का ठाने उनले । ‘२४ घण्टाभित्र ड्रेस तयार गरिएको थियो । त्यसपछि हामी पल्टनकै हर्कुलिस जहाज चढेर जापान ओकिनावा गयौं । त्यहाँ एक साता बसेर अमेरिकन फोर्ससँग बक्सिङ ट्रेनिङ गर्‍यौं । त्यसपछि हर्कुलिसमै टोकियो गइयो,’ उनले बेलीविस्तार लगाए । त्यतिबेला मार्चपासमा नेपालको झन्डा बक्सर नामसिंह थापाले बोकेका थिए ।

‘बक्सिङमा म, नामसिंहसहित भीमबहादुर गुरुङ र ओमप्रसाद पुन थिए । चारैजना पल्टने । अरु दुई म्याराथन धावक थिए, नाम त बिर्सें,’ रामप्रसादले भने । उनको पुर्ख्यौली घर दरौं सिरुबारी स्याङजा हो । उनका बाबु पनि गोर्खा पल्टनमा थिए । उनी सन् १९४५ मा जन्मिए । उनी जन्मेको ठाउँ अबोटाबाद हो, जुन अहिले पाकिस्तानमा पर्छ ।

१४ वर्षको हुँदा रामप्रसाद सन् १९५९ मा ब्रिटिस आर्मीको गोर्खा पल्टनमा भर्ना भए । तालिमका लागि मलाया अर्थात अहिलेको मलेसिया पुगे । ‘म डाइनिङ हलमा जाँदा च्याम्पियन ब्वाई भनेर भित्तामा नाम लेखेको रहेछ । हरेक वर्ष च्याम्पियनहरूको नाम त्यसरी लेखिँदोरहेछ । मलाई निधो भयो कि म पनि च्याम्पियन हुन्छु,’ रामप्रसादले भने । खेलकुदमा राम्रो गरे, पढाइमा राम्रो गरे च्याम्पियन बन्न सकिँदोरहेछ भन्ने लागेपछि उनी खेलकुद र पढाइतिर लागे । पल्टनको च्याम्पियन बने । त्यही च्याम्पियन चाहनाले ओलम्पिकमा पुगे । ‘हामी त आर्मी हो, अप्रेसनमा जुट्नुपर्थ्यो । खेलकुद पनि खेलियो । बक्सिङ त कति खेलियो खेलियो । तर, मुख्य काम त आर्मीकै हो । एक पटक नेपालको तर्फबाट भाग लिने मौका पाइयो । अरू वर्ष त आर्मीकै काममा ध्यान लगाइयो । फेरि खेलौं भन्नेतर्फ लागिएन,’ रामप्रसादले ती दिन सम्झिए ।

उनले फुटबल खेले, जुडो पनि खेले । तर, घुँडामा समस्या आएपछि जुडोलाई जारी राख्न सकेनन् । ‘पल्टनमा रामप्रसादले बक्सिङ खेल्न जानेको छ भन्ने परेछ । गोर्खाली भनेपछि लोकल बक्सरहरू अलि नर्भस हुन्थे त्यतिबेला । पल्टनको तर्फबाट धेरै खेल जित्यौं । त्यसैले गर्दा देशका लागि पनि खेल्ने अवसर मिल्यो,’ उनी भन्छन्, ‘ओलम्पिकमा भिड्दा भने आफूहरू सिकारु नै रहेछौं भन्ने लाग्यो । अलि अलि मात्र खेल्न सक्ने । त्यसैले जित्न सम्भव भएन । ओमप्रसादले पहिलो खेल जिते, अरू सुरुमै बाहिरियौं ।’

उनले ओलम्पिक अनुभव सुनाए, ‘देशका लागि खेल्दा गर्वले छाती ढक्क फुल्ने । मार्चपासमा झन्डा बोकेर सबै लाइनमा हिँड्दा र झन्डा फरफराउँदा छुट्टै अनुभव हुँदोरहेछ । हाम्रो देशको झन्डा सबैको भन्दा फरक थियो । सबैले ध्यान दिएर हेरेको देख्दा आनन्द लाग्थ्यो ।’

सैनिक जीवनतर्फ नै बढी केन्द्रित भएका उनी त्यसपछि कुनै ठूला खेल प्रतियोगितामा सहभागी भएनन । सन् १९९० मा रिटायर्ड भए । रिटायर्डपछि केही वर्ष ब्रुनाइमा बसे, अनि नेपाल फर्किए । अचेल उनी कहिले काठमाडौं त कहिले चितवनको उही पुरानो घरमा बस्छन् । नामसिंहबाहेक अरू साथीसँग सम्पर्क छैन । यतिखेर ७६ वर्षमा पनि निकै फूर्तिला देखिन्छन् । उनले नेपालको खेल क्षेत्रबारे खासै टिप्पणी गर्न चाहेनन् । युवापुस्ताका खेलाडीलाई सुझाए, ‘जित्ने उद्देश्य राखेर खेल्नुपर्छ, जित्दा देशको झन्डा फर्फराउँछ । यो गौरवको विषय हो । जित्न नसके पनि निराश नबनौं । प्रयास गरौं, कुनै बेला त पक्कै जित्छौं ।’

प्रकाशित : श्रावण १३, २०७८ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×