कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

‘पर्यटनका लागि खोप अनिवार्य’

सौराहाका ४० प्रतिशत व्यवसायी होटल बेच्ने तयारीमा
रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण दोस्रोपटक तीव्र भएसँगै चितवनमा वैशाख १६ को मध्यरातबाट निषेधाज्ञा जारी भयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा पनि रोक लाग्यो । जिल्लामा निषेधाज्ञा अहिले पनि जारी छ । तर असार ९ यताका सूचनामा गर्न नपाइने कामबाट ‘निकुञ्जको पर्यटकीय गतिविधि’ हटेको छ । यद्यपि पर्यटकीय गतिविधि सुरु हुने अवस्था छैन ।

‘पर्यटनका लागि खोप अनिवार्य’

‘बर्खामा निकुञ्जभित्र त कुनै पनि खाले सफारी सुरु गर्न सकिन्न । झाडी बढ्छ । जंगलमा हिँड्न डर हुन्छ । जिप सफारीका लागि पनि बाटो मर्मत गर्नुपर्छ । यो काम भदौयता गर्न सकिन्न । सामुदायिक वनमा भने सुरु गर्न सकिन्छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन् ।

चितवन निकुञ्ज वन्यजन्तु अवलोकनका लागि देशकै प्रमुख गन्तव्य हो । पर्यटक राख्न निकुञ्ज आडमा सयौं होटलहरू सञ्चालनमा छन् । कोरोनाले पर्यटन ठप्प भएपछि मारमा परेका होटल तथा पर्यटन व्यवसायीहरू भने कोरोनाविरुद्धको खोप नपाउँदासम्म व्यवसाय सञ्चालन गर्ने विषयमा दुविधामा छन् । ‘कामदारहरूलाई बोलायो, खोप नलगाई कसरी आउने भन्छन्,’ क्षेत्रीय होटल संघ (हान) चितवन, सौराहाका कोषाध्यक्ष माधव दुवाडी भन्छन्, ‘हाम्रा कामदारमध्ये कम्तीमा ३३ प्रतिशतलाई भ्याक्सिन दिन पाए काममा ढुक्क भएर जुट्छन् भन्ने आशा छ ।’ यसो गर्दा यहाँका होटलमा कार्यरत कम्तीमा ७ सय जनालाई तत्काल खोप दिनुपर्ने हुन्छ । खोप नपाए कामदार मात्र होइन, पर्यटक आउनेमा पनि आशंका रहेको दुवाडीले बताए । कम्तीमा खोप लगाएकाहरू घुम्न आउने र खोप लगाएका कामदारले सेवा दिने वातावरण नबन्दासम्म पर्यटकीय गतिविधि चलाउन सकिँदैन भन्नेमा उनी दृढ छन् । ‘कोरोनाको तेस्रो लहर आउने चर्चा छ, यस्तोमा बिनाखोप व्यवसाय चल्न गाह्रो छ,’ दुवाडी भन्छन् ।

पर्यटक नआउँदा बढेको सकस

कोराना संक्रमण बढ्न थालेपछि २०७६ अन्तिमतिर निकुञ्जमा पर्यटकको संख्या घट्दै गयो । चैत ११ देखि निकुञ्ज बन्द नै भयो । २०७७ को दसैंतिहारसँगै पर्यटकीय गतिविधि फेरि सुरु भए । निकुञ्ज घुम्न आन्तरिक पर्यटकको भीड लाग्यो । गत आर्थिक वर्षमा ९२ हजार २ सय ९ जनाले निकुञ्ज घुमेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार यीमध्ये ८९ हजार ६ सय १ जना नेपाली हुन् । अघिल्लो आव र गत आवमा निकुञ्ज घुम्ने नेपालीको संख्या लगभग बराबर छ । तर सार्क राष्ट्र र अन्य विदेशी पर्यटकहरू निकै कम आए । आव २०७६/७७ मा निकुञ्ज घुम्नेको संख्या एक लाख ८२ हजार थियो ।

पर्यटक संख्या यसरी ह्वात्तै घट्दा होटल व्यवसायमा ठूलो असर परेको हान सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन् । ‘व्यवसायीहरू मर्कामा छन् । होटल बिक्री गर्ने क्रम सुरु भएको छ । कोरोनाले अझै के–के गराउने हो ?,’ उनी भन्छन्, ‘जोखिम बढ्दै जाने देखिन्छ ।’ उनले सौराहाका ४० प्रतिशत व्यवसायी होटल बेच्ने तयारीमा रहेको दाबी गरे ।

निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले २०७६ असार ३१ मा सार्वजनिक गरेको एक विवरणअनुसार नेपाली पर्यटकले भन्दा सार्क र अन्य विदेशी पर्यटकले गर्ने खर्चको मात्रा ठूलो थियो । निकुञ्ज घुम्न आउने पर्यटकहरूले वर्षमा १ अर्ब ८० करोड रुपैयाँ खर्च गर्ने अनुमानित विवरण उनले पेस गरेका थिए । उनका अनुसार विदेशीहरू नेपालीभन्दा दोब्बर समय बस्ने र खर्च पनि दोब्बरभन्दा बढी गर्थे । त्यसैले विदेशी पर्यटकहरू ह्वात्तै घट्दा होटलहरू मारमा परेका हुन् । ‘अहिले जग्गा कारोबार गर्नेहरूले सौराहाका होटल किन्न खोज्दै हुनुहुन्छ । सौराहाबाट पुराना व्यवसायी विस्थापित हुने र नयाँ समूह आउने सम्भावना बढेर गएको छ,’ हानका अध्यक्ष भट्टराई भन्छन् । पुराना व्यवसायी नहुँदा वन्यजन्तुमा आधारित यहाँको पर्यटन व्यवसाय भोलि कस्तो स्वरूपमा जाला भन्ने चिन्ता थपिएको उनले बताए । सौराहामा हानमा सदस्य रहेका होटलहरूको संख्या १ सय २० छ । यसबाहेक पनि थुप्रै होटल छन् ।

होटल व्यवसायमा ३३ अर्ब रुपैयाँ लगानी भएको छ । ५५ सय जनाले रोजगारी पाएका छन् । लगानी र रोजगारको अवस्थालाई हेरेर यहाँको पर्यटन व्यवसायलाई जोगाएर लैजाने विषयमा सरकारी नीति प्रस्ट नआए अवस्था निकै बिग्रेर जाने भट्टराई बताउँछन् । हान कोषाध्यक्ष दुवाडीले बैंकहरू सहयोगी भूमिकामा नरहेको गुनासो गरे । सरकारले दिने भनेका सहुलियत उपलब्ध गराउने विषयमा पनि उनीहरू सहज नभएको उनको आरोप छ ।

प्रकाशित : श्रावण १२, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?