१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चितवनमा फेरि बढ्यो संक्रमण

साउन १–८ सम्म १ हजार २१ जनामा कोरोना संक्रमण, अस्पतालमा बढ्न थाल्यो चाप
रमेशकुमार पौडेल

चितवन — गत असार ८ मा प्रशासन कार्यालयमा छलफल हुँदा स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले संक्रमण दर घट्न थालेको बताएका थिए । उनले असारमा २ हजार जना मात्रै संक्रमित हुने अनुमान गरेका थिए । तर मध्य असारपछि जिल्लामा संक्रमण फैलने दर बढेर गयो । यो महिना जिल्लाभर ३ हजार ४७ जना संक्रमित हुन पुगे ।

चितवनमा फेरि बढ्यो संक्रमण

दोस्रो लहरका बेला संक्रमण फैलिने दर पहिलो लहरको तुलनामा ज्यादै तीव्र थियो । संक्रमित थपिँदै जाँदा जेठ १२ मा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय २६ पुगेको थियो । मध्य जेठपछि भने यो क्रम कम हुँदै गयो । स्वास्थ्य कार्यालयका अनुसार असार १३ मा सक्रिय संक्रमितको संख्या १ हजार १४ मा झरेको थियो । स्थानीय प्रशासनले वैशाख १६ को मध्यरातदेखि जिल्लामा निषेधाज्ञा लगायो । त्यसपछि बिस्तारै संक्रमण घट्न थालेको थियो । तर असार दोस्रो सातापछि निषेधाज्ञा खुकुलो बनाउन थालियो र त्यसको प्रभाव संक्रमितको संख्यामा पनि परेको हो ।

असार २८ मा भरतपुर अस्पतालले विज्ञप्तिमार्फत डब्लूएचओको सहयोगमा अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा संकलित २ वटा नमुनामा कोरोनाको डेल्टा भेरिएन्ट पुष्टि भएको जनायो । जुन पहिलो लहरको अल्फा भेरिएन्टभन्दा बढी संक्रामक छ । डेल्टा भेरिएन्ट र खुकुलो निषेधाज्ञा संक्रमितको संख्या बढाउन सहयोगी भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार साउन १–८ सम्म जिल्लामा १ हजार २१ जना संक्रमित भएका छन् । आइतबारसम्मको विवरणमा जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या १९ हजार ३ सय ३७ पुगेको छ । जसमध्ये १ हजार ८ सय २५ जना अझै निको भएका छैनन् । झन्डै हजारनजिक पुगेको सक्रिय संक्रमितको संख्या फेरि बढेर २ हजारनजिक पुगेको हो ।

सक्रिय संक्रमित ५ सय र संक्रमण दर १० प्रतिशतभन्दा तल भए जोखिम कम भएको मानिने स्वास्थ्य कार्यालय प्रमुख तिवारीको भनाइ छ । असार दोस्रो सातासम्म संक्रमण दर १५ प्रतिशतको हाराहारीमा थियो । त्यसपछि बढ्दै गएर साउन ५ मा ३३ प्रतिशतको हाराहारीमा पुग्यो । अहिले घटबढ हुँदै २० प्रतिशतको हाराहारीमा रहेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् । ‘भीडभाड बढेसँगै स्वास्थ्य मापदण्ड पालना गर्ने परिपाटी पनि बसेन । त्यसैले संक्रमितको संख्या बढ्यो । यसले व्यवस्थापनमा गाह्रो हुन सक्छ,’ उनले भनिन् । संक्रमण बढ्नुमा कोरोनाको नयाँ भेरिएन्ट पनि कारक रहेको बताउँछन् स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अमृत महर्जन ।

भरतपुर अस्पतालको कोभिड क्लिनिकल संयोजक डा. प्रमोद पौडेल अस्पतालमा संक्रमितको चाप बढ्न थालेको बताउँछन् । ‘अस्पतालमा संक्रमितहरूको संख्या घटेर दिनमा ६०/७० जनासम्म पुगेको थियो । अहिले फेरि बढेर सय जनासम्म हुन थालेका छन्,’ डा. पौडेलले भने । आईसीयू पनि भरिन थालेको उनले बताए । बालबालिकामा संक्रमण बढ्ने संकेत देखिएको उनको भनाइ छ । ‘ठ्याक्कै नयाँ खाले जटिलता देखिएको छैन तर लक्षणहरू अलि परिवर्तन भएको हो कि ? शरीर गलेर, डायरिया भएर आएकाहरूको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ । तर प्रायः ज्वरो, खोकी, टाउको दुख्ने लक्षण छ । निमोनिया भइसकेर अस्पताल आउने संक्रमितहरूको उपचारमा केही जटिलता थपिएको छ,’ डा. पौडेलले भने । निषेधाज्ञा रहँदा र खुकुलो हुँदाको फरक देखा पर्न थालेको उनले दाबी गरे । सहर बजार, अस्पताल, बैंक, सरकारी कार्यालयहरूमा भीडभाड सामान्य अवस्थाको जस्तै छ । सार्वजनिक सवारीसाधन पनि चल्न थालेका छन् । ‘निषेधाज्ञा गरे पनि सुख भएन । व्यावसायिक गतिविधि कति समयसम्म रोक्नु ? नगरे संक्रमण फैलिने खतरा छ । कमसे कम मापदण्ड पालना गरे हुने थियो । तर त्यही पालना गराउन गाह्रो भयो,’ जिल्ला समन्वय समिति संयोजक कृष्णकुमार डल्लाकोटीले भने ।

कोरोना भाइरसविरुद्धको खोप निकै कम चितवनवासीले मात्र पाएका छन् । जिल्लाको जनसंख्या ६ लाखको हाराहारीमा छ । ढकालका अनुसार हालसम्म ९३ हजार ३ सय ७२ जनाले पहिलो मात्रा र २३ हजार ९ सय ३२ जनाले खोपको दोस्रो मात्रा लगाएका छन् । खोप अभियानले पूर्णता नलिँदासम्म सजग हुने र सावधानी अपनाउने गर्नुपर्छ । तर त्यसो नगर्दा फेरि निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सरोकारवालाहरूले सचेत बनाइरहेका छन् ।

चितवनका अस्पतालमा हजार संक्रमितको उपचार गराउन सक्ने पूर्वाधार तयार छन् । दोस्रो लहरमा संक्रमण उच्च हुँदा ६ सयभन्दा कम मात्रै अस्पतालमा थिए । यहाँका अस्पतालमा बाहिरी जिल्लाका धेरै संक्रमित उपचारका लागि आउँछन् । कोरोनालेचितवनका मात्रै ३ सय २१ जनाको मृत्यु भएको छ । यो कुल संक्रमितमध्ये १.७ प्रतिशत हो । पहिलो लहरमा २ प्रतिशत थियो । ‘अरू व्यवस्थापन हामी गर्छौं । सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्‍यो । यस्तै हो भने त अवस्था फेरि जटिल बन्ने खतरा देखिन्छ,’ डल्लाकोटीले भने ।

प्रकाशित : श्रावण ११, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?