कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सडक भत्केपछि अस्पताल पुग्नै आपत्

रमेशकुमार पौडेल

चितवन — यहाँको उत्तरी पहाडी भेगमा बस्ने चेपाङ समुदायलाई सुविधा दिन खुलेको भण्डारा–मलेखु चेपाङ मार्ग बर्खा लागेसँगै ठाउँ–ठाउँमा गएको पहिरोले अवरुद्ध छ । सडक पुरिएर तथा भासिएर सवारीसाधन चल्न नसक्दा विकट गाउँका बासिन्दाले अनेकौं सकस बेहोरिरहेका छन् ।

सडक भत्केपछि अस्पताल पुग्नै आपत्

बिरामी भए उपचार गर्न भण्डारा या भरतपुर आउनुपर्छ । तर गाडी नचल्दा अस्पताल पुग्न कठिनाइ भइरहेको राप्ती नगरपालिका–१३ का अध्यक्ष सूर्यबहादुर चेपाङले बताए । ‘एक बालक अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै बिते,’ उनले भने, ‘पहिरोले बाटो भत्केको छ । गाडी नचल्दा समयमा अस्पताल पुर्‍याउन सकिएन । समयै पुगेको भए बाँच्थे कि ।’

नगर क्षेत्रकै गाउँ भए पनि लोथर, कोराकलगायत गाउँमा सडक, बिजुली, टेलिफोनको सहज सुविधा छैन । साविकको लोथर गाविसलाई हाल राप्तीको १२ र १३ नं. वडामा समेटिएको छ । विकट यी क्षेत्रको केही भागमा हिउँदमा जेनतेन गाडी चल्छन् । तर लगातारको वर्षापछि गत असार १७ मा ठाउँ–ठाउँमा पहिरो खस्दा सडक क्षतविक्षत छन् । चेपाङ मार्गको भन्ज्याङसम्म जसोतसो जिप चलिरहेका छन् । राप्तीको केन्द्र भण्डाराबाट गाडीमा दुई घण्टामा भन्ज्याङ पुगिन्छ । भन्ज्याङभन्दा माथिल्लो भेगका बासिन्दा अहिले बिरामी भए वा अन्य कामले भण्डारा आउनुपरे कम्तीमा तीन घण्टा हिँड्नुपर्छ । राप्ती–१३ मै पर्छ गुन्दी ।

गुन्दीका सीताराम चेपाङको घरमा सोमबार बिहान सबै जना खुसी थिए । सीतारामका छोरा नवीन र बुहारी ज्योतिको त्यस दिन पहिलो सन्तान जन्मेको थियो । तर नवजात शिशुलाई ज्वरो आउन थाल्यो । मंगलबार बिहान उपचारका लागि भरतपुरतर्फ दौडाए । गाडी नचलेकाले बोकेरै भन्ज्याङसम्म ल्याएका थिए । तर अस्पताल पुर्‍याएपछि शिशुको मृत्यु भएको वडाध्यक्ष चेपाङले बताए । सडकका कारण बेलैमा अस्पताल पुर्‍याउन नसक्दा शिशुको मृत्यु भएको गुन्दीकै छविलाल चेपाङले दाबी गरे । ‘गुन्दीबाट ३ घण्टामा भन्ज्याङ आए । हिँडेर आउँदा यत्रो समय लागेको हो,’ छविलालले भने, ‘त्यतिबेला भन्ज्याङमा पनि गाडी थिएनन् । त्यसैले उनीहरूले दुई घण्टा जति त्यहाँ पर्खनुपरेको थियो ।’ उनका अनुसार सडक बिग्रँदा अहिले यो खण्डमा निकै कम मात्रै गाडी चल्छन् ।

गाउँमा छोरा बिरामी पर्‍यो भन्ने सुनेपछि विशेष कामले भण्डारा झरेका उनी मंगलबार घरतर्फ लाग्दा पनि राहत पुर्‍याउन हिँडेको गाडीमा भन्ज्याङसम्म पुगेका थिए । उनले नवीन र ज्योतिलाई त्यहीं भेटेका थिए । छविलाल उसै दिन गाउँ त पुगे तर ३ वर्षको बिरामी छोरो बोकेर उनी भोलिपल्ट मात्रै झरे । ‘गाडी चलेका बेला तीन घण्टामा गुन्दीबाट भण्डारा पुगिन्छ । तर छोरो बोकेर गुन्दीबाट हिँड्दै भन्ज्याङ आउनै ३ घण्टा लाग्यो, ६ घण्टामा मात्रै भण्डारा पुगेका थियौं,’ उनले भने । अहिले उनका छोराको उपचार भण्डारामा जारी छ । साता दिनअघि पनि राप्ती–१२ पर्खाल रिनथराङका एक बालक बिरामी भए । उनी महिना दिन जतिका थिए । भण्डारा पुर्‍याउन नपाउँदै उनको मृत्यु भएको छविलालले बताए । ‘अहिले चेपाङ गाउँबाट डोकोमा बोकेर बिरामीहरू झार्दै गरेको देखिन्छ । सडक बिग्रेको छ । गाडी नचल्दा आपत् छ । बिरामी चेपाङ र उनका बालबच्चा जोगाउन गाह्रो भयो,’ छविलालको दुखेसो छ ।

उनी साथी गोपीलाल चेपाङका साथ लागेर यसबारे कुरा गर्न बिहीबार नगरपालिका पनि गए । यो सडक निर्माण र मर्मत गर्ने जिम्मा भरतपुरको डिभिजन सडक कार्यालयको हो । चेपाङ मार्गको ट्र्याक केही वर्ष पहिल्यै खुले पनि स्तरोन्नतिको काम बाँकी नै छ । लगभग ६६ किमि लम्बाइको यो सडक ५ किमिजति मात्रै कालोपत्र भएको छ । बजेट पर्याप्त नआउने गुनासो सडक कार्यालयको छ । ‘ठूलो बजेट भएको आयोजना होइन । ट्र्याक खुलेका कारण जति बजेट आउँछ, त्यसैका आधारमा कालोपत्र र स्तरोन्नतिका अन्य काम हुने गरेको छ,’ डिभिजन सडक कार्यालयका इन्जिनियर विजय दराईले भने, ‘बिग्रेपछि, पहिरोले भत्काएपछि पनि मर्मत नगर्ने, पहिरो सफा नगर्ने भन्ने होइन तर समय लाग्छ ।’


प्रकाशित : श्रावण १०, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?