३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सडकमै रोपाइँ !

निर्माणमा ठेकेदारको बेवास्ताले यातायात ठप्प
अनिश तिवारी

लिसंखु, सिन्धुपाल्चोक — ठेकेदार कम्पनीले सडक निर्माणमा बेवास्ता गरेको भन्दै तत्काल काम थाल्न दबाबस्वरूप हिलाम्य सडकमै रोपाइँ गरिएको छ ।

सडकमै रोपाइँ !

लिसंखुपाखर गाउँपालिकाका स्थानीय र घ्याङडाँडा, सिद्धार्थ, दोबाङ, अन्दरबुङ, शिखर गरी ५ युवा क्लबका सदस्यले बिहीबार दिनभर ठेकेदारसहित स्थानीय तह र अन्य सम्बन्धित निकायलाई तत्कालै सडक मर्मत गरेर सञ्चालनमा ल्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले मंगलबार साँझ सडकमै रोपाइँसमेत गरेका थिए ।

लिसंखु–एक्काइसकिलो–अत्तरपुर र बुलबुले–अत्तरपुर गरी दुईवटा सडक खण्ड निर्माणको काम अहिले अलपत्र छ । बुलबुले–अत्तरपुर खण्डमा ८ मिटर चौडा, ग्राभेल गर्ने र नाला बनाउने काम ठेकेदारले गएको वैशाख १५ देखि रोकेके छ । त्यसयता ठेकेदार कम्पनी सम्पर्कमै नआएको सडक डिभिजन कार्यालय, चरिकोटले जनाएको छ । यसअघि ठेकेदारको मृत्युपछि अलपत्र बनेको झन्डै ११ करोड रुपैयाँबराबरको लिसंखु–एक्काइसकिलो–अत्तरपुर सडक (४.२ किमि) को केही दिनअघिबाट काम थालिए पनि यातायात भने ठप्प रहेको स्थानीय बताउँछन् । यो खण्डमा लिसंखुपाखर गाउँपालिकाको कार्यालयसमेत छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका अनुसार यो सडक कालोपत्र गर्न प्रदेश सरकारले इलाइट रिभन रसुवा जेभीलाई जिम्मा दिएको थियो ।

‘बुलबुले–अत्तरपुर खण्डमा बर्खा लागेयता सवारीसाधन त परै जाओस्, पैदल हिँड्न पनि मुस्किल छ । हेलिकप्टर चार्टर गर्न सक्ने क्षमता छैन, एम्बुलेन्स र अन्य सवारीसाधन नचल्दा सुत्केरी र गम्भीर प्रकृतिका बिरामीसमेत गाउँमै थन्किएका छन्,’ लिसंखुपाखर–४ अत्तरपुरस्थित घ्याङडाँडा युवा क्लबका अध्यक्ष गौतम लामाले भने, ‘त्यसैले सडक छिटो बनोस् भन्न दबाबस्वरूप यो सडकमा धान रोपेका हौं ।’ उनका अनुसार करिब एक किमि सडकको ठाउँठाउँ धान रोपिएको थियो । लिसंखु–एक्काइसकिलो–अत्तरपुर सडकसमेत ठप्प हुँदा गाउँपालिका कार्यालयसमेत जान नसक्ने अवस्था रहेको उनले गुनासो गरे ।

ठेकेदार कम्पनी र सम्बद्ध निकायलाई सडक सहज बनाइदिन चर्को दबाब दिइरहेको गाउँपालिका अध्यक्ष कमल नेपालले बताए । ‘सडक सहज बनाउन आवश्यक सबै पहलकदमी गरिरहेका छौं, सम्बद्ध निकायमा पुग्ने गरी ध्यानार्कषण गराइसकेका छौं,’ उनले भने । सडक डिभिजन प्रमुख विजयकुमार महतोले सडकको अवस्थाबारे थाहा पाएको र पूर्वाधार कार्यालय र अन्य प्रदेश सरकारसम्बद्ध पक्षसँग समस्या समाधान गर्न लागि परिरहेको दाबी गरे । ‘यसबारे स्थानीय तहबाट जानकारी पाएका छौं, ठेकेदार पक्षलाई गम्भीर बन्न सूचना पनि दिनेछौं,’ उनले भने ।

प्रकाशित : श्रावण १०, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?