१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेसम खोलापारि अति दुर्गम जुगल

दिपु, तेगा, तेम्बाथानवासी शिक्षा, स्वास्थ्य, सडक, बिजुलीलगायत आधारभूत सेवा पाउनबाट वञ्चित
अनिश तिवारी

सिन्धुपाल्चोक — लक्याप भीर, नेस्टम जंगलमा खसेका ४ पहिरो छिचोल्दै नेसम खोलाछेउ आइपुगेकी जुगल गाउँपालिका–३ की बिबिरानी तामाङ टोलाएर बगरतिर हेर्दै थिइन् । तेम्बाथान जडीबुटी लिन गएका लामा आइतबारै त्यहाँबाट फर्किए पनि घर नपुगेपछि बिबिरानी श्रीमान्को खोजीमा झन्डै ६ घण्टा हिँडेर बुधबार नेसम खोला आइपुगेकी थिइन् ।

नेसम खोलापारि अति दुर्गम जुगल

‘उसको झोला खोला किनारमै रैछ, झोलाको अवस्था हेर्दा उनले खोला तर्ने प्रयास गरे तर त्यही क्रममा भेलले बगायो जस्तो लाग्छ । तैपनि भेटिन्छन् कि भनेर खोजिरहेका छौं,’ उनले भनिन्, ‘४ नाबालक छोराछोरी घरमा कुरिरहेका छन्, यता श्रीमान्को अत्तोपत्तो छैन । पुलिसलाई खबर गर्न पनि झन्डै एक दिनजस्तो हिँडेर कात्तिके पुग्नुपर्छ । श्रीमान् खोज्ने हतारोमा त्यहाँ पुग्न सकेको छैन ।’

जुगल–३ का दिपु, तेगा, तेम्बाथानका २ सय २० भन्दा बढी परिवारले प्रहरी सेवा मात्रै होइन, शिक्षा, स्वास्थ्य, सडक, बिजुलीलगायत आधारभूत सेवा अहिलेसम्म पाउन सकेका छैनन् । ‘हामी पनि यही देशका जनता हौं, अरूले जस्तै सरकारलाई कर तिरेका छौं तर हामीसम्म कहिल्यै सरकार आएन, न विकास नै आयो,’ तेम्बाथानका खुन्खेन यशी लामाले भने, ‘गुम्बाथानसम्म सडक त छ तर नेसम खोला तरेपछि बिजुली, मोबाइलमा नेटवर्क, सडक, उच्च शिक्षा, स्वास्थ्य केही पनि छैन ।’ सडक सञ्जालले नछोएकै कारण गर्भवती, सुत्केरी, दुर्घटनामा परी गम्भीर चोट लागेकाहरूलाई उपचार गर्न हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता यसअघिदेखिकै हो ।

‘सक्नेले पो ऋण या जोरजाम गरेर हेलिकप्टर बोलाउँछन् । नसक्ने हामीजस्ता यहीं थलिएर मर्नुपर्छ । हेलिकप्टरको ऋण तिर्न नसकेर उकुसमुकसमा बाँचेका यहाँ धेरै छन्,’ उनले भने । बुहारीलाई सुत्केरी बेथा लागेपछि तेम्बाथानकै याङ्जी शेर्पाले हेलिकप्टर चार्टर गरिन् । ‘तर बुहारीलाई तल (काठमाडौं) लग्दा लागेको २ लाख ऋण अझै तिर्न सकेको छैन, ब्याज तिर्दा हैरान भइसकेको छु,’ उनले भनिन्, ‘हेलिकप्टरमा नलगेको भए बुहारी र नाति दुवैको मुख देख्न नपाउने रहेछु ।’

गाउँमा युवा नभएका कारण स्ट्रेचरमा बोकेर लैजाने अवस्थासमेत नरहेको उनले सुनाइन् । स्ट्रेचरमा बोक्न कोही तयार भइहाले भने पनि भीर र पहिरोको गोरेटो बाटो छिचोल्नु युद्ध लड्नुभन्दा कम नरहेको उनले बताइन् । स्वास्थ्य चौकी जानुपरे पनि २ दिन हिँडेर गुम्बाथानको पाङ्गर्पुस्थित सामुदायिक स्वास्थ्य इकाइ पुग्नुपर्छ । जसका कारण यहाँका अधिकांश बालबालिका खोपबाट वञ्चित छन् । सरकारले विभिन्न समयमा अभियानमार्फत सञ्चालन गर्ने पोलियो थोपा, भिटामिन ‘ए’ खुवाउनेलगायत कार्यक्रममा पनि उनीहरू सहभागी हुन सक्दैनन् । ‘यस्तो भीर र पहिरोको बाटो छ,’ स्थानीय कामी शेर्पाले भने, ‘खोप नपाए पनि मरी त हाल्दैनन् होला नि, तर भीरबाट लडे मर्लान् भन्ने डरले पठाउँदैनौं ।’

गत असार १ मा यी तीनवटै गाउँलाई बजारसँग जोड्ने एक मात्र माध्यम नेसम खोलाको झोलुंगे पुल बगाएपछि स्थानीयको सकस चुलियो । उनीहरूले झन्डै महिना दिन चुँडिएको पुलबाटै जोखिम मोलेरै आउजाउ गरे । मंगलबार तुइन हालिएपछि गाउँका धेरै महिला प्राथमिक उपचार, औषधि र खोपका लागि झन्डै २ दिनको यात्रा गरेर पांगर्पु गएको यशीले सुनाए । ‘धन्न तुइन भने पनि जोडिएछ तर हामीलाई कहिलेचाहिँ सुख छ र ?,’ यशी निराश सुनिए ।

पुल भत्किएपछि तत्कालको आवश्यकता पूरा गर्न स्थानीय राजनीतिक दल र समाजसेवीले दिएको चन्दा र जनश्रमदानबाट तुइन हालिएको हो । तुइन उदघाट्न कार्यक्रम सकिएपछि दिपुका धर्के शेर्पाले स्थानीय नेता/कार्यकर्ताबीच दुखेसो पोखे, ‘यहाँ कहिले पुल बन्ला र खै । उता दिपु र तेगाका दुई दर्जन परिवार पालमा छन्, त्यहाँ ब्रह्मायणीले ध्वस्त बनायो सर, हाम्रो समस्या पनि हेरिदिनुहोला ।’ श्रीमान्को खोजी गरिदिन आग्रह गरेपछि प्रदेश पूर्वमन्त्रीसहितका नेताले बिबिरानीलाई सान्त्वना दिए र प्रहरीलाई खबर गरिदिए । धर्केलाई पनि गाउँमा राहत पुर्‍याउने आश्वासन दिए । सधैंजसो आश्वासन मात्र पाएका धर्केलाई विश्वास नलागेपछि प्रश्न गर्न भ्याइहाले, ‘हाम्लाई पनि सरकारले हेर्छ र सर ?’ जुगलकै बोल्दे बजारबाट माथिल्लो भेगको गोरेटो ठाउँठाउँमा भासिएको र पहिरोले पुरेको छ ।

अहिले स्थानीय लहरामा झुन्डिदै वारपार गरिरहेको धर्केले सुनाए । गुम्बाथानबाट माथिल्ला तीन गाउँ जोड्न ७ किमि सडक खन्न थालिएको २ वर्ष भइसके पनि काम सुस्त छ । यी गाउँमा आधारभूत शिक्षा पाउनसमेत कठिन छ । ५ कक्षाभन्दा माथिल्लो तह पढ्न ५ घण्टाभन्दा बढी हिँडेर गुम्बाथान पुग्नुपर्ने तेम्बाथानका मिङमार शेर्पाले बताए । गाउँमा भएको विद्यालय पनि नियमित सञ्चालन हुँदैन । शिक्षकहरू आलोपालो विद्यालय चलाउँछन् । एउटै कोठामा सबै कक्षाका विद्यार्थीले पढ्नुपर्छ ।

प्रकाशित : श्रावण ९, २०७८ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?