कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सेनाका हुद्दाको हत्या आरोपमा उनकै गणका सिपाही पक्राउ

रमेशकुमार पौडेल

चितवन — नेपाली सेनाको आफ्नै गणका हुद्दा भरत गुरुङलाई गोली हानेर हत्या आरोपमा ‘दि फेमस महिन्द्र दल गण’का सिपाही गंगाधर ढकाललाई चितवन प्रहरीले पक्राउ गरेको छ । यो गण हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ छ ।

सेनाका हुद्दाको हत्या आरोपमा उनकै गणका सिपाही पक्राउ

बिहीबार बिहान भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा खेत नजिक धादिङ निलकण्ठ नगरपालिका घर भएका ३६ वर्षीय भरतको शव फेला परेको थियो ।

टाउकोमा गोली लागेको जस्तो घाउ देखिन्थ्यो । आडैमा एउटा खोका पनि थियो । ‘त्यसैले हामीले हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायौं । त्यसमा संलग्न भएको देखिने एकजना व्यक्ति गंगाधर ढकाललाई बिहीबार नै हामीले समायौं,’ घटनाका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । प्रहरीले एसएमजी हतियारसमेत बरामद गरेको छ ।

ढकालको घर भरतपुर महानगरपालिका–२१ मा छ । प्रहरीले उनलाई भरतपुर–२० चनौलीबाट पक्रेको हो । ढकाल पक्राउ परेपछि उनको बयानको आधारमा भरतपुर–८ बिसहजारी ताल जाने गेट आडको जंगलको झाडीबाट एसएमजी हतियार बरामद भएको थियो । ढकालले बैंकबाट गुरुङको नौ लाख रुपैयाँ झिकेर श्रीमती र बुबालाई बुझाएको पनि प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी अधिकारीले बताए ।

गुरुङको चेकमा आफैले सही दस्तखत गरेर ढकालले बैंकबाट पैसा निकाल्ने गरेको एसपी अधिकारीले जानकारी गराए । गुरुङको बैंकको खाली चेक बोकेर ढकाल साउन २ गते नै चितवन आएका थिए । भोलिपल्ट चेकमा भरत गुरुङको सही आफैले गरेर ढकालले बैंकबाट नौ लाख रुपैयाँ निकालेको खुलेको छ । त्योमध्ये एक लाख रुपैयाँ आफैले राखेको, आठ लाख रुपैयाँ परिवारलाई दिएको एसपी अधिकारीले बताए ।

हुद्दा भरत गुरुङलाई गोली हानी मारेको आरोपमा चितवन प्रहरीले सार्वजनिक गरेको गंगाधर ढकालको तस्बिर ।

साउन ५ गते गुरुङले ढकाललाई फोन गरेर आफू जग्गा पास गर्न चितवन आउन लागेको जानकारी गराएका थिए । त्यसपछि गुरुङलाई लिन ढकाल नै मोटरसाइकल लिएर काठमाडौं गए । ५ गते नै उनीहरु चितवन आएर होटलमा बसेको एसपी अधिकारीले जानकारी दिए । भरत गुरुङ भोलिपल्ट मात्रै भरतपुर–१९ शारदानगर टाउनमा रहेको आफन्तको घर गए । ढकालले आफन्तको घरबाट ६ गते साँझ गुरुङलाई खाजा खान भनेर बोलाए ।

‘त्यसपछि मोटरसाइकलमा राखेर विभिन्न ठाउँमा रातभर डुलाए । घटना भएको ठाउँमा बिहीबार बिहान पाँच बजेतिर मात्रै पुर्‍याएको देखिन्छ,’ एसपी अधिकारीले भने । घटना भएपछि उनी भाग्दै विभिन्न ठाउँ पुगेको देखिने अधिकारीले बताए । सौराहा चोकमा रहेको फुपुको घर गएर झोला छाडेका थिए । त्यसमा एसएमजीमा प्रयोग हुने सात थान गोली र सेनाको पोशाक भेटिएको थियो ।

घटनाको बारेमा प्रारम्भिक अनुसन्धान मात्रै पुरा भएको एसपी अधिकारीले बताए । अरु कोही संलग्न भए नभएका बारेमा खुल्न बाँकी नै रहेको छ । ढकालविरुद्ध जन्मकैद माग गरेर मुद्दा दायर हुने र यसका लागि अनुसन्धान अगाडि बढेको एसपी अधिकारीले जानकारी दिए । मृतकको दुवै कानमाथि गहिरो चोट देखिएको थियो ।

प्रकाशित : श्रावण ८, २०७८ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?