चक्लाबन्दी खेतीबाट उत्पादन दोब्बर

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–२ हत्पतेमा गरिएको चक्लाबन्दी खेतीबाट यसअघिको भन्दा उत्पादन दोब्बर भएपछि किसान उत्साहित बनेका छन् ।

सहभागितामा आधारित सामूहिक चक्लाबन्दी खेतीबाट उत्पादन वृद्धि हुनुका साथै फसल बिक्री गरेर किसानले उच्च मुनाफासमेत आर्जन गरेका छन् ।

वाग्मती प्रदेश सरकारको ३ करोड ८२ लाख रुपैयाँ सहयोगमा प्रदेशमै पहिलो पटक थालिएको चक्लाबन्दी खेतीअन्तर्गत बेमौसमी तरकारी, सिजनको धान, मकै, गहुँ, दलहन र तेलहन लगाइएको छ । यो कार्यक्रममा नमुना कृषि सहकारीमार्फत किसानलाई आबद्ध गराइएको छ । खेतको आम्दानी पनि पाउने र कामको ज्याला पनि पाइने भएपछि यो कार्यक्रम आफूहरूका लागि लाभदायक भएको स्थानीय किसान टीका दाहालले बताए । सामूहिक खेतीमा उत्पादन वृद्धि हुँदा किसानलाई चाहिने फसल राखेर बाँकी बिक्री गर्ने गरेको उनले सुनाए ।

व्यवस्थित कृषि सडक, यान्त्रिकीकरण, सिँचाइ, विद्युत्, प्रविधिलगायत सुविधा उपलब्ध भएकाले उत्पादन वृद्धि भएको नगरपालिकाले दाबी गरेको छ । दुधौली नगर प्रवक्ता रितेश राउतका अनुसार बीउबिजन, यान्त्रिकीकरण र प्रविधि प्रदेश सरकारले उपलब्ध गराएको छ भने कृषि प्राविधिकको व्यवस्था स्थानीय सरकारले गरेको छ । पाइलट प्रोजेक्ट बनाई हाल सय बिघा खेतमा चक्लाबन्दी गरिएको छ । प्राविधिकसमेतको सहभागितामा यान्त्रिकीकरणबाट खेती गर्दा दोब्बर उब्जनी हुने गरेको राउतले दाबी गरे ।

यो वर्ष मकै उत्पादन राम्रो भएकाले धानको उत्पादन पनि राम्रै हुने उनको आकलन छ । कमलाखोंज क्षेत्रलाई अन्न उत्पादनको भण्डार मानिने भएकाले तरकारीका अलावा धान, मकै र गहुँलाई समेत प्राथमिकतामा राखेर खेती गर्न थालिएको उनले बताए ।

प्रदेशकै नमुना चक्लाबन्दी खेती बनाउन लागिपरेकाले किसानमा उत्साह भरिएको दुधौली नगर प्रमुख घनश्याम राउतले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?