चितवनमा एक जनाको शव भेटियो
चितवन — भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा बिहीबार बिहान एक जना पुरुषको शव फेला परेको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार टाउकोमा गोलीले घाउ लागेकोजस्तो देखिन्छ ।
शव फेला परेको जानकारी प्रहरीलाई बिहान साढे आठ बजेतिर आएको थियो । शवको आडैमा गोलीको एउटा खोका पनि भेटिएको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
‘बस्तीदेखि अलि पर खेतको आडमा कुलोमा शव भेटिएको हो । गोली लागेको झैं देखिन्छ । तर गोली चलेको सुन्ने कोही छैनन् । प्रहरीले चाँडै सत्यतथ्य पत्ता लगाउला । त्यो मान्छे उता तिरको जस्तो पनि छैन,’ भरतपुर महानगरपालिका–१७ का वडाध्यक्ष ललितमान तमाङले भने ।
प्रकाशित : श्रावण ७, २०७८ ११:५३प्रतिक्रिया