लक्ष्यभन्दा बढी राजस्व संकलन- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लक्ष्यभन्दा बढी राजस्व संकलन

निषेधाज्ञाले विभिन्न पेसा, व्यवसाय ठप्प भए पनि राजस्व संकलनमा वृद्धि
कान्तिपुर संवाददाता

काभ्रे — कोरोना संक्रमणको दोस्रो लहरमा गरिएको निषेधाज्ञाले विभिन्न पेसा, व्यवसाय ठप्प भए पनि गत आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलनमा भने वृद्धि भएको छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप कार्यक्षेत्र भएको आन्तरिक राजस्व कार्यालय धुलिखेलले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो ।

वैशाख १६ बाट जारी निषेध आदेश कायम रहे पनि सामाजिक दूरी कायम गर्दै पेसा, व्यवसाय सञ्चालन गर्न अनुमति दिइएको छ । पहिलो लहरको संक्रमणका बेला भने लक्ष्य पूरा हुन सकेको थिएन ।

गत वर्ष २ अर्ब ९३ करोड ४३ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा ३ अर्ब ९६ करोड १ लाख २४ हजार रुपैयाँ संकलन भएको प्रमुख राजस्व अधिकृत कमलबहादुर राजलवटले जानकारी दिए । उक्त अंक लक्ष्यको १३४.९६ प्रतिशत हो । ‘गत वर्षको भन्दा यो वर्ष निषेधाज्ञाको अवधि कम भएकाले पनि लक्ष्य पूरा भएको हुन सक्छ,’ राजलवटले भने, ‘कर सचेतना र अनुगमन पनि बढाएका थियौं ।’ उनका अनुसार असारमा मात्रै ७४ करोड ८ लाख रुपैयाँ राजस्व उठेको थियो ।

आन्तरिक राजस्व कार्यालय काभ्रेले रामेछाप र दोलखामा भएका दुई करदाता सेवा कार्यालय र धुलिखेलबाट काभ्रे र सिन्धुपाल्चोकका करदाताबाट राजस्व असुली गर्छ । वस्तु, सेवामा लाग्ने कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायतका राजस्व आन्तरिक राजस्व कार्यालयमार्फत संकलन हुन्छन् । गत आवमा १ अर्ब ९३ करोड २ लाख ८८ हजार आयकर, १ अर्ब ४१ करोड ६४ लाख २७ हजार मूल्य अभिवृद्धि कर, ३२ करोड १८ लाख ५८ हजार अन्तःशुल्क, २३ करोड ८३ लाख ५२ हजार ब्याज कर र ५ करोड ३१ लाख ७६ हजार रुपैयाँ घर बहाल कर संकलन भएको छ ।

काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र दोलखामा गरी ३८ हजार २ सय ६५ करदाता व्यक्तिगत प्यानमा, ३३ हजार २ सय ५३ जना आयकरमा, ४ हजार २ सय ४९ जना मूल्य अभिवृद्धि करमा, १ हजार ४ सय ७५ जना अन्तःशुल्कमा, ८ सय जना संस्थागत प्यानमा आबद्ध छन् । अघिल्लो आवमा भने लक्ष्यभन्दा कम राजस्व संकलन भएको थियो । ३ अर्ब ३० करोड ८६ लाख २० हजार रुपैयाँ अनुमान गरिएकामा २ अर्ब ७८ करोड ५४ लाख ६६ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । उक्त रकम लक्ष्यको ८४.१९ प्रतिशत हो ।

प्रकाशित : श्रावण ७, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

त्यो ओलम्पिक, यो ओलम्पिक

नेपाल ग्रीष्मकालीन ओलम्पिकमा पहिलोपल्ट सन् १९६४ मा सहभागी भएको थियो, जुन टोकियोमै भएको थियो । त्यसको ५७ वर्षपछि फेरि ओलम्पिक टोकियो फर्किएको छ । यसबीच नेपालको प्रदर्शन भने उकासिएको छैन ।
राजु घिसिङ

टोकियो — हरेक खेलाडीले ओलम्पिकमा खेल्ने सपना बुन्ने गरेका छन् । उत्कृष्ट खेलाडीहरू आफ्नो करिअरमा ओलम्पिक स्वर्ण पदक छुटाउन चाहँदैनन् । त्यसैले त ओलम्पिकलाई विश्व खेलकुदकै महाकुम्भ भनिएको हो ।

१९६४ को ओलम्पिक सहभागी नेपाली टिम ।

यसमा नेपाली खेलाडीले सन् १९६४ देखि प्रवेश पाएको हो । नेपालको त्यो पहिलो ओलम्पिक सहभागिता टोकियोमा थियो । ५७ वर्षपछाडि आएर नेपाली ओलम्पिक टिम फेरि यो जापानी राजधानी फर्किएको छ, ओलम्पिकमै प्रतिस्पर्धा गर्न ।

गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करणमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पौडी, जुडो र सुटिङका खेलाडीहरू ‘ओलम्पिक भिलेज’ प्रवेश गरिसकेका छन् भने एथलेटिक्स खेलाडी नेपालमै तयारी गरिरहेका छन् । नेपालको पहिलो ओलम्पिक यात्रामा ६ खेलाडी सहभागी थिए । त्यतिबेला एथलेटिक्समा भूपेन्द्र सिलवाल र गंगाबहादुर थापा टोकियोमा दौडिएका थिए भने बक्सिङमा रामप्रसाद गुरुङ, नामसिंह थापा, भीमबहादुर थापा र ओमप्रसाद पुनले प्रतिस्पर्धा गरेका थिए ।

पहिलो ओलम्पिक यात्राको कथा पनि रोचक छ । म्याराथन विजेता भएकाले भूपेन्द्र र गंगाबहादुर टोकियोमा दौडिने अवसर पाएका थिए । दुवैले ४२.१९५ किमि पूरा गर्न सकेनन् । तर, सहभागितामै उनीहरूले इतिहासको पानामा नाम लेखाइसकेका थिए । धावकहरू काठमाडौंबाट टोकियो पुगेका थिए । चार बक्सर भने हङकङबाट उडेका थिए । किनभने उनीहरू गोर्खा राइफल (बेलायती सेना) मा हङकङमै कार्यरत थिए । यी बक्सर र धावकवीच पहिला कहिल्यै भेट पनि भएको थिएन । पहिलो भेट नै ओलम्पिक भिलेजमा भएको थियो ।

‘पल्टनबाट ६ महिनाको बिदामा घर आएको थिएँ । तिमी ओलम्पिकमा छनोट भयो भनेर खबर आयो । जावलाखेल अफिसमा गएको भोलिपल्टै मलाई हङकङ पठायो,’ बेलायती सेनानिवृत्त भएपछि चितवनमा बसिरहेका रामप्रसादले भने, ‘हामी एउटै पल्टनका चार जना ओलम्पिकमा छनोट भएका रहेछौं । हङकङमा एकसाथ ट्रेनिङ गरेपछि तोकुसिमा (जापान) पुग्यौं, जहाँ एक साता ट्रेनिङ गरेपछि हर्कुलस (हवाईजहाज) चढेर टोकियो गयौं । हामी नेपाली टोलीलाई ओलम्पिक भिलेजमा एउटा घर दिएको थियो । त्यहीं भेट भयो नेपालबाट गएका खेलाडी र पदाधिकारीहरूलाई ।’

सन् १९६४ को ओलम्पिकमा सहभागी नेपाली बक्सिङ खेलाडी रामप्रसाद गुरुङ।

उनी एसियामा पहिलोपल्ट आयोजना भएको ओलम्पिक (१९६४) लाई आफ्नो जीवनकै गौरवपूर्ण क्षण मान्छन् । उनले भने, ‘संसारभरका देशको झन्डासँगै ओलम्पिकमा आफ्नो देश नेपालको झन्डा फरफराएको देख्दा औधी खुसी लाग्दो रहेछ । अरू देशको भन्दा हाम्रो झन्डा फरक छ, अलग्गै देखिन्छ । देशको प्रतिनिधित्व गरेर पहिलोपल्ट ओलम्पिकमा सहभागी भएको भन्दा गर्व महसुस हुन्छ ।’ ७७ वर्षीय उनले थपे, ‘हामीले सहभागी भएर ओलम्पिकमा इतिहास बनाएको सहर टोकियोमा फेरि ओलम्पिक हुँदै छ भन्दा निकै खुसी लाग्यो । यसपालि पनि हाम्रा खेलाडीहरूले नेपालको झन्डा फहराउने छन् । उनीहरूलाई नेपालको नाम र देशको झन्डामा गर्व गर्ने खालको खेल प्रदर्शननिम्ति शुभकामना दिन चाहन्छु ।’

‘पहिलोपल्ट नेपालले ओलम्पिकमा भाग लिएको यही ठाउँमा देशको झन्डा फहराउँदा गर्व लाग्छ,’ यसपालि सुटिङमा ओलम्पिक खेल्ने मौका पाएकी कल्पना परियार भन्छिन्, ‘खेलाडीको सपना हो ओलम्पिक खेल्ने । मेरो सपना यसपालि साकार हुँदै छ । आफ्नो देशलाई चिनाउने आधार हो यो । जतिसक्दो उत्कृष्ट प्रदर्शन गर्नेछु ।’ सिरहाकी २६ वर्षीया उनले महिला १० मिटर एयर राइफलमा शनिबार प्रतिस्पर्धा गर्नेछिन् ।

जुडोका प्रशिक्षक सूर्यनारायण श्रेष्ठले सोल ओलम्पिक सन् १९८८ मा खेलाडीकै रूपमा ओलम्पिक खेल्ने प्रयास गरेका थिए । छनोटको निर्णायक प्रतिस्पर्धामा ऋषिराम प्रधानसँग पराजित भएपछि ओलम्पिक खेल्ने उनको सपना टुटेको थियो । यसपालि उनी सोनिया भट्टको प्रशिक्षकका रूपमा टोकियो ओलम्पिकमा सहभागी हुँदै छन् । ५६ वर्षीय उनले भने, ‘देशले पहिलोपल्ट ओलम्पिक खेलेको ठाउँमा आएर प्रशिक्षककै रूपमा भए पनि ओलम्पिकमा सहभागी हुन पाउनु गर्वको कुरा हो । हामीले ओलम्पिकमा अहिलेसम्म मेडल जितेको छैन । यसपालि पनि मेडल जित्ने भनेको टाढाकै कुरा हो, एउटा बाउट (एक चरणको खेल) जित्न सक्यो भने पनि ठूलो कुरा हुन्छ । त्यसैले हामी चुनौतीसाथ देशको नाम राख्ने प्रयास गर्नेछौं ।’

टोकियोमा ५७ वर्षअघि सामान्य घरहरू बनाएर ओलम्पिक भिलेज तयार गरिएको थियो, जहाँ ओलम्पिकमा सहभागी हुने सबै खेलाडी बसेका थिए । अहिले पनि ओलम्पिकमा सहभागी हुने करिब ११ हजार खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीहरू ओलम्पिक भिलेजमै बस्नुपर्छ । ५ दशकभन्दा बढी समयमा आमूल परिवर्तन भइसकेको छ । यसपालि खेलाडीहरू सानो घर होइन, ठूलै र भव्य महलमा बस्दैछन् । यसलाई पनि ओलम्पिक भिलेज नै भनेको छ ।

सन् १९६८ मा मेक्सिको सिटीमा भएको ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता भएन । त्यसयता भने नेपालले प्रत्येक संस्करणमा सहभागिता जनाइरहेको छ । यसअघिका १३ संस्करणमा नेपालका ८५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यसपालि थप चार खेलाडी ओलम्पियन बन्दैछन् । तर, अहिले पनि नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित भइरहेको छ, त्यो पनि विश्वव्यापी सहभगिता र आमन्त्रण कोटामा ।

तेक्वान्दो खेलाडी विधान लामाले सोल ओलम्पिक १९८८ मा कांस्य पदक जितेका थिए । त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलको रूपमा मात्रै समावेश गरिएकाले ओलम्पिकमा नेपाल ५७ वर्षको यात्रामा पनि अझै पदकविहीन नै छ । तेक्वान्दोका संगीना वैद्य (एथेन्स २००४) र दीपक विष्ट (बेइजिङ २००८) ले छनोट पारेर गरेर ओलम्पिक खेलेका थिए । बाँकी सबै नेपाली विश्वव्यापी सहभागिता र आमन्त्रण कोटामा ओलम्पियन भएका हुन् ।

टोकियो ओलम्पिक २०२० की प्रतिस्पर्धी नेपाली पौडी खेलाडी गौरिका सिंह ।

सबैभन्दा बढी चारपल्ट ओलम्पिकमा सहभागी हुने नेपाली वैकुण्ठ मानन्धर (म्याराथन) हुन् । नेपालले ओलम्पिकमा सबैभन्दा बढी चर्चा पाएको रियो २०१६ मा हो, जहाँ ११ हजार खेलाडीमध्ये त्यो संस्करणकै सबैभन्दा कम उमेरकी खेलाडीमा पौडीकी गौरिका सिंह विश्व चर्चित भएकी थिइन् । समाचारमा छाएकी थिइन् । उनी यसपालि पनि सहभागी हुँदै छिन् । उनीसँगै एलेक्स शाह दुई साता तोकुसिमामा ट्रेनिङ गरेपछि मंगलबार ओलम्पिक भिलेज प्रवेश गरिसकेका छन् ।

फेरि टोकियोमा ओलम्पिक फर्किंदाको कथा अलि फरक छ । समृद्धि देखाउन आयोजना गरिने ओलम्पिकमा जापान सरकारले अर्बौं डलर लगानी गरेको छ । तर, प्रतिफल दिने बेला जापानलाई कोभिड–१९ को महामारीले नराम्रोसँग असर गर्‍यो । महामारीकै कारण एक वर्ष सार्नुपर्‍यो । बिनादर्शक नै खेल सञ्चालन गर्नुपर्ने भयो । महामारीलाई रोक्न कडा नियम ल्याइए पनि ओलम्पिक भिलेज र राजधानी टोकियोमा संक्रमण दर बढेकोबढ्यै छ । आपत्काल घोषणा गरेरै भए पनि जापानले ओलम्पिक आयोजनाको तयारी गरेको छ । ओलम्पिकको उद्घाटन शुक्रबार हुँदै छ । ३३ खेल समावेश यो ओलम्पिकको प्रतिस्पर्धा भने बुधबार सुरु भएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×