१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बनेपा-पनौती सडक ठेक्का लाग्यो, मर्मत भएन

‘अब वर्षाभरि हामीसँग कुनै विकल्प छैन, भदौमा घाम लागेपछि कालोपत्रेको काम सुरू हुन्छ’ 
नगेन्द्र अधिकारी

काभ्रे —  ठेक्का सम्झौता भएर पनि काम नहुँदा बनेपा–पनौती सडकमा यात्रुले सास्ती खेप्ने गरेका छन् । ६ किमि लामो सडकमा हिलो, जमेको पानी र खाल्डाखुल्डीका कारण पार गर्न १ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । 

पनौती–४ का राजेन्द्र थापाले सडककै कारण सास्ती खेप्नुपर्ने बताए । गत वैशाख १५ मा सम्झौता गरी यसै वर्षको मंसिर ३० गते सम्पन्न गर्न कमलजित–गणेश एन्ड गंगा जेभीले ठेक्का पाएको थियो । सम्झौतालगत्तै लकडाउन र निरन्तर वर्षाका कारण काम अघि बढाउन नसकेको कम्पनीले बताउँदै आएको छ ।

सम्झौतालगत्तै निर्माण कम्पनीले बेस थुपारे पनि माटोको मात्रा धेरै हुँदा हिलो भएको थियो । हिलो र खाल्डाखुल्डी धेरै भएको भन्दै नगरपालिकाले पनि १ सय टिपर ग्राभेल हालेको बताएको छ । तर माटोको मात्रा धेरै भएकाले त्यसले झन् हिलो बनाएको छ । सडकमा दैनिक १ हजार निजी सवारीसाधन, १ सयभन्दा बढी सार्वजनिक यातायात र १ हजारभन्दा बढी टिपर चल्ने गरेका छन् । क्षमताभन्दा बढी सामान बोकेर आउने टिपरका कारण सडक थप नाजुक बन्दै गएको स्थानीयको गुनासो छ ।

अरनिको राजमार्गको फिडर सडकमा सूचीकृत बनेपा–पनौती सडक सो सूचीबाट हटेपछि सडक विभागले नियमित मर्मत गर्न छोडेको थियो । पनौती नगरप्रमुख भीम न्यौपानेले वर्षाका कारण सडक बन्न नसकेको स्विकार्दै अबको केही समय सास्ती बेहोर्नुको विकल्प नभएको तर्क गरे । ‘बजेटको व्यवस्थापन नै ढिला भयो, ठेक्का प्रक्रिया दुई महिना लाग्यो, सम्झौता भएलगत्तै पर्न सुरु गरेको पानी अहिले पनि निरन्तर छ,’ प्रमुख न्यौपानेले भने, ‘अब वर्षाभरि हामीसँग कुनै विकल्प छैन, भदौमा घाम लागेपछि कालोपत्रको काम सुरु हुन्छ ।’

योजना कार्यान्वयन गरिरहेको भक्तपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर जयराम अधिकारीले म्यादभित्रै काम सम्पन्न हुने अपेक्षा व्यक्त गरे । ‘तत्काल केही गर्न सकिने अवस्था छैन, खाल्डाखुल्डी पुरेर, ग्राभेल हाले पनि दुई दिनमा उस्तै भइहाल्छ,’ उनले भने, ‘बर्खा सकिएलगत्तै सुरु भए म्यादभित्रै सकिने अपेक्षा छ ।’

सडक निर्माणका लागि बजेट विनियोजन भइरहे पनि सवारी चाप, सडकको गुणस्तरलगायतका कारण सडक चाँडै बिग्रिने गरेको छ । आव २०६८/६९ मा २ करोड बराबरको रकम खर्च गरेर गरिएको कालोपत्र ३ महिना नपुग्दै उप्किएको थियो ।

प्रकाशित : श्रावण ७, २०७८ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?