कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्न कांग्रेसको माग

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल सबै नागरिकलाई कोरोना खोप लगाउने वातावरण निर्माण गर्न अनुरोध गरेको छ ।

सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्न कांग्रेसको माग

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएसँगै बुधबार बालुवाटार पुगेको संसदीय दलको टोलीले कोरोना संक्रमणका कारण देश नै आक्रान्त रहेकाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अनिवार्य व्यवस्था गर्न माग गर्दै अनुरोध पत्र बुझाएको हो । कोरोनाको सबैभन्दा बढी जोखिममा वाग्मती प्रदेश रहेकाले खोपबाट वञ्चित र पहिलो डोज लगाइसकेका जनतालाई यथाशिघ्र खोपको व्यवस्था गर्न संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई अनुरोध गरेका थिए ।

कोरोनाका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र खाद्यान्नको अभाव झेलिरहेका विपन्‍न वर्ग रोगसँगै भोकसँग समेत लडिरहेका जनतालाई स्थानीय सरकारको वडा तहबाट खाद्यान्न उपलब्ध गराउनका लागि संघीय सरकारको पुरक बजेटमार्फत् रकम उपलब्ध गराउन कांग्रेसले अनुरोध गरेको छ ।

प्रदेशको सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत विभिन्न जिल्लामा पछिल्लो समय गएका प्राकृतिक विपत्तिका कारण धनजनको क्षति भएको उल्लेख गर्दै विपद्‌का कारण घरबारविहीन भएका जनतालाई तत्काल घरबारको व्यवस्था र उचित राहातको व्यवस्थाका लागि अनुरोध गरिएको बानियाँले बताए ।

कोरोना अवधिको ब्याजदरलाई न्यून दरमा भुक्तानीको व्यवस्था, निक्षेपको ब्याज र ऋणको ब्याजबीचको संक्रमण दर घटाउने र ब्याजको सिमा निर्धारण गर्ने जस्ता उपाय अवलम्बन, विशेष राहत प्याकेजको व्यवस्था गरी आर्थिक क्षेत्रलाई प्रोत्साहन गर्दै पार्टीप्रतिको निजी क्षेत्रको विश्वास बढाउन आग्रह गरिएको हो । ‘नेपाल कृषि प्रधान देशका कृषकले रासायनिक मल, बिउबिजन, सिचाइँको समस्या झेलिरहनु परेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको सरकारबाट यी क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा जनतामा रहेको छ । यसतर्फ ध्यान दिन हामीले अनुरोध गरेका छौं,’ बानियाँले भने ।

प्रकाशित : श्रावण ६, २०७८ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?