३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सवारी कर अत्यधिक वृद्धि

आन्तरिक आयतर्फ ठूलो हिस्सा ओगटेको सवारी कर, दर्ता, नवीकरण र इजाजत दस्तुर बढाइएको हो 
सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सवारीसाधनको करमा व्यापक वृद्धि गरेको छ । आम्दानी र खर्चमा ज्यादै महत्त्वाकांक्षी देखिएको प्रदेश सरकारले आम्दानी बढाउन सवारी करको दरमा वृद्धि गरेको हो । आन्तरिक आयतर्फको सबैभन्दा ठूलो हिस्सा ओगटेको सवारीको कर, दर्ता, नवीकरण र इजाजत दस्तुरमा अत्याधिक वृद्धि गरिएको छ ।

सवारी कर अत्यधिक वृद्धि

प्रदेश सरकारले चालु आवमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । जुन गत वर्षको तुलनामा ७ अर्ब ७२ करोड ९२ लाख ७ हजार रुपैयाँ बढी हो । प्रदेशको बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । जसमध्ये सबैभन्दा बढी यातायात क्षेत्रबाट १६ अर्ब ९७ करोड रुपैयाँ संलकन हुने अनुमान गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । गत वर्ष यातायात क्षेत्रबाट करिब ११ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

सानो इन्जिन क्षमताका मोटरसाइकल तथा स्कुटरको करको दर बढाइएको आर्थिक मामिला तथा योजना मन्त्रालयकी प्रवक्ता विमला अधिकारीले जानकारी दिइन् । उनका अनुसार ठूला इन्जिन क्षमताका मोटरसाइकलको कर भने यथावत् राखिएको छ । १२५ सीसीसम्मका मोटरसाइकलको करमा २ सय रुपैयाँले र १२६ देखि १५० सीसीसम्मका मोटरसाइकल/स्कुटरको कर ५ सय रुपैयाँले बढाइएको छ । १५० देखि २२५ सीसीसम्मका मोटरसाइकलको कर पनि ५ सय रुपैयाँ र ४ सय सीसीसम्मका मोटरसाइकलको कर २ हजार रुपैयाँले बढाइएको मन्त्रालयले जनाएको छ । ६५० सीसीसम्मको र ६५० सीसीभन्दा माथिका मोटरसाइकलको कर यथावत् राखिएको छ । भाडाका जिप, कार, भ्यान, माइक्रोको कर क्षमताका आधारमा अधिकतम ५ हजार रुपैयाँसम्म बढाइएको छ । भाडाका १३०० सीसीसम्मका जिप, कार, भ्यान र माइक्रोले वार्षिक कर ९ हजार रुपैयाँ बुझाउँदै आएकोमा अब ११ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

भाडाका मिनी बस/ट्रकको कर १ हजार ५ सय रुपैयाँले वृद्धि गरिएको छ भने ठूला बस/ट्रकको कर २ हजारले बढाउँदै २० हजार रुपैयाँ पुर्‍याइएको छ । भाडाका तेल ट्यांकर, ग्यास बुलेटको कर ४ हजारले वृद्धि गर्दै २२ हजार रुपैयाँ पुर्‍याइएको छ । तीनपांग्रे टेम्पो, ट्र्याक्टरमा पनि ५ सय रुपैयाँले कर वृद्धि गरिएको छ ।

प्रदेश सरकारले निजी सवारीसाधनको समेत कर बढाएको छ । अधिकतम ५८ हजार ५ सय रुपैयाँ कर तिर्दै आएका निजी जिप, कार, भ्यान खरिदकर्ताले साउन १ बाट ६५ हजार रुपैयाँ कर बुझाउनुपर्ने भएको मन्त्रालयले जनाएको छ । एक हजार सीसीसम्मका जिप, कार, भ्यानको कर २१ हजारबाट २२ हजार रुपैयाँ पुर्‍याइएको छ ।

१ हजार ५ सय सीसीसम्मका जिप, कार प्रयोगकर्ताले कर २३ हजार ५ सय तिर्दै आएकोमा अब २५ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ । निजी एक्स्काभेटर, डोजर, लोडर, क्रेनको कर पनि १ हजार ५ सय रुपैयाँले वृद्धि गरिएको छ । टिपरको कर ३९ हजार तोकिएको छ भने मिनी टिपरको कर २७ हजार ५ सयबाट वृद्धि गरी ३० हजार रुपैयाँ पुर्‍याइएको छ । मिनी ट्रक र मिनी बसको कर २ हजार ५ सय रुपैयाँले बढाइएको छ । नयाँ दरअनुसार अब निजी मिनी ट्रक र बस खरिदमा २७ हजार रुपैयाँ कर लाग्नेछ । ठूला निजी ट्रक र बसको कर पनि २ हजार रुपैयाँले वृद्धि गरी ३५ हजार रुपैयाँ पुर्‍याइएको छ ।

कर बढाउनु स्वभाविक भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले प्रतिक्रिया दिए । उनले नवीकरण तथा अन्य शुल्क वृद्धि गर्नु र करका दरहरू बढाइनु स्वभाविक भएको बताए । ‘कर वृद्धि मात्र होइन, प्रदेश सरकारले सेवाको क्षेत्र पनि बढाएको छ,’ उनले भने, ‘बजेटको आकार बढेको छ, सोहीअनुसार कर वृद्धि गरिएको हो ।’ प्रदेशसभाले बजेट असार ३१ मा पारित गरिसकेको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?