धान नपाकेपछि गाईबस्तुलाई खुवाइँदै

नगेन्द्र अधिकारी

काभ्रे — रोपाइँ गरेको ५ महिना लागिसक्दा पनि चैते धान नपाकेपछि मण्डनदेउपुरका किसानले काटेर गाईबस्तुलाई खुवाउन थालेका छन् । किसानले स्थानीय व्यापारीमार्फत खरिद गरेर खुमल–११ धानको बीउ रोपेका थिए । तर बेलैमा नपाकेपछि वर्षे धान लगाउन ढिलो हुने भन्दै किसानले धमाधम काट्न थालेका हुन् ।

धान नपाकेपछि गाईबस्तुलाई खुवाइँदै

‘गत चैत ५–६ गतेतिर ३ रोपनीमा रोपेको धान अझै पाकेको छैन, अब पनि खेत खाली गरिएन भने बर्खे धान लगाउन भ्याइँदैन,’ हरियै धान काट्न खेताला बोलाएका मण्डनदेउपुर–७ का रामचन्द्र सापकोटाले भने, ‘२०–३० प्रतिशत पनि धान काम लाग्ने छैन, काटेपछि गाईबस्तुलाई घाँस त हुन्छ ।’ अर्का किसान उद्धव तिमल्सिनाले ४ रोपनी खेतमा २० किलो बीउको धान रोपेका थिए । तर अझै नपाकेपछि उनी पनि धान काटेर फाल्ने तयारीमा छन् । ‘धानको बाला लागे पनि नुहेको छैन,’ उनले भने, ‘एक–दुई दिन कुर्छु, त्यसपछि काटेर बर्खे धान लगाउँछु ।’

सिँचाइको व्यवस्था भएकाले यहाँका अधिकांश किसानले वर्षमा दुई बाली धान लगाउँछन् । फागुन २७ मा मण्डनदेउपुर–८ का महेश्वर दाहालले साढे ३ रोपनी खेतका लागि १५ किलो धानको बीउ लगेर रोपेको सुनाए । ‘बीउ हेर्दा राम्रो देखेपछि लगेर ब्याड राखें, फाल्गुन २७ मा रोपाइँ गरेको अझै पाकेको छैन,’ दाहालले भने, ‘बीउ दिने कम्पनीको मान्छेसँग कुरा गर्दा पाक्न १ सय ४४ दिन लाग्छ भन्ने कुरा भयो । धानको बोट भने पहेंलो भइसक्दा पनि बाला लागेको छैन, लागेको पनि नुहेको छैन ।’ बीउका कारण समस्या भएको गुनासो गरेपछि बीउ उत्पादन कम्पनीले ५० प्रतिशतसम्म मात्रै बेहोर्न सक्ने बताएको उनले सुनाए । ‘मल, बीउ, खेतालासहित हाम्रो लगानी नउठ्ने भयो,’ उनले भने ।

स्थानीय किराना व्यवसायी ध्रुव ढकालले एभरेस्ट सिड कम्पनी प्रालिमार्फत ८ सय केजी धानको बीउ ल्याएर बिक्री गरेका थिए । ढकालले विगतका वर्षमा राम्रो उत्पादन दिए पनि यस वर्ष समस्या आएको स्विकारे । ‘अघिल्लो वर्ष सिपाघाट, ढाड खोलालगायतका फाँटमा राम्रो उत्पादन भएकाले यता पनि ल्याएर बिक्री गरेको हुँ,’ उनले भने, ‘तर यसपटक समस्या आयो, के कारण हो बुझ्दै छौं ।’ मण्डनदेउपुर–८ कुन्ताबेंसी धाइटारमा लगाइएको स्थानीय जातको धान भने पाकेको छ । ‘मैले लगाएको स्थानीय जातको धान पाक्यो, साँधमा लगाएको हाइब्रिड धान पाकेन,’ स्थानीय गंगालाल श्रेष्ठले भने, ‘बाला लागे पनि पाकेको छैन ।’

एभरेस्ट सिडका नारायण भण्डारीले बीउको समस्याले भन्दा पनि मौसम प्रतिकूल भएर पाक्न समय लागेको दाबी गरे । ‘जेठतिर परागसेचन गर्ने बेलामा भारी वर्षा भएका कारण फल लाग्न पाएन, मौसम प्रतिकूल भएकै कारण उत्पादनमा समस्या भएको हो,’ उनले भने । उनका अनुसार टाइचिन जातको खुमल–११ धान बाली विज्ञान अनुसन्धान केन्द्रबाट स्वीकृत जात हो । हिउँद र वर्षायाम दुवैमा खेती गर्न मिल्छ । ‘पाक्न समय लाग्ने भएकाले किसानहरू चिन्तित हुनुभएको हो,’ उनले भने ।

किसान, प्राविधिक, स्थानीय व्यवसायी, बीउ कम्पनीका प्रतिनिधिसहितको छलफलमा नगर प्रमुख टोकबहादुर वाइबाले किसानलाई क्षतिपूर्ति दिन अनुरोध गरेका छन् । कम्पनीले बीउको मूल्यको आधा बेहोर्न तयार भएको बताएको छ ।

प्रकाशित : श्रावण ५, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?