१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बाबुआमा जेलमा, छोराछोरीको बिचल्ली

लागूऔषध ओसारपसारमा संलग्न भई अभिभावक जेल परेपछि छोराछोरी छिमेकी र मावलीको संरक्षकत्वमा बस्न बाध्य छन्
मकवानपुरमा लागूऔषध कारोबार बढ्दो, कैलाश र राक्सिराङका मात्रै ३ सयभन्दा बढी स्थानीय जेलमा
प्रताप विष्ट

हेटौंडा — गत पुसमा १२ केजी गाँजासहित राक्सिराङ गाउँपालिका सरिखेतका २५ वर्षीय मैनबहादुर चेपाङ र उनकी २३ वर्षीया श्रीमती माहिलीमाया चेपाङ नेवारपानीबाट पक्राउ परे । २ हजार रुपैयाँ ज्यालाको आसमा सरिखेत औलेबाट राति गाँजा बोकेर जंगलको बाटो हुँदै नेवारपानीतर्फ ल्याउने क्रममा उनीहरूलाई प्रहरीले बाटोमै पक्राउ गरेको थियो ।

बाबुआमा जेलमा, छोराछोरीको बिचल्ली

अहिले माहिलीमाया भरतपुर कारागारमा र मैनबहादुर भीमफेदी कारागारमा छन् । तर उनीहरूका ९ महिनादेखि ८ वर्षसम्मका २/२ जना छोराछोरी अलपत्र परेपछि अहिले मावलीको रेखदेखमा छन् ।

मावलीको आर्थिक अवस्था पनि सबल छैन । जसका कारण उनीहरूको लालनपालनमै समस्या भइरहेको मामा कृष्णबहादुर चेपाङले बताए । ‘मेरा पनि ५ जना छोराछोरी छन् । भान्जाभान्जीसमेत गर्दा घरमा ९ जना त बालबच्चा मात्रै भए । यत्रो परिवारलाई सम्हाल्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘त्यसैले ४ जनालाई मात्रै स्कुल पठाउन सकेको छु ।’ अन्य आफूसँगै ज्यालाबनी गर्न जाने गरेका उनले सुनाए ।

कैलाश गाउँपालिकाको कोथलीका मंगलबहादुर चेपाङ दम्पती गाँजासहित पक्राउ परेपछि उनीहरूका ५ जना छोराछोरी अलपत्र परे । अभिभावकत्व दिने कोही नभएपछि उनीहरूलाई छिमेकी र मावलीले संरक्षण दिएका छन् । छिमेकी सुरेन्द्र चेपाङले एक छोरीसहित ३ जनालाई आफूसँगै राखेका छन् । जसमध्ये २ जना पढ्न विद्यालय जान्छन् । ‘मेरो घरको अवस्था पनि बलियो होइन । ज्यालाबनी नगरी खान पुग्दैन,’ सुरेन्द्रले भने, ‘छिमेकका बालबच्चाको बिचल्ली देख्न नसकेर ल्याएर पालेको हुँ ।’ मंगलबहादुरका बाँकी २ जना छोराछोरीलाई मावलीले जसोतसो हुर्काइरहेको छ ।

मकवानपुरका विकट मानिने राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजाको भरिया बन्दा पक्राउ पर्ने थुप्रै परिवारको अवस्था यस्तै छ । यहाँ गाँजा र अफिम खेतीसमेत गरिन्छ । छिमेकी धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पनि गाँजा र अफिमको उत्पादन हुँदै आएको छ । उत्पादित गाँजा र अफिम व्यापारीहरूले विभिन्न बाटोबाट भारत निकासी गर्छन् । भरियाका रूपमा त्यसै क्षेत्रका विशेष गरी चेपाङ समुदायका युवायुवतीलाई राम्रो ज्याला दिने प्रलोभन दिएर गाँजा, अफिम ओसारपसारमा लगाउँछन् । तर ओसारपसारकै क्रममा उनीहरू प्रहरीको फन्दामा पर्ने गरेका छन् ।

लागूऔषध ओसारपसारका क्रममा बुबाआमा तथा अन्य अभिभावक पक्राउ परेपछि उनीहरूका सन्तान तथा भाइबहिनी अलपत्र पर्ने गरेका छन् । ‘गाँजा बोकेका कारणले आमाबाबु नै प्रहरीले समातेर जेलमा पठाएपछि उनीहरूका छोराछोरीको बिचल्ली भएको छ,’ राक्सिराङ अध्यक्ष राजकुमार मल्लले भने, ‘अभिभावक जेलमा र छोराछोरी बिचल्लीमा परेका परिवारको संख्या हाम्रो पालिकामा मात्रै ४० भन्दा बढी छ ।’ उनका अनुसार लागूऔषध ओसारपसारमा संलग्न आरोपमा राक्सिराङ र कैलाश गाउँपालिकाका तीन सय जनाभन्दा बढी स्थानीय अहिले जेलमा छन् । उनीहरूमध्ये अधिकांश चेपाङ समुदायका हुन् । मकवानपुर प्रहरीका अनुसार अधिकांश चेपाङ समुदायका युवायुवती भरिया मात्रै हुने गरेको विभिन्न अनुसन्धानबाट खुल्ने गरेको छ । भरियाहरूको खुट्टामा चप्पलसमेत हुँदैन । कतिसम्म भने उनीहरूलाई मुख्य कारोबारीबारे केही जानकारी हुँदैन । कारोबारीले भरिया पक्राउ परे पोल खुल्ने डरले नक्कली नाम, ठेगाना बताउने गरेका छन् ।

कैलाश गाउँपालिका भार्ताका २१ वर्षीया सरिता चेपाङ र उनका भाइ १८ वर्षीय सुरेश चेपाङलाई गत असोजमा मनहरी बजार नजिकैबाट दुई पोका गाँजासहित प्रहरीले पक्राउ गर्‍यो । ५/५ केजीको प्लास्टिकमा प्याक गरिएको गाँजा मनहरी बजारसम्म पुर्‍याए एक/एक हजार रुपैयाँ ज्याला पाउने आसमा उनीहरू भरिया बनेका थिए । कसको गाँजा, कहाँ लैजाने उनीहरूलाई केही अत्तोपत्तो थिएन ।

‘मनहरी पुलको मुखमा बसिरहनू, गाँजा लिन त्यहीं आउँछौं, ज्याला पनि दिन्छौं’ भनेका भरमा उनीहरू उक्त काममा संलग्न भएका थिए । गाँजा लिन आउने मानिसभन्दा पहिले नै प्रहरी आएर उनीहरूलाई समातेको हो । कमजोर आर्थिक अवस्थाका कारण आफूहरू लागूऔषध ओसारपसारमा संलग्न रहेको उनीहरूले बयानमा बताएका प्रहरीको भनाइ छ । लागूऔषध कारोबार मुद्दामा सरिता भरतपुर कारागार र सुरेश भीमफेदी कारागारमा जेल जीवन बिताइरहेका छन् ।

कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन र निषेधाज्ञा गरिए पनि मकवानपुरमा अघिल्लो आवभन्दा गत आवमा धेरै परिमाणमा लागूऔषध बरामद र कारोबारी पक्राउ परेका छन् । गत आवमा लागूऔषधसहित पक्राउ पर्नेमा ९ विदेशी र १ सय ३७ नेपाली छन् । तीमध्ये सय जना हाराहारी राक्सिराङ र कैलाशका मात्रै रहेका जिल्ला प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताए । उनका अनुसार यो अवधिमा १ हजार ७ सय ८ केजी गाँजा, २३ केजी चरेस, ४ केजी अफिम र १४ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

सबैभन्दा बढी निषेधाज्ञा अवधिमा गाँजासहित कारोबारीहरू पक्राउ परेका छन् । गत असारमा मात्र प्रहरीले ६ सय ५२ केजी गाँजासहित ३१ जनालाई पक्रेको थियो । जिल्लामा आव २०७६/७७ मा १ हजार ४ सय २० केजी गाँजा र २२ केजी चरेससहित १ सय ३३ जना पक्राउ परेका थिए ।

प्रकाशित : श्रावण ५, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?