कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो पासपोर्ट बनाउन छाडेर व्यवसायमा लागे

१०२ टनेलमा तरकारी खेती, १० जनालाई प्रत्यक्ष रोजगारी
नगेन्द्र अधिकारी

काभ्रे — २५ हजार रुपैयाँबाट सुरु गरेको व्यवसायमा अहिले १ करोड बढी लगानी भइसकेको छ । नमोबुद्ध–८ पीपलटारका ३२ वर्षीय दीपेशचन्द्र लामा मिहिनेत गर्दा स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । एलिस्का कृषि फार्ममार्फत १ सय २ वटा टनेलमा तरकारी, १० वटा भैंसी र गाई र ५० वटा बाख्रा, खसी/बोकासहितको कृषि व्यवसायमा उनको सफलतापछि धेरैले गाउँमा नै तरकारी खेती सुरु गरेका छन् । 

२०६६ सालमा दीपेश विदेश जाने सोचसहित पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे पुगेका थिए । त्यहाँ भीड देखेपछि दिउँसो २ बजे परराष्ट्र पुगेर लाइनमा पनि बसे । करिब १२ घण्टामा पनि पालो नआउने देखेपछि आफूले बोकेको सिफारिसको कागज च्यातेर कोठामा गएर सुते । ‘पासपोर्ट बनाउन त यति दुःख छ भने विदेशमा गएपछि झन् कति दुःख होला भन्ने सम्झिएँ,’ दीपेशचन्द्रले भने, ‘त्यसपछि स्वदेशमा नै केही गर्ने सोच बनाएर घर फर्किएँ ।’

काठमाडौंबाट फर्किंदा ७–८ किलो आँप ल्याएर केही सामान थप्दै २५ हजार लगानीमा किराना पसल सुरु गरेका थिए उनले । बिस्तारै धान, मकै संकलन गरी बिक्री गर्न थालेका उनलाई गाउँमा नै राइस मिल सञ्चालन गर्ने सोच आयो । ‘आफूले संकलन गरेको धान कुटेर लोकल चामल उत्पादन गर्ने भनेर राइस मिल सञ्चालन गरें,’ दीपेशले भने, ‘मिलबाट राम्रो आम्दानी हुँदै गएपछि मलाई थप लगानी गर्न हौसला मिल्दै गयो ।’ २०७२ सालको भूकम्पपछि निजी आवास निर्माणले तीव्रता पाएपछि निर्माण सामग्री ढुवानीको समस्या हुन थाल्यो । एउटा मिनिट्रक किन्ने सोच बनाएर पैसा खोज्दा परिवार र आफन्त कसैले पत्याएनन् । ‘गाडी किन्न जग्गा धितो राख्नुपर्ने बैंकले बताएपछि घरमा सल्लाह गरे, साथीहरूसँग ऋण मागे, विदेश जान ऋण खोजिदिन्छु भन्ने बुबाले गाडी किन्ने पैसा दिन मान्नुभएन,’ ती दिन सम्झँदै उनी भन्छन्, ‘बैंकले समेत लोन पत्याएन, तर जोरजाम गरेर गाडी किनें ।’

आफ्नो मिलमा जम्मा हुने अन्न, भुस आदि व्यवस्थापनका लागि उनले खसी/बोका पाल्ने निधो गरे । थोरैबाट सुरु गरेका उनको फार्ममा ५० माउ, खसी/बोका, पाठापाठी छन् । अबको दुई महिनामा ९० वटा पुग्ने उनले दाबी गरे । ‘आफ्नै मिलमा उत्पादन भएको अन्न व्यवस्थापनका लागि बाख्रापालन सुरु गरें, त्यसपछि बाख्राको मल जम्मा हुन थालेपछि तरकारी खेती सुरु गरेको हुँ,’ उनले भने, ‘१ सय २ टनेलमा गरेको तरकारी खेतीका लागि मल अभाव भएपछि गाईभैंसी पनि थप्ने निर्णय गरेको हुँ, अहिले ८ भैंसी र २ गाई छन् ।’ संकलित मल तरकारी खेतीमा प्रयोग गर्छन् । ५ सय मिटर तल खोलाबाट पानी तानेर सिँचाइ गरेका छन् । आफ्नो ७ रोपनी र भाडामा आफन्तको ३२ रोपनी जग्गामा खेती गरेका छन् ।

एकपछि अर्को व्यवसाय थप्दै गएका दीपेशले १ करोडभन्दा बढी लगानी गरिसकेका छन् । सुर्खेतका ३ दम्पती र स्थानीय २ दम्पती गरी १० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनको फार्मका गाईभैंसीले दैनिक ९० लिटर दूध दिन्छन् । स्थानीय अन्य कृषकको समेत संकलन गरी दैनिक २ सय ५० लिटर दूध बिक्री गर्ने गरेका छन् । २ वर्षदेखि तरकारी खेती गरेका उनले गत वर्ष एक सिजनमा मात्रै २० वटा टनेलबाट २५ लाखको आम्दानी गरेका छन् । यो वर्ष ५० वटा टनेलमा लगाएको गोलभेंडाले आम्दानी दिन सुरु भएको छ भने अन्य ५२ वटामा फल्ने क्रममा छ । उत्पादित तरकारी स्थानीय बजारका साथै बानेश्वर, कालीमाटी र जडीबुटीमा लगेर आफैं बिक्री गर्छन् ।

उनले मासिक ३ लाखसम्म कमाइ गरिरहेका छन् । ‘बैंक, सहकारीहरूले अझै सहुलियत कर्जा पत्याएका छैनन्, गाउँमा कृषि पेसा गर्न ऋण खोज्दा काठमाडौं, बनेपामा घरजग्गा खोज्छन्,’ उनले भने, ‘१ लाखको ५ हजारसम्म ब्याज तिरिरहेको छु, सहुलियत कर्जा पाउने हो भने ब्याज खर्च घटेर आम्दानी बढ्थ्यो ।’ चर्को ब्याज तिर्न बाध्य उनले सरकारी अनुदानसमेत पाएका छैनन् । प्रदेश सरकारले कृषि उद्यम गर्न चाहनेबाट आवेदन मागेपछि कृषि ज्ञान केन्द्र पुगे पनि त्यहाँका हाकिमले फर्काएको तीतो अनुभव छ उनीसँग । ‘प्रदेशको सूचना देखेपछि केही सहुलियत पाइन्छ कि भनेर निवेदन लिएर गएँ, यो तपाईंहरू जस्ताका लागि होइन, तपार्इंहरूको पहुँच पुग्दैन भनेर हाकिमले फर्काइदिए,’ उनले भने, ‘अन्य सरकारी निकायबाट पनि ५० प्रतिशत अनुदानमा एउटा भुस्सा काट्ने मेसिनबाहेक केही पाएको छैन ।’

जानी, नजानी कृषि कर्ममा लगानी गरेको भन्दै उनले प्राविधिक, मेसिनरी औजार आदि सहयोग हुने भए अझ राम्रो गर्न सकिने तर्क गरे । स्थानीय सरकारले टनेल निर्माणका लागि प्लास्टिकसमेत उपलब्ध नगराएको तीतो अनुभव उनी साट्छन् ।

प्रकाशित : श्रावण ३, २०७८ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?