बीपी राजमार्गमा पहिरैपहिरो



सिन्धुली — मनसुन सक्रियसँगै लगातारको वर्षाले जेठ अन्तिम सातायता बीपी राजमार्गका चारवटै खण्डमा गरी चार दर्जनभन्दा बढी पहिरो खसेका छन् । जापान सरकारको अनुदान सहयोगमा बनेको यो राजमार्गको सिन्धुलीमाडी–खुर्कोट र बर्दिवास–सिन्धुली खण्डमा बढी पहिरो खसेको छ ।

सिन्धुलीमाडी–बर्दिवास खण्ड (३७ किलोमिटर) अन्तर्गत फिटिङनजिक पटक–पटक ढुंगासहितको पहिरो झर्दा सडक अवरुद्ध हुने गरेको छ । तत्कालै मेसिन लगाएर पहिरो पन्छाउने गरिएकाले लामो समय यातायात सेवा अवरुद्ध नभएको सडक आयोजनाले जनाएको छ । तर स्थानीय भने यसको दीर्घकालीन समाधान खोज्न सुझाउँछन् ।
ढुंगासहितको पहिरो खस्ने भएकाले ठूलै दुर्घटना निम्तिन सक्ने भन्दै बेलैमा जोखिम न्यूनीकरणको काम थाल्न कमलामाई नगरपालिका–११ का रमेश कार्कीले आग्रह गरे । ‘तीन वर्षअघिदेखि फिटिङनजिक बर्सेनि पहिरो खसिरहेको छ,’ उनले भने, ‘खस्न सक्ने जति ढुंगा हिउँदमा हटाएर वृक्षरोपण नगर्ने हो भने ठूलै दुर्घटना निम्तिन सक्छ । माथि पहिरो छ, तल ग्वाङखोला बगिरहेको छ, जाने ठाउँ कतै नभएकाले समाधानका उपाय ननिकाले खतरा छ ।’
सदरमुकाम सिन्धुलीमाडीबाट माईस्थानसम्मको ८ किमि क्षेत्रमै सानाठूला दर्जनभन्दा बढी पहिरो खसेका छन् । ‘बर्सेनि पहिरो झरिरहन्छ,’ अर्का स्थानीय सुरतबहादुर स्याङ्तानले भने, ‘जब सडक अवरुद्ध हुन्छ अनि मात्र पहिरो हटाउन तातो लाग्छ, हिउँदभर पहिरो रोकथामको कुनै काम हुँदैन ।’ पहिरो मात्र होइन, सडकमा भएका खाल्डाखुल्डीले समेत दुर्घटनाको जोखिम बढाएको उनले बताए । ‘यो सडकमा यति खाल्डाखुल्डी छन् कि गनेर साध्य छैन,’ उनले भने, ‘विदेशीले बनाइदिएको बाटो यहाँकाले संरक्षण गर्न पनि सकेनन् ।’
सिन्धुलीमाडी–खुर्कोट खण्ड (३९ किमि) मा अधिकांश संरचना उकालो–ओरालो र घुमाउरो छ । यस खण्डमा मात्रै ६ स्थानमा पहिरो खसेको छ । गाउँपालिका र अन्य स्रोतबाट जथाभावी सहायक सडक निर्माण गर्दा लेदोसहितको पहिरो आउने भएकाले बीपी राजमार्गको भविष्य नै खतरामा परेको बताउँछन् गोलन्जोर गाउँपालिका–५ रतनचुराका हरि गजुरेल । ‘गाउँगाउँमा सडक पुर्याउने भन्दै जथाभाबी शाखा सडक खनिएको छ,’ उनले भने, ‘सडक खन्दा माटो थुप्रिने र बर्खामा पाखै बगाएर लेदोसहित झर्दा राजमार्ग नै ढाक्छ । सहायक सडक खन्दा कतैबाट स्वीकृति लिनु नपर्ने भएकाले राजमार्ग छियाछिया बनाएको छ ।’
सिन्धुलीगढी भएर महाभारत क्षेत्रमा साइकल जोन बनाउने नाममा गोलन्जोर गाउँपालिकाले ५० लाख रुपैयाँ लगानी गरेर सडक खनेको थियो । सोलाभन्ज्याङमा त्यही सडकबाट बर्सेनि लेदोसहितको माटो बगेर आउँदा बीपी राजमार्गमा क्षति पुग्ने गरेको स्थानीय रामहरि थापाले बताए । ‘सडकमा सवारी कुदाउने मात्र भए, संरक्षणमा कसैले चासो दिएनन् । पहिरोले सालिन्दा सडक अवरुद्ध हुन्छ,’ उनले भने ।
खुर्कोट–नेपालथोक खण्ड (३४ किमि) सडकमा समेत ठाउँठाउँमा पहिरो खसेको छ । खुर्कोट–खाल्टे नजिक ५ वर्षअघि खसेको पहिरोले महिनौं सडक अवरुद्ध बनेको थियो । जापानी सहयोग निकायले नै चासो दिएर तीन महिनामा पहिरो खसेको सडक पुनर्निर्माण गरेपछि मात्र अवरुद्ध यातायात सेवा सञ्चालनमा आउन सकेको थियो । २०७२ को भूकम्पपछि दर्जनौं स्थानमा चर्किएको सडक जापानकै सहयोगमा पुनर्निर्माण भएको थियो । सुनकोसी नदी किनारमा खुलेका दर्जनौं क्रसर उद्योगबाट उत्पादित निर्माण सामग्री सडकको भारवहन क्षमता नहेरी सवारी साधनले राजधानी ढुवानी गर्ने भएकाले तारजाली लगाएर अड्याएको सडकमा थप खतरा निम्तिएको सित्तलपाटीका नवीन पौलले दाबी गरे । प्राविधिक जाँचबिनै खनिएका सहायक सडक र बढी भारवहन क्षमताका सवारी चल्दा बीपी राजमार्ग जीर्ण बन्दै गएको उनको ठम्याइ छ ।
नेपालथोक–धुलिखेल खण्ड पनि क्रसर उद्योगले दर्जनौं स्थानमा पहाड भत्काउँदा पहिरोमय बनेको छ । नेपालथोकका ध्रुवहरि श्रेष्ठ स्थानीय खोलामा लच्का मात्रै हुनु र क्रसरले पहाड भत्काउँदा बीपी राजमार्ग केही वर्षमा नै सञ्चालन हुनै नसक्ने अवस्थामा पुग्ने दाबी गर्छन् । बर्दिवास–सिन्धुली–धुलिखेल सडक आयोजनाका प्राविधिक रमेश आचार्य सहायक सडक खन्ने, घडेरी खार्नेलगायत राजमार्गलाई क्षति हुने काम इजाजतबिनै हुने भएकाले समस्या पैदा भएको बताउँछन् । ‘बीपी राजमार्ग संरक्षणमा चासो दिने बेला भएको छ,’ उनले भने ।
प्रकाशित : श्रावण २, २०७८ ०९:५०




















