कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रातभर चौरको बास

नगेन्द्र अधिकारी

काभ्रे — स्थानीय ढुंगा खानीको अनियन्त्रित उत्खननका कारण खसेको पहिरोले बाटो अवरुद्ध हुँदा कोरोनाविरुद्धको खोप लगाएर फर्किएका ज्येष्ठ नागरिक चौरमै रात काट्न बाध्य भएका छन् । पनौती–२ घैयाबारीमा रहेको कोहिनुर रोडाढुंगा उद्योग प्रालिले मापदण्डविपरीत उत्खनन गर्दा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

रोशी खोलामा जलस्तर पनि बढेकाले कुशादेवीमा खोप लगाएर फर्किएकाहरू रातभर चौरमा अलपत्र परेका हुन् ।

‘कुशादेवीमा कोरोनाको खोप लगाएर फर्किंदै थियौं, खानीबाट झरेको पहिरोले घर जान सकिएन । बिरामी मान्छे रातभर एउटा छाताको भरमा चौरमा रात काट्नुपर्‍यो,’ पनौती–२ नयाँगाउँका अर्जुन आचार्यले भने, ‘बेलुका साढे ७ बजे आइपुगेका थियौं, बाटो नभएका कारण घर गएर औषधिसमेत खान पाइएन ।’ दमका रोगी उनले खानीका कारण पटकपटक समस्या भोग्दै आएको गुनासो गरे । ‘अघिल्लो पटक पनि अस्पताल जान खोज्दा ४ घण्टा सडक थुनियो,’ उनले भने, ‘खानीका कारण पहिरो खस्दा बस, एम्बुलेन्स चल्ने अवस्था छैन । सधैं यस्तै हुने हो कि ? हामीले अकालमा ज्यान फाल्नुपर्ने भयो ।’

पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । किसानले दूध, तरकारीलगायत स्थानीय उत्पादन बजारसम्म लगेर बिक्रीसमेत गर्न पाएका छैनन् । पहिरो पन्छाएर गेग्रान खोलामा हाल्ने गरिएकाले खोला साँघुरिएको र भेल आउँदा सडक, बस्ती र खेतीयोग्य जमिन कटान गर्ने भन्दै तल्लो तटीय क्षेत्रका स्थानीय त्रासमा छन् । ‘बाटो पनि छैन, खोला तर्ने आँट पनि छैन । खानु न पिउनुसँग खोला किनारमा रात बिताउनुपर्‍यो,’ श्रीमान्सँगै खोप लगाएर फर्किंदै गरेकी स्थानीय कान्छीमाया आचार्यले भनिन्, ‘पहिरो आएर थिचिहाल्ला कि भनेर डराइडराइ रात काट्यौं ।’

‘घैयाबारीबाट पहिरो खसेर खोलाघारीमा सडक अवरुद्ध भएको छ, खोलासमेत थुनिएको छ,’ पनौती–१२ का वडा सदस्य प्रह्लाद केसीले भने, ‘खोप लगाएर फर्किनुभएकाहरू बीचमै अलपत्र परेपछि केहीलाई डोजरमै हालेर तार्‍यौं । तारेरसमेत घर पुग्न नसक्नेहरूले चौरमै रात कटाउनुभएको सुने ।’ उनले वडा–२ मा जमिन अझै भासिएको भन्दै ठूलो पानी नपरोस् भनेर पुकार्दै बसेको बताए । पनौती–१२ का अध्यक्ष ईश्वर जंगमले खानीको कारण पटकपटक समस्या सिर्जना भएको भन्दै सबै पक्षले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

पनौती–२ र १२ को सिमानामा कोहिनुर, काठमाडौं, भालेश्वर, रोशी खोला, पनौती, कार्की, रुसी खोला रोडाढुंगा र डायमन्ड स्टोन प्रालि गरी ८ ढुंगा खानी तथा क्रसर उद्योग सञ्चालनमा छन् । यी उद्योगले थुपारेको डस्ट (धूलो) का कारण रोशी खोलासमेत साँघुरिएका कारण पहिरो खसे कुनै पनि बेला थुनिने अवस्था छ । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नगर प्रमुख भीमप्रसाद न्यौपानेलगायत सुरक्षा निकायका अधिकारीले यस क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित : श्रावण २, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?