कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चन्दा उठाएर तुइन

अनिश तिवारी

सिन्धुपाल्चोक — अझैसम्म सडक सञ्जालमा नजोडिएको जुगल गाउँपालिकाको दिपु, तेगा र तेम्बाथान पुग्ने एक मात्र माध्यम नेसम खोलाको झोलुंगे पुल बाढीले बगाएको एक महिना भइसकेको छ । तर पुल मर्मतका लागि स्थानीय तह तथा अन्य सरोकारवालालाई गुहार्दा पनि सुनुवाइ नभएपछि स्थानीयले चन्दा उठाएर उक्त स्थानमा तुइन बनाउन थालेका छन् ।

चन्दा उठाएर तुइन

खोला वारपार गर्ने अन्य विकल्प नहुँदा असार १ यता स्थानीय चुँडिएको झोलुंगे पुलमै झुन्डिएर जोखिमपूर्ण रूपमै आउजाउ गरिरहेका छन् । ‘तुइन निर्माणको ८० प्रतिशत काम सकिएको छ । यसका लागि झन्डै ७ लाख खर्च हुने अनुमान गरेका छौं । त्यसका लागि पार्टीका कार्यकर्ता तथा समाजका सबै पक्षसँग चन्दा उठाएर निर्माणमा खट्दै छौं,’ निर्माणस्थलमै भेटिएका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले भने ।

उनका अनुसार तुइनका लागि लट्ठा, कोक्रोलगायत सामग्री खरिद, पोल र जिप निर्माण तथा कंक्रिटिङको काम सकिएको छ । साता दिनभित्र तुइन सञ्चालनमा ल्याइसक्ने उनको भनाइ छ । ‘जोखिमपूर्ण रूपमा पुलमा झुन्डिएर यात्रा गर्नुको बदला तत्काललाई तुइन हालेर सम्पर्क जोडिएको हो । तर दीर्घकालीन रूपमा यो उपयोगी हुने छैन, झोलुंगे या मोटरेबल पुल जरुरी देखिन्छ,’ उनले भने ।

बाढी गएको २५ दिनपछि अवलोकनका लागि हेलम्बुको गणेशेबगर र मेलम्ची नगर पुगेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोले जुगलमा पुर्‍याएको क्षतिबारे चासो राख्दै पुनर्निर्माणमा जुट्ने आश्वासन दिएका थिए । तर कतैबाट पहल भएको थिएन । सडक, बिजुली, उच्च शिक्षाजस्ता विकासको पर्खाइमा रहेका यी तीन गाउँका २ सय २० परिवारलाई सामान्य ओषधोपचार तथा किनमेलका लागि गुम्बाथान बजार आउन यही पुलको भर थियो । तर पुल नै बगाएपछि उक्त क्षेत्रका बाढीपहिरोपीडितलाई पनि हेलिकप्टरबाटै राहत सामग्री ढुवानी गरिएको थियो ।

त्यसैगरी, ब्रह्मायाणी खोलाको बाढीले दिपु र तेगा जोड्ने पुल पनि बगाएको छ । खोलाको कटान बढेपछि जोखिम रहेको भन्दै दर्जनभन्दा बढी परिवार सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन् ।

प्रकाशित : असार ३१, २०७८ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?