विद्यालयमा धमाधम कम्प्युटर प्रयोगशाला

सिन्धुली — सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन कम्प्युटर र इन्टरनेट जडान कार्यलाई तीव्रता दिइएको छ । हाल जिल्लाभर निषेधाज्ञा रहेकोले विद्यालय बन्द छन् । यसलाई अवसरमा बदल्दै संघीय सरकारको अनुदान र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो कार्य भइरहेको हो ।

कमलामाई नगरपालिका–२ भद्रकालीस्थित जनजागृति माविले कम्प्युटर प्रयोगशाला स्थापना गरेको जनाएको छ । प्रधानाध्यापक रमेशप्रसाद देवकोटाले विद्यालयको पठनपाठन कार्यलाई सहज र प्रविधिमैत्री बनाउन प्रयोगशाला सहायकसिद्ध हुने विश्वास व्यक्त गरे । विद्यालयमा १८ वटा डेस्कटप कम्प्युटर र ८ वटा ल्यापटप खरिद गरी प्रयोगशाला निर्माण गरिएको छ । ‘विद्यार्थीहरूको भौतिक उपस्थिति हुनासाथ कम्प्युटर कक्षा पनि थालनी गरिनेछ,’ उनले भने ।
चालु आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ५१ वटा सामुदायिक विद्यालयलाई ४ करोड ६० लाख ५० हजार रुपैयाँ विनियोजन भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छनोट गरेका विद्यालयहरूमा कम्प्युटर प्रयोगशाला, कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, पुस्तकालय तथा विज्ञान प्रयोगशाला निर्माणलगायतमा रकम खर्चिने भनिएको थियो ।
कमलामाईले अहिले माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना र इन्टरनेट जडानलाई अभियानकै रूपमा सञ्चालनगरिएको नगरपालिकी शिक्षा शाखा अधिकृत हितकुमारी पौडेलले बताइन् । कोरोना महामारीलाई लक्षित गरी अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयमा इन्टरनेट जडान गर्न संघीय सरकारबाट प्राप्त रकम १२ हजार रुपैयाँका दरले विद्यालयहरूमा पठाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार शैक्षिक सुधार कार्यक्रममा समेटिएका विद्यालयहरूले तोकिएबमोजिमको काम सम्पन्नको चरणमा पुर्याएका छन् । जिल्लामा ५ सय ७५ सामुदायिक विद्यालय छन् ।
प्रकाशित : असार २९, २०७८ १२:२५