कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

द्वन्द्वपीडितलाई डेढ करोड

३० स्थानीय तहका द्वन्द्वपीडितले मात्र पाए रकम
प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले द्वन्द्वपीडित वा उनका परिवारको औषधोपचार, स्वरोजगार र सीप विकास तालिमका लागि चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ खर्चेको छ । द्वन्द्वपीडित आफैं वा परिवारका एक सदस्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयले औषधोउपचार, स्वरोजगार र सीप विकास तालिमका लागि प्रतिव्यक्ति बढीमा ३० हजार रुपैयाँ उपलब्ध गराएको हो । 

द्वन्द्वपीडितलाई डेढ करोड

मन्त्रालयले प्रदेशका १ सय १९ वटा स्थानीय तहसँग द्वन्द्वपीडितको सूची माग गरेको थियो । द्वन्द्वपीडितलाई औषधि उपचार, सीप विकास तालिम र स्वरोजगार के लागि सहयोग आवश्यक परेको हो, सम्बन्धित स्थानीय तहमार्फत मन्त्रालयमा सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको थियो । जसअनुसार चालु आवमा प्रदेशका ३० वटा स्थानीय तहले मात्र यस्तो सिफारिस पठाएका थिए । उक्त सिफारिसका आधारमा सम्बन्धित पालिकामा रकम निकासा गरिएको मन्त्रालयका सचिव मदन भुजेलले बताए ।

उनका अनुसार २ सय २७ जना द्वन्द्वपीडितलाई औषधोपचार खर्च, १७ जनालाई सीप विकास र ५७ जनालाई स्वरोजगारका निम्ति १ करोड ५१ हजार रुपैयाँ मन्त्रालयबाट निकासा भएको छ । द्वन्द्वपीडितका लागि सबैभन्दा बढी रकम नुवाकोटको बेलकोटगढी गाउँपालिकामा पुगेको छ । त्यहाँका ५७ जनालाई १७ लाख ३० हजार रुपैयाँ प्रदान गरिएको हो । प्रदेश सरकारले द्वन्द्वपीडितका लागि विगत वर्षदेखि नै बजेट विनियोजन गर्दै आएको थियो । तर स्थानीय तहहरूले द्वन्द्वपीडितको सहयोगका निम्ति नामसहित सिफारिस नगरिँदा विनियोजित रकम फ्रिज हुँदै आएको छ ।

द्वन्द्वपीडितहरूका लागि चालु आवमा साढे २ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । तर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि झन्डै एक करोड रुपैयाँ फ्रिज हुने देखिएको छ । स्थानीय तहको बेवास्ताले रकम फिर्ता हुने गरेको मन्त्रालयका एक अधिकृतले बताए । ‘कैयौं पालिकाले उक्त कार्यक्रमप्रति ध्यान नै दिएनन्,’ उनले भने ।


प्रकाशित : असार २७, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?