कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बाढीपहिरोपीडित एक महिनादेखि जंगलमा

सुरक्षित स्थानमा सार्न सरकारले चासो नदिएको पीडितको गुनासो
केदार शिवाकोटी

दोलखा — बाढीपहिरोले घरमा क्षति गरेपछि भागेर ज्यान जोगाएकी ६ महिनाकी सुत्केरी रूपी थामी प्लास्टिकले बारेको टहरामा रात कटाइरहेकी छन् । पछिल्लो एक महिनादेखि ६ सन्तानलाई कसरी जोगाउने भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ ।

बाढीपहिरोपीडित एक महिनादेखि जंगलमा

‘घट्टे खोलाको बाढीले घरमा क्षति गर्‍यो,’ थामीले भनिन्, ‘खोलाले आसपासको क्षेत्र कटान गरेको छ । माथि र तल दुवैतर्फ पहिराले गाउँ घेरेको छ । गाउँमा त्रास छ ।’

असारयताकै बाढीपहिरोका कारण कालिञ्चोक गाउँपालिका–५ लापिलाङका सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । जसमध्ये २२ परिवारको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो । अन्य ८० परिवारले पहिराले गाउँ घेरिएपछि घर छाडेका छन् । विस्थापित स्थानीय जंगल, विद्यालय र सामुदायिक भवनमा रात काटिरहेका छन् ।

पहिराले विस्थापित धनमान थामी परिवार लिएर जंगलमा टहरा बनाएर बसिरहेका छन् । ‘गाउँमा बाढीपहिरो पस्यो, परिवारका सबै जना माथिको जंगलमा बसिरहेका छौं । बालबच्चा, बूढापाका र सुत्केरीलाई सकस छ,’ उनले भने, ‘यत्रो समयदेखि जंगलमा बास हुँदा पनि कसैले हेरेको छैन । बाढीले घर बगायो कि भनेर सबेरै हेर्न तल गाउँ झर्छु ।’

घट्टे खोलाको बाढीसहितको लेदो लापिलाङका धेरै घरमा पसेको थियो । सयौं रोपनी खेत बगाएको छ । खोलाले गहिरो कटान गर्दा बस्ती नै पहिरोको उच्च जोखिममा परेको छ । स्थानीय दिनभर गाउँमा बस्ने गरे पनि रात परेपछि जंगलतर्फ जाने गरेका छन् । लापिलाङभन्दा माथिल्लो क्षेत्रमा दुइटा भीषण पहिरो झरेको कालिञ्चोक–५ का वडाध्यक्ष सुवास थामीले बताए । उक्त पहिरोको

लेदो घट्टे खोलाको बाढीसँगै बस्तीमा पसेको उनले जनाए । ‘घट्टे खोलाको बाढीले कटान गर्दार् गाउँ नै सक्न लागिसक्यो,’ उनले भने । उनका अनुसार खोलाले गाउँ ओहोरदोहोर गर्ने फड्के र साना पुलसमेत बगाएको छ । अहिले स्थानीय जोखिम मोलेरै बाढी र पहिरो गएको स्थानबाटै आउजाउ गरिरहेका छन् ।

असार पहिलो साता घट्टे खोलाको बाढी गाउँ पसेपछि मध्यरातमा भागेर ज्यान जोगाएको ८० वर्षीया धनकुमारी थामीले सुनाइन् । ‘अहिलेसम्म यस्तो विपत्ति देखेको थिइनँ, बाँच्नका लागि भाग्नै पर्‍यो,’ जंगलमा गोठ बनाएर बसिरहेकी धनकुमारीले भनिन्, ‘अहिले गाउँसम्म आउजाउ गर्न साह्रै गाह्रो छ । फड्केसमेत छैन ।’

गत वर्ष पहिरोले ९ घर बगाएको यो ठाउँमा यसपालि सयभन्दा बढी घर पहिरो र बाढीको चपेटामा परेको गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए । सबै स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए । संघीय र प्रदेश सरकारले कुनै सुनुवाइ नगर्दा विस्थापित हुनेको संख्या बढ्दै गएको उनको भनाइ छ । ‘गत वर्ष बाढी र पहिरोको चपेटामा परेपछि गाउँ नै सुरक्षित स्थानमा सार्ने भनेर अनुगमनमा संघीय र प्रदेशमन्त्री आए,’ उनले भने, ‘कतैबाट कार्यान्वयन भएन, अवस्था जटिल बन्दै गयो ।’

बस्ती स्थानान्तरण गर्न स्थानीय सरकारको बलबुताले नभ्याउने उनले बताए । हाल अधिकांश विस्थापित परिवार जंगलमा गोठ बनाएर सरिरहेका छन् । कतिपय परिवार भने पहिरोमै रात काट्ने गरेका छन् । प्लास्टिकले बारेको टहरामा पानी चुहिएर चिसो लाग्दा बालबालिकाहरू बिरामी परिरहेको उत्तमकुमारी थामीले बताइन् । विस्थापित भएकाहरूलाई शौचालय र खानेपानीको समेत सुविधा छैन ।

बाढीपहिरो गएको क्षेत्रमा स्थलगत अध्ययनका लागि टोली परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी वासुदेव पाठकले बताए । ‘सबैको लगत संकलन गरेर उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी थालिएको छ,’ उनले भने ।

प्रकाशित : असार २६, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?