स्थानीय तहले अझै बजेट ल्याएनन्

चालु आवका योजनाहरुको भुक्तानी भइरहेको र स्रोतको अनुमान गर्न नसकिएको कारण देखाउँदै बजेट ल्याउन आलटाल
नगेन्द्र अधिकारी

काभ्रे — असार अन्तिम साता लागिसक्दा पनि जिल्लाका केही स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार असार १० भित्रै राजस्व र आय–व्यय (बजेट) को अनुमान पेस गर्नुपर्ने भए पनि हालसम्म नीति तथा कार्यक्रम मात्रै पेस गरेका छन् ।

स्थानीय तहले अझै बजेट ल्याएनन्

चालु आर्थिक वर्षका योजनाहरूको भुक्तानी भइरहेको र स्रोतको अनुमान गर्न नसकिएको कारण देखाउँदै स्थानीय तहहरूले बजेट ल्याउन आलटाल गरिरहेका हुन् । बजेट अंक मात्रै प्रस्तुत गरेका केही स्थानीय तहले योजनागत रूपमा बजेट टुंग्याउन सकेका छैनन् । समयसीमा नगुजार्न केही स्थानीय तहले अंक मात्रै तय गरेर असार १० मा आगामी आवको बजेट सार्वजनिक गरेका थिए ।

नीति तथा कार्यक्रम मात्रै पेस गरेको चौरीदेउराली गाउँपालिकाले बजेट अंकसमेत पेस गरेको छैन । प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले बजेट पेस नभइसकेको भन्दै कार्यपालिका छलफलको क्रममा रहेको बताए । ‘चालु आवको खर्च यकिन भइसकेको छैन, कति पैसा बाँकी हुने थाहा भएपछि मात्रै बजेट टुंगो लाग्छ,’ कार्यपालिका सदस्यसमेत रहेका वडा–४ का अध्यक्ष सुरेश लामाले भने, ‘वडालाई ४० लाख बजेट मात्रै छुट्याउने कुरामा पनि हाम्रो सहमति छैन ।’

भुम्लु गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै पेस गरे पनि बजेट यकिन गरेको छैन । गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ छलफलको क्रममा रहेको बताउँछिन् । ‘५२ करोड अनुमान गरे पनि चालु आवको खर्च यकिन भइनसकेकोले अन्तिम रूप दिएका छैनौं,’ उनले भनिन्, ‘आज (शुक्रबार) छलफल गरी अन्तिम रूप दिएर पारित गर्छौं ।’

स्थानीय सरकार सञ्चालन ऐनमा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आवको बजेटको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख छ । तोकिएको अवधिभित्र पेस नभए संघीय सरकारले अनुदान रोक्का गर्न सक्ने प्रावधान छ ।

बजेट अंक मात्रै प्रस्तुत गरेका स्थानीय तहले योजनाहरू भने बाँडफाँट हुने बाँकी रहेको बताए । मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले असार १० मा बजेट पारित भए पनि योजनागत रूपमा विनियोजन भने नगरेको बताए । बेथानचोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले वडागत रूपमा योजनाहरू नआएका कारण ढिला भएको स्वीकार्दै यही महिनाभित्र पारित गर्ने बताए । खानीखोला गाउँपालिकामा पनि बजेट अंक प्रस्तुत भएको तर पारित हुन बाँकी छ । नमोबुद्ध नगरपालिकाले असार २८ का लागि नगरसभा बोलाएको छ ।

जिल्लाका धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र महाभारत गाउँपालिकाले आगामी आवका लागि बजेट पारित भइसकेको जनाएका छन् । तेमाल गाउँपालिकाको नवौं सभामा नीति तथा कार्यक्रम पारित भए पनि एमाले र माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँसभा सदस्य उपस्थित नभएपछि जेठ १३ र १५ का लागि अर्को बैठक बेलाइएको थियो । दुई पटक अनुपस्थित भएपछि तेस्रो पटकको बैठकमा २५ प्रतिशत उपस्थितिका आधारमा बजेट पारित गरिएको थियो । ४८ सदस्य रहेको गाउँसभामा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसका २० जना मात्रै सदस्य छन् ।

प्रकाशित : असार २६, २०७८ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?