२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुजिता मृत्यु प्रकरण : भिसेरा रिपोर्ट कुर्दै प्रहरी

रमेशकुमार पौडेल

चितवन — सुजिता भण्डारी मृत्यु प्रकरणबारे चितवन प्रहरीले बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो ।

उनी असार ११ गते घरबाट हराएकी थिइन् । त्यसको ९ दिनपछि आइतबार साँझ उनको शव नजिकैको जंगलमा भेटिएको थियो । शव भेटिएलगत्तै आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।

चितवनको राप्ती–३ पिप्ले प्रगति टोलकी २३ वर्षीया सुजिताको खोजतलास गर्न प्रहरीले ढिला गरेका कारण उनको मृत्यु भएको आफन्तको आरोप छ । यही कारण देखाउँदै स्थानीयले प्रदर्शन तीव्र बनाउँदै लगेपछि मंगलबार साँझदेखि बिहीबार साँझसम्म पिप्लेको राजमार्ग क्षेत्रमा कर्फ्यु नै लगाउनुपरेको थियो । सुजिताको शवको मंगलबार काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भइसकेको छ । ‘भिसेरा परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । यो परीक्षणपछि नै पूर्ण पोस्टमार्टम रिपोर्ट हामी प्राप्त गर्छौं । त्योसमेत राखेर अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्नेछौं,’ चितवन प्रहरीका एसपी ओम अधिकारीले भने ।

शवको पोस्टमार्टम गरेका त्रिवि शिक्षण अस्पतालका डा. गोपाल चौधरीले मृतकको शरीरमा प्राणघातक घाउचोट नभएको बताए । त्यसैले भिसेरा परीक्षण आवश्यक भएको हो । ‘शरीरमा कुटपिटको चिह्न र प्राणघातक घाउ चोट देखिएन,’ डा. चौधरीले कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा भने । उनका अनुसार टाउको, छाती, पेट कतै पनि त्यस्तो चोट लागेको छैन ।

पासो लगाएर झुन्डिएको संकेत पनि भेटिएको छैन । यौनांग र पाठेघर पनि जाँच भएको थियो । बलात्कारको सम्भावना नरहेको उनले बताए । ‘देब्रे हात र दुवै खुट्टामा केही कोतरेको जस्तो देखियो तर त्यसले छाला पार गरेको पाइएन,’ उनले भने, ‘बाह्य परीक्षण र अवलोकनपछि हामीले मृत्युको कारण पेन्डिङ भनेर उल्लेख गरेका छौं ।’

प्रकाशित : असार २५, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?